धरानः अहिले पब्लिकले सरकारी स्कुल पनि के पढ्ने, पढाउने भन्नेहरुका लागि गतिलो झापड बन्दै गएको छ । नमूनामा विद्यालयका रुपमा छनौट भएको यो विद्यालयले विद्यार्थी बढेर गुणस्तरीय शिक्षा दिन थालेपछि भौतिक पूर्वाधारलगायतमा पनि जोड दिन थालेको छ । पब्लिकमा अहिले कक्षा–१२ सम्ममा २२ सय ७ जना विद्यार्थी अध्ययनरत छन् ।
धरान–१२ स्थित पब्लिक हाइस्कुलमा अब राष्ट्रिय गान बजिरहने भएको छ । अब हरेक कक्षामै प्रार्थना पनि गराइने स्कुलको योजना छ । यसअघि समूहमा प्रार्थना गराइने गरिन्थ्यो ।
विद्यार्थीलाई राष्ट्र र राष्ट्रियताप्रतिको भावना जागृत गराउन यस्तो कार्य गर्न लागिएको हो । तर जतिखेर पनि गीत बजिरहने भने होइन, खाली समय, ‘टिफिन टाइम’ पारेर यस्तो गीत बज्ने प्रिन्सिपल इन्द्रमोहन झाले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीलाई राष्ट्र र राष्ट्रियप्रतिको भावना जगाउन यस्तो गर्न लागिएको हो । देशले रगत मागे, यो मन त मेरो नेपाली हो, नेपाली हामी रहुँला कहाँ, लाग्दछ मलाई रमाइलो, यो नेपाली शिर उचाली, जाग लम्क चम्क हे नौ जवान हो, गाउँछ गीत नेपाली, फर्की आउ शान्ति तिमी, यो नेपाली ठिटो, सयथरी बाजा, फूलको आँखामा, कुन मन्दिरमा जान्छौ, मेरो टोपी कैलाशको शिरजस्ता नेपाली स्वदेशगान बजिरहने उनले जानकारी दिए ।
‘हामीले विद्यार्थीलाई देशभक्तिसँग जोड्न खोजेका हौं, यस्ता गीत सुनिरहँदा विद्यार्थीमा केही गर्नुपर्छ, देश हाम्रो हो जस्ता अनेकौं भावना मनमा जागृत हुने र विद्यार्थीले पढ्न पनि मन लगाउने, पठनपाठनमा पनि सहज हुने भन्ने हामीले परिकल्पना गरेका छौं’, उनले भने, ‘अबको नयाँ शैक्षिक सत्रदेखि नै यस्तो व्यवस्था गर्न भनेर लागिपरेका छौं ।’
अब पब्लिक डिजिटल माध्यममा
अहिले निषेधाज्ञाको समयमा पनि धेरै विद्यालयले अनलाइन पठनपाठन गर्न सकिरहेका छैनन् । तर पब्लिकमा अनलाइन कक्षा नियमित चलिरहेको प्लस टु कोअर्डिनेटर वीरेन्द्रबहादुर शाह बताउँछन् । ‘हामी डिजिटल सिष्टममा हिँडिसक्यौं’, उनले भने, ‘अब पब्लिकमा पठनपाठनदेखि अन्य कुरा डिजिटल प्रविधिमै हुन्छ ।’
पब्लिकमा अब हरेक कक्षामा इन्टरनेटको सुविधा दिइने भएको छ । सबै कक्षामा इन्टरनेट जडान गर्न लागिएको उनले जानकारी दिए । ‘हरेक रुममा इन्टरनेटको सुविधा दिइनेछ’, प्रधानाध्यापक झाले भने, ‘यसो गर्दा विद्यार्थीले आफूलाई चाहिने सामग्री खोजेर पत्ता लगाउन सक्छन्, अनलाइनबाटै धेरै कुरा सिक्न सक्छन् ।’
अब पब्लिक हाइस्कुलमा इन्टरयाक्टिभ बोर्डमार्फत् पठनपाठन गराउन लागिएको प्रधानाध्यापक झाले जानकारी दिए । उनले ६५ इन्चको बोर्ड (एउटाको करिब तीन लाखदेखि ४ लाख मूल्य पर्ने) खरिद गरेर ल्याइएको जानकारी दिए । सो बोर्डमार्फत् पठनपाठन गराउन लागिएको जानकारी दिए । ‘नक्साको विषयमा जानकारी दिनुपरयो भने नक्सा खोज्न भौतारिरहनुपर्ने अवस्था पनि छ’, उनले भने, ‘नेटको सुविधा भएपछि सो बोर्डमा नै उनीहरुले नक्साको विषयमा जानकारी पाउन सक्छन्, शिक्षक नक्सा खोज्दै अफिसतिर दगुरिरहनुपरेन ।’
यस्तै, पब्लिकमा हरेक रुपमा प्रोजेक्टर राखिने भएको छ । यस्तै, हरेक कक्षामा साउण्ड सिष्टम पनि जोड्न लागिएको उनले जानकारी दिए । ‘यसअघि नै सिसी टिभी जडान भइसकेको छ, सिसी टिभीद्वारा विद्यार्थीको कक्षाको गतिविधि नियालिन्छ, यदि कसैले अनुशासन उल्लंघन गरे साउण्ड सिष्टममार्फत् अफिसमा बोलाइन्छ र यसले गर्दा विद्यार्थीले नराम्रो गतिविधि गर्न पाउँदैन ।’, उनले भने ।
अहिले पब्लिकमा कक्षा नर्सरीदेखि कक्षा–२ सम्म स्मार्टबोर्डको व्यवस्था गरिएको उनले जानकारी दिए । यस्तै हरेक कक्षाका विद्यार्थीका लागि कक्षैपिच्छे दराजको व्यवस्था गर्न लागिएको छ । विद्यार्थीले गर्ने क्रियाकलाप सोही दराजमा राखिने उनले जानकारी दिए । यस्तै, कम्फरटेबल रुम, कक्षाकोठाका अहिलेका झयाल विस्थापित गरेर आल्मुनियमको झयाल राखिने भएको छ ।
यस्तै, कक्षा–४ देखि नै कम्प्युटर शिक्षा दिइने भएको छ । यसअघि कक्षा–६ देखि मात्रै कम्प्युटर शिक्षा दिइन्थ्यो ।
‘कोटा छ, कोठा छैन’ भन्ने समस्या हल हुँदै
सरकारी स्कुलमै विद्यार्थीको लर्को लाग्न थालेपछि पब्लिकमा ‘कोटा छ, कोठा छैन’ कै अवस्थामा छ । कोठा अभाव भएपछि अहिले भवन निर्माणको काम धमाधम भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार अहिले निषेधाज्ञामै पनि काम भइरहेको र तत्कालै भवन बनाउन लागिएको हो । सो भवन बनेपछि विद्यालयमा कोठा अभाव केही हदसम्म समाधान हुने उनले जानकारी दिए । यो भवन चार तलेसम्म बनाउन सकिन्छ । ‘अहिले एकतले मात्रै बन्छ तर चार तलाको भवनको स्टामेट हो ।’ उनले भने ।
नाम चलेका र गुणस्तरीय शिक्षा दिने बोर्डिङ स्कुलले मात्रै सीमित सिटमा भर्ना लिने भनेर सूचना जारी गर्छन् तर यसपटक पब्लिकले सीमित सिटमा विद्यार्थी भर्ना लिने जनाएको छ । ‘अभिभावकहरु आइरहनुभएको छ, भवन बनिसकेपछि केही सहज हुन्छ भनेर सीमित सिटमा भर्ना लिन खोजेका हौं’, उनले भने, ‘२०७८ साल असार १ गतेदेखि सीमित सिटका लागि भर्ना लिन्छौं ।’ कक्षा नर्सरीदेखि कक्षा–९ सम्म अंग्रेजी माध्यम तथा कक्षा–७ देखि ९ सम्म नेपाली माध्यममा नयाँ भर्ना खुलेको उनले जानकारी गराए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज