सबै वडामा मोटर सरर…

चतरा-चीन जोडिन तीन किलोमिटर मात्र


  • दिलकुमार लिम्बू
  • २०७८ जेठ २७

ताप्लेजुङः सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् । गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडामा सडक सञ्जालले जोडिएको जनाइएको छ ।
६० वडामा अगाडि नै सडक पुगेको थियो । जिल्लाको सबै वडाका सडक पुगेको सिरिजङ्घा-६ का वडाअध्यक्ष पूर्णसिंह लिम्बूले जानकारी दिए । जिल्लामा नौ स्थानीय तहमा ६१ वडा रहेको छ ।
क्षेत्रफलको हिसाबले जिल्लाकै ठूलो फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला चीनसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । ओलाङचुङगोलादेखि २४ किलोमिटर तलसम्म चीनतर्फबाट सडक खन्ने काम भएको छ । यसैगरी सुनसरीको चतरादेखि तमोर कोरिडोर सडक चीनसँग जोडिन तीन किलोमिटर मात्र बाँकी रहेको छ । राष्ट्रिय गौरवको सो सडक आयोजना कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए ।


मिक्वाखोला गाउँपालिका–५ पापुङ गाउँमा सदरमुकामदेखि वडाको सीमानामा सडक प्रवेश गरेको मिक्वाखोला–५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए । वडा कार्यालयसम्म पुग्न केही समय लाग्नेभए पनि आफ्नो वडामा सडकले जोडिएको उनले बताए । स्थानीय सरकारले योजना बनाउँदा सडकलाई पहिलो प्राथमिता दिएकाले दुर्गम बस्तीदेखि सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिन पुगेको हो ।
जिल्लाका प्रत्येक वडामा सडक पुगेसँगै स्थानीय समुदायलाई दैनिकीमा सहज भएको छ । जिल्लाको सबै वडामा सडक पुगेसँगै गाउँगाउँमा सार्वजनिक यातायातको लागि टिकेट काउन्टर खोलिएका छन् । दैनिक सदरमुकादेखि विभिन्न गाउँगाउँमा गाडी लाग्ने गरेको छ । कच्ची बाटो भएकाले ठूलो सिटको बस भने जान सकिरहेका छैनन् ।
आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकादेखि धरानसम्म दैनिक बस सेवा सञ्चालन हुन थालेको छ । मेरिङदेन गाउँपालिकाको दोभानदेखि विगतदेखि नै बिर्तामोड, दमक, विराटनगर बस सेवा सञ्चालन भएको छ ।
सिरिजङ्घाको खाम्देम्बे बजारदेखि विगतदेखि नै बिर्तामोड, दमक विराटनगर बस सेवा सञ्चालनमा छ । गाउँगाउँमा सडक सञ्जालले जोडिएसँगै गाउँदेखि सदरमुकाम जोडिएका छन् । गाउँगाउँ सडक सञ्जालले जोडिएसँगै आवश्यक खाद्यान्न सामग्री ढुवानीमा सहज भएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप