Hamro Koshi Aawaj

मंगलबार, चैत्र ६ २०८०

हाम्रो कोशी आवाज / कोशी आवाज

Advertisment

SKIP THIS

अब फुट्दैन कोशीको ‘खुवालुङ ढुङ्गो’ !

हाम्रो कोशी आवाज
जेष्ठ २७ २०७८, बिहिबार
अब फुट्दैन कोशीको ‘खुवालुङ ढुङ्गो’ !

धरानः आव २०७८-०७९ को बजेटमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोशीमा अवरोध हटाएर जल यातायात सञ्चालन गर्ने बताएपनि प्रदेश १ सरकारले कोशीको खुवालुङ ढुङ्गो जोगाउँदै धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरेको जनाएको छ ।
त्यसको लागि बजेटसमेत विनियोजन गरिएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत गरिएको प्रदेश–१ सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत खुवालुङ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने घोषणा गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोसी जलाधार तथा जल पर्यटन सम्भाव्यता अध्ययन गरिने र खुवालुङको संरक्षण गर्दै ऐतिहासिक तथा धार्मिक क्षेत्र बनाइने घोषणा गरेका छन् ।
किरातको धार्मिक तथा सांस्कतिक महत्वको विषयवस्तुको खोज, अनुसन्धान गर्ने पनि सरकारको कार्यक्रममा समेटिएको छ । अरुण सभ्यताको खोजी गर्ने र किरात संस्कृतिको प्रवद्र्धन गर्नेसमेत नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश नम्बर १ को सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १७ मा भनिएको छ–‘किराती संस्कृति, सभ्यता र मुन्धुमसंग जोडिएको सप्तकोशी नदीमा अवस्थित खुवालुङ्ग ढुंगाको संरक्षण गर्दै जलयातायात सँगै त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवम् साँस्कृतिक पर्यटकीय केन्द्रको रुपमा संरक्षण र विकास गरिनेछ । साथै अरुण तमोर सभ्यताको अध्ययन तथा संरक्षण गर्दै ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ । भनिएको छ । यस्तै, नीति तथा कार्यक्रममा कोशी जलाधार क्षेत्र तथा प्रदेशको ठूला सिँचाइ प्रणालीहरुमा पर्यापर्यटन तथा जल पर्यटनको सम्भाव्यता अध्ययन गरिनेछ। नीति तथा कार्यक्रममा कोशी जलाधार क्षेत्रका ठूला नदीबाट ट्रङ्क-लाइनद्वारा पिउने पानीको दिगो आपूर्तिको वैकल्पिक व्यवस्था गर्न र निर्यात समेतका लागि सम्भाव्यता अध्ययन गरिनेछ समेत भनिएको छ ।
बजेटमार्फत् ‘खुलालुङ ढुङ्गो’ फुटाउन लागेको भन्दै आदिवासी जनजाति महासंघलगायतले चर्को विरोध गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको २०७८–७९ को बजेट वक्तव्यक्तमा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांश राखिएको छ । बजेटले खुवालुङ फुटाउने घोषणा गरेको अभियन्ताहरुले बताउँदै आएका थिए ।
उदयपुर, धनकुटा, भोजपुर र सुनसरीको संगमस्थल त्रिवेणीमा अवस्थित आदिवासी किरातीहरुको आस्था एवं मुन्धुमी शक्ति केन्द्र, ऐतिहासिक सांस्कृतिक धरोहर खुवालुङलाई नष्ट गर्न नहुने अभियन्ताहरुको भनाइ थियो ।
रकारले गत शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ को ‘खुवालुङ ढुङ्गो’ फुटाउने घोषणा गरेसँगै फेरि चर्चामा आएको छ ।
घुमाइफिराइ ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ पारामै किरात संस्कृति जोडिएको ‘खुवालुङ ढुङ्गो’ फुटाउने कुरा गरेको नै देखिएको छ । बजेटमा कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेका अवरोध हटाइने भनिएको छ । ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ’ भन्ने वाक्यांशसहित आर्थिक वर्ष २०७८-७९ को बजेटले खुवालुङ फुटाउने घोषणा गरेको अभियन्ताहरुले बताएका छन् ।
यसैबीच जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै खुवालुङ फुटाउने नहुनेमा जोड दिएको थियो ।
गतचैत्र पहिलो साता मुख्यमन्त्री शेरधन राई आफैं गएर खुवालुङलाई सांस्कृतिक पर्यटनस्थल बनाउने उदघोष गरेका थिए । अभियन्ता तथा स्थानीयको चरणबद्ध आन्दोलनपछि गत चैत्रमा सरकार खुवालुङ फुटाउने निर्णयबाट पछि हटेको थियो ।
२०७७ फागुन ७ गते विराटनगरमा आयोजना भएको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सप्तकोशी नदीमा जेटबोट चलाउनेबारे लामो भाषण गरेका थिए । भाषणमा ओलीले जेटबोट चलाउन तगारो बन्न सक्ने सप्तकोशी माझको एउटा ढुंगो क्रेन लगाएर फुटाउने बताएका थिए ।
प्रधानमन्त्रीले भनेको सो ढुङ्गाको सांस्कृतिक नाम नै ‘खुवालुङ’ हो । यो ढुङ्गा अरुण, दुधकोशी र तमोर मिसिएको नदीको बीच भागमा गाडिएर बसेको छ । खुवालुङ कोशी चतरा पुलबाट पाँच किलोमिटर तथा चर्चित धार्मिकस्थल वराह क्षेत्रबाट एक किलोमिटर माथि पर्छ । करिब २० फिट चौडाइमा रहेको यो ढुंगामा ठूलो आकारको जेटबोट चलाउँदा ठोक्किने समस्या रहने भएकाले प्रधानमन्त्रीले नै यसलाई फुटाउने बताएका हुन् ।
तर किरात समुदायको सांस्कृतिकस्थल रहेकाले अभियन्ताहरुले जेटबोट चलाउन वैकल्पिक उपाय खोज्न दबाब दिँदै आएका छन् ।

प्रकाशित मिति: जेष्ठ २७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2024 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend