अविरल वर्षाले बितण्डा

सातको मृत्यु, आज कहाँ छ बाढीको जोखिम ? आयो तीनदिनसम्मको पूर्वानुमान, २६ जिल्लाका पहिरो र ढुबानबाट प्रभावित हुने सम्भावना


  • हाम्रो कोशी आवाज.com
  • २०७८ असार २

धरानः सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिए ।
मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुरयाएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्चीमा पानीको बहाव नघटेको उनले बताए । त्यो बहाव वस्तीतिर पस्यो भने थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाइएको उनले बताए ।
बाढीपहिरोका दृष्टिले पछिल्ला वर्षहरुमा सिन्धुपाल्चोक सबैभन्दा जोखिमपूर्ण जिल्लामध्येमा पर्छ । २०७२ वैशाख १२ गते गएको भूकम्पले झन् यो जिल्लाको भूवनोटलाई कमजोर बनाएको छ । गत वर्षमात्र सिन्धुपाल्चोकमा १८ वटा पहिरोका घटनामा ७१ जनाको मृत्यु, ३८ जना बेपत्ता र २३ जना घाइते भएका थिए ।
नवलपरासीमा ४० घर डुबे
अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा व्यापक जनधनको क्षति गरेको छ । बाढी पहिरोले विशेष गरेर बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा बढी क्षति पुरयाएको छ ।

अविरल वर्षाको कारण हिमाली र पहाडी जिल्लामा कटान र पहिरोको समस्या सिर्जना भएको छ भने तराईका जिल्लामा डुबानको समस्या देखिएको छ । अविरल वर्षापछि पश्चिम राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान राप्ती नदीमा आएको बाढीले खतराको तह पार गरेको हो । महाशाखाले बाँकेसहित नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्यसैगरी नारायणी नदीमा पनि पानीको बहाव बढेको छ । अहिले गण्डकी र लुम्बिनीका धेरैजसो ठाउँमा पानी परिरहेकाले बाढी पहिरोको जोखिम उच्च बनेको महाशाखाले जनाएको छ । बाग्लुङ, म्याग्दी, स्याङ्जा, चितवन र गुल्मीका तटीय क्षेत्रमा बस्ने नागरिकलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यसैगरी बाढीले पूर्वी नवलपरासीको गैडाकोट क्षेत्रका ४० घर डुबानमा परेका छन्। नारायणी नदीको बाढीले स्थानीय बोटे गाउँ डुबानमा परेको हो ।
गैंडाकोट नगरपालिका–२ मा तीन दर्जन भन्दा धेरै घर डुबानमा परेपछि स्थानीयलाई नजिकैको अक्सफोर्ड कलेजको भवनमा सारिएको इलाका प्रहरी कार्यालय गैंडाकोटकी प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डेले जानकारी दिइन् । बाढीले कावासोती नगरपालिका–१७ अमलटारीका ५ वटा होटेल पनि डुबेका छन्। बाढीमा फसेकालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।

आयो सूचना
लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी आइरहेको छ ।
मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा बाढी तथा पहिरोले ठूलो मात्रामा जनधन क्षति गरिरहेको छ ।
यसैकारण मौसमविद्ले बाढी, पहिरो तथा डुबानको जोखिम क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न तथा सतर्कता अपनाउन अपिल गरिरेहका छन् । यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज कहाँ कहाँ बाढी आउँछ भनेर अनुमानसहितको सूचना जारी गरेको छ ।
महाशाखाका अनुसार आज कालिगण्डकी, भेरी, पश्चिम राप्ती, तिनाउ, बबईलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मध्यपहाडी, तराई र चुरेको भूभाग भई बहने साना नदीमा बाढी आउने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान ७ बजे जारी गरेको ३ दिनसम्मको अनुमानित बाढी विवरणः

२६ जिल्लाका पहिरो र ढुबानबाट प्रभावित हुने सम्भावना, कुन कुन जिल्ला परे

मनसुनजन्य विपदबाट देशभरमा १८ लाख मानिस प्रभावित हुने अनुमान छ । जल तथा मौसम विज्ञान विभागले विगतका वर्षहरूमा भन्दा यस वर्ष सरदरमा गत वर्षभन्दा धेरै वर्षा हुने जनाएको छ । गत वर्षको तथ्यांक हेर्दा विपदबाट देशभरमा ५ सय ७३ जनाको ज्यान गएकोमा मनसुनजन्य विपद्बाट मात्रै ४ सय बढीको ज्यान गएको थियो ।
यस वर्ष मनसुन अवधिमा गत वर्षभन्दा जोखिम बढी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो । यस वर्ष पहाडी तथा हिमाली क्षेत्रसहित देशभर गत वर्षभन्दा बढी पानी पर्ने सम्भावना छ ।
यस वर्ष भने बाढी तथा पहिरो दुवैको पूर्वानुमान गर्न सकिनेगरी प्रणालीको विकास गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष मनसुनजन्य विपद्का घटनाबाट १८ लाख बढी मानिस प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिए ।
उनले यस वर्ष २३ जिल्लाका १६ लाख ८७ हजार मानिस बाढी तथा डुबानबाट र २६ जिल्लाका १ लाख १७ हजार मानिस पहिरोबाट प्रभावित हुने पूर्वानुमान रहेको जानकारी दिएका हुन् ।
दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, डोटी, दैलेख, डोल्पा, हुम्ला, जुम्ला, जाजरकोट, अर्घाखाँची, बागलुङ, भोजपुर, धादिङ, गोर्खा, गुल्मी, इलाम, काभ्रेपलाञ्चोक, कास्की, खोटाङ, लमजुङलगायतका जिल्लामा पहिरोको जोखिम रहेको प्राधिकरणले जनाएको छ । यस्तै, कञ्चनपुर, कैलाली, बाँके, दाङ, रौतहट, सिरहा, सप्तरी, पर्सा, मोरङ, चितवनलगायतका अधिकांश जिल्लामा बाढी तथा डुबानको जोखिम रहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप