धरानः प्रदेश १ सरकारले ३२ अर्ब बढीको अनुमानित बजेट ल्याएको छ । गतवर्षको तुलनामा ८ अर्ब ४३ करोड कम बजेट ल्याइएको हो । गत वर्ष ४० अर्ब ८९ करोडको बजेट ल्याइएको थियो । विशेषतः स्वास्थ्य, कृषि, शिक्षालाई प्राथमिकता दिएको बजेटले स्वास्थ्यमा ३ अर्ब २५ करोड, कृषि क्षेत्रमा २ अर्ब ९० करोड र शिक्षामा १ अर्ब १९ करोड विनियोजन गरिएको छ ।
आव २०७८–०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याइएको हो । मङ्गलबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए ।
बजेटमा चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३ दशमलव ६ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड ३५ लाख अर्थात् ४६ दशमलव ३ प्रतिशत विनियोजन गरेका हुन् ।
मन्त्री आङ्बुहाङद्धारा प्रस्तुत बजेटमा चालु खर्चतर्फ १४ अर्ब १६ करोड १५ लाख, पुँजीगत खर्चतर्फ १५ अर्ब ५ करोड ३५ लाख, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब २२ करोड ४२ लाख र वित्तीय व्यवस्थापन तर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बजेटमा सरकारले स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकता दिएको छ । स्वास्थ्य क्षेत्रतर्फ सरकारले कोभिड विरुद्धको खोपको व्यवस्थापन, जनस्वास्थ्य केन्द्र स्थापना, अक्सिजन प्लान्ट तथा सघन उपचार कक्ष निर्माण, जिल्ला अस्पतालको स्तरोन्नति, गरिब तथा विपन्न वर्ग लक्षित उपचार कोषको स्थापना, दुर चिकित्सा परामर्श केन्द्रको स्थापना, स्वास्थ्यकर्मीहरुको मनोबल वृद्धि गर्न अतिरिक्त पारितोषिकको व्यवस्था, गम्भीर प्रकृतिका बिरामीहरुका लागि उपचार खर्चको व्यवस्था तथा औषधी र अक्सिजनलगायतका स्वास्थ्य सामाग्रीहरुको सहज आपूर्ति लगायतका कार्यक्रम अघि सारेको छ । समग्र स्वास्थ्य क्षेत्रका लागि प्रदेश सरकारले ३ अर्ब २५ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
यस्तै, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्ब ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट १ अर्ब १६ करोड ४८ लाख र विशेष अनुदानबाट ५९ करोड ३३ लाख गरी राजश्व तथा वित्तीय हस्तान्तरणबाट कूल ३० अर्ब २० करोड ७९ लाख खर्च व्यहोरिनेछ । बाँकी अपुग रकम चालू आर्थिक वर्षको रहन गएको नगद मौज्दातबाट २ अर्ब र वैदेशिक अनुदानबाट २६ करोड १३ लाख व्यहोरिने उनले बताए ।