Hamro Koshi Aawaj

मंगलबार, चैत्र ६ २०८०

हाम्रो कोशी आवाज / कोशी आवाज

Advertisment

SKIP THIS

धरानमा बनेन सुविधासम्पन्न ‘सपिङ कम्प्लेक्स’

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०७८, आइतबार
धरानमा बनेन सुविधासम्पन्न ‘सपिङ कम्प्लेक्स’

धरानः धरान उपमहानगरपालिकाको मुटु धरान–२ स्थित भानुचौकमा महत्वकाङ्क्षी योजनाअनुरुप सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने गुरु योजना थियो तर त्यो अहिले ‘फेल’ खाएको छ ।
सो ठाउँ अहिले दैनिकजसो साना सवारी (टयाक्सी, कार, भ्यान, माइक्रो) लगायतको बिसौनीस्थल बनेको छ । सो ठाउँमा दैनिक मानिसको आउजाउ हुने साथै पर्यटकले पनि परैबाट हेर्दा सर्लक्कै देख्छन् – धूलो उड्दै गरेको, जताततै फोहोर फालिएको आदि इत्यादि । चुनावताका भाषण गर्ने थलो बन्ने गरेको र अन्य समय मनोरञ्जलस्थल (कन्सर्ट, नाचगान आदि) समेत बनेको सो ठाउँमा धूलो उड्दा सबैले हैरानी व्यहोर्नु पर्दथ्यो ।
सहरको सौन्दर्य नै हराउँदै बुङबुङ्ती धूलो उड्ने अवस्थामा पुगेको सो ठाउँमा अब भने टायल बिछ्याएर सफासुग्घर बनाइने भएको छ । यसअघि सो ठाउँको पश्चिम, उत्तर (सञ्जीमण्डी जाने बाटोमा) मा बिछ्याइएको टायलजस्तै सो ठाउँमा पनि टायल बिछ्याउन लागिएको हो ।
धरान उपमहानगरपालिकाले १८ लाख रुपैयाँ दिएपछि सो कार्य अघि बढको उपभोक्ता समितिका सचिव सन्दीप श्रेष्ठले जानकारी दिए । ‘उपभोक्ता समितिबाट दुई लाख र उपमहानगरपालिकाको १८ लाख रुपैयाँ गरेर जम्मा २० लाख रुपैयाँको लागतमा टायल लगाइनेछ ।’ उनले भने । उनका अनुसार टायल १० औं वर्षसम्म पनि जस्ताको त्यस्तै रहने हुनाले बाटो विस्तार हुँदा वा अन्य प्रयोजनका लागि सो जमीन प्रयोगमा आए पनि निकाल्न काम दिने बताए ।
तत्काल बसपार्क नबनुञ्जेलसम्मका लागि त्यहाँ रोकिँदै आएका साना सवारी साधन यथावत रहने उनले जानकारी दिए । ‘बसपार्क व्यवस्थापन हुन सकेको छैन, व्यवस्थापन भइसकेपछि ती सवारी साधन त्यहाँ पुग्छन्’, उनले भने, ‘अहिलेलाई पनि भने यही यथावत रहनेछन् ।’ यसअघि त्यहाँ साना सवारी मात्रै होइन ठूला सवारी साधन पनि बिछ्याइने गरिन्थ्यो तर त्यहाँ जामलगायतको समस्या बढ्न थालेपछि स्थानीयले विरोध गरेका थिए र अहिले त्यहाँ ठूला सवारी साधन रोकिँदैनन् ।
सो स्थानमा सपिङ कम्प्लेक्स नबन्ने प्रायः निश्चित छ । सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने गुरुयोजना धरान उपमहानगरपालिकाले निर्णय उल्टाइदिएपछि सो अनिश्चित बनेको हो । यसअघि सपिङ कम्पलेक्स बन्छ भनेर व्यवसायीले सब्जीमण्डी र फेन्सी स्टोरका टहरा भत्काएका थिए । सो स्थानबाट सब्जी बजार सारेर धरान–९ पूर्णपथमा पालिका तरकारी बजार नामाकरण गरी सारिएको थियो । तर दुई वर्षपनि नभई व्यवसायीको असुरक्षा बढ्दै गएपछि धरान–३ चिनियाँचौकमा सब्जीबजार सारिएको थियो ।
तत्कालीन मेयर मनोजकुमार मेन्याङ्वोले भानुचोकको तरकारी बजारलाई हटाएर सपिङ कम्प्लेक्स बनाउने योजना अगाडि सारेका थिए । २०५६ सालअगाडि सब्जीमण्डी र फेन्सीसपको टहराबाट उपमहानगरपालिकालाई वार्षिक ३ करोड रुपैयाँ आम्दानी हुने गरेको रेकर्डमा उल्लेख छ । सो स्थान पार्किङस्थलमा परिणत हुन थालेपछि आम्दानी गुम्दै गएको छ । ६ कट्ठाको सो जमीन अहिले प्रयोगविहीनजस्तै छ ।
कतिपयले नितान्त व्यक्तिगत र राजनीतिक स्वार्थका कारण सपिङ कम्प्लेक्स बन्न नसकेको आरोप लगाउँदै आएका छन् । अहिले सो स्थान कोशी राजमार्गमा चल्ने लामो तथा छोटो दूरीका सवारी साधनको स्टेण्ड बनेको छ । धरानको मुटु भानुचौकको घण्टाघरले शहरको सौन्दरयता बढाएपनि घण्टाघर अगाडिको सवारी स्टेण्डले कुरुप बनाउँदै लगेको स्थानीयबासी बताउँछन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: जेष्ठ ३० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2024 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend