विकासका कुराः यी त सब भन्ने कुरा न हुन्…


  • युवराज पौडेल
  • २०७८ जेठ २७

नेपाल किन बनेन भन्ने सन्दर्भमा विभिन्न समयमा विभिन्न तरिकाले छलफल विमर्श भइरहेका छन् । नेपाल किन बनेन भन्ने बहस गणतन्त्र स्थापनापछि अझ बढी सतहमै छलफल भएको विषय हो । किन आजसम्म मुलुक अविकास र पछौटेपनमा रह्यो ? किन यत्रो शताब्दीयौं सम्म मुलुकले कोल्टो फेर्न सकेन ? यो मूलतः खोज अनुसन्धानकै विषय हो, तापनि आजसम्म उपलब्ध तथ्यहरुका आधारमा यसका केही कारणहरु निकाल्न सकिन्छ ।
राजनैतिक अस्थिरताः
बहुदलीय प्रजातन्त्रको स्थापनापछि जुन राजनैतिक स्थिरताको आशा गरिएको थियो, त्यो पूरा भएन नै । त्यतिबेलै पनि एउटा सरकारमा जाने बित्तिकै अर्काले अविश्वासको प्रस्ताव ल्याएर सरकार ढलाउने प्रपञ्च र नौटङ्कीका खेलहरु जनताले मन नपरी नपरी पनि हेर्नुपरयो ।
एउटा सरकारले ल्याएको योजना, नीति तथा कार्यक्रम अर्काे सरकार आउने बित्तिकै फेर्ने र आफ्नो पक्षमा बनाउने प्रवृत्तिका कारण विकासमा अस्थिरता देखापरिरह्यो । फोहोरी खेलहरुले संसदीय प्रजातन्त्रप्रति नै जनताको निराशा बढ्यो । विकास निर्माणका कामहरु रोकिए । गणतन्त्र स्थापनापछि पनि राजनैतिक अस्थिरता एक दशकसम्म झनै बढ्यो । सङक्रमणकाल भन्दै दशकौसम्म एक थान संविधानका लागि मुलुकले ऊर्वर समय खेर फाल्यो ।
वर्तमान नेकपाको सरकार नेपालको इतिहासकै वीपी कोइराला सरकारभन्दा पनि बलियो सरकार मानिन्छ । दुई तिहाई बहुमत सहितको यो सरकारले दुई वर्ष बिताइसक्दा पनि जनताका पक्षमा, विकास निर्माणका पक्षमा उल्लेख्य काम गर्न सकेन ।
युद्ध र द्वन्द्वको अवस्था
वि.सं. २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले संसदीय राजनीतिप्रति असहमति जनाउँदै जनयुद्ध सुरु गरयो । सङ्क्रमणकालको बहाना बनाएर नेताहरुले देशलाई प्रयोगशाला बनाए । एक थान संविधान जारी गर्न पनि दशकौ उर्वर समय खेर फाल्नुपर्ने बिडम्बनामा देश पुग्यो । राजनैतिक दलका ससाना स्वार्थ नमिल्दा देशले गणतन्त्रपछि पनि लगातार दुःख पाइरह्यो ।
अधिकारको खोजी, कर्तव्यको बेवास्ता
नेपालमा तत्कालीन माओवादीहरु शान्ति प्रक्रियामा आएपछि अधिकार प्राप्तिको बहस र लडाँइ सशक्त बन्यो । आन्दोलनले दुई सय चालीस वर्ष पुरानो राजतन्त्रलाई ढलाएपछि सबै मानिसमा मागे र लडे जे पनि पाइन्छ भन्ने मानसिकता पैदा हुँदै गयो । सबै अधिकारका लागि सडकमा आउन थाले । कहिले जनजातिका नाममा, कहिले महिलाका नाममा, कहिले आदिवासीका नाममा, कहिले पेशागत सँगठनका नाममा, कहिले मजदुरका नाममा, कहिले खस आर्यका नाममा आन्दोलनै आन्दोलन भए । यो समयलाई आन्दोलनकोे युग भन्दा पनि फरक नपर्ला । राजनैतिक सङ्क्रमणको अवस्थामा मुलुकका कुनाकुनामा नागरिक आन्दोलित हुन थाले ।
विकासलाई विषयान्तर गरेर अन्यत्रै अनावश्यक विषयमा देशलाई लैजाने काम नेताहरुले गरेका कारण यो समय पनि नेपालले अविकास र गरीबीको चरम अवस्थाबाट त्राण पाउने कुनै बाटो समात्न सकेन । राजनैतिक जार्गनहरुको शब्दखेलको माखेसाङ्लोमा जनतालाई भुलाएर विकास र समृद्धिलाई विषयन्तार गर्न छट्टु नेताहरु सफल भए । परिणाममा हेर्दा केही हदसम्म जनताको राजनैतिक चेतनाको स्तर त बढ्यो, तर विकास र समृद्धिको चाहना फेरि पनि आकासकै फल भयो ।
शिक्षा नीति र नागरिकको कमजोर चेतना
शिक्षालाई सीप र श्रमसँग शिक्षा जोडिएन । घोकन्ते पद्धतिका कारण बच्चाहरुको सिर्जनशीलता समाप्त भएकाले नेपालले वैज्ञानिक, आविष्कारक, ठूला अनुसन्धानकर्ता, असल नागरिक जन्माउन पाएन । सीप र श्रमसँग नजोडिएकाले युवाहरु शैक्षिक बेरोजगार भएर अनावश्यक आन्दोलन र अराजक क्रियाकलापमा भाग लिने अवस्था आयो ।
शिक्षाले नैतिक मूल्य सिकाएन । अधिकार खोज्न मात्र सिकायो, कर्तव्य पूरा गर्न सिकाएन । शिक्षा प्राप्त गरेपछि मैले मेरो देश र समाजमा केही योगदान दिनुपर्छ भन्ने भावना र सोच हाम्रो शिक्षाले दिन सकेन । ‘जसरी हुन्छ पैसा कमाऊ’ ‘पैसा कमाएपछि जे गरे पनि हुन्छ’ भन्ने तरिकाको शिक्षा दिइयो । श्रमप्रति सम्मान गर्न सिकाइएन ।
स्कुलबाटै नेविसंघ र अनेरास्ववियुका झण्डा बोक्ने, शिक्षकलाई अभद्र व्यवहार गर्ने, कोठामा थुन्ने, परीक्षामा नपढेको आयो भने प्रश्न च्यात्ने तरिकाको संंस्कार सिकाएपछि परिणाम राम्रो हुने कुरै थिएन । स्कुल कलेजहरु पढ्नेभन्दा राजनीति गर्ने प्लेटफर्म भए । हाम्रो शिक्षा नीतिमा संस्कारलाई भन्दा सूचना वा ज्ञान प्राप्तिलाई जोड दिइयो । मूल्य मान्यतासहितको देशभक्त नागरिक तयार गर्ने कुरालाई कम प्राथमिकता दिइएका कारण आज राज्य लुट्नेहरु यत्रतत्र देखिन्छन् ।
घोकेर जाँच पास गर्ने अनि नम्बर ल्याएपछि जे गरे नि हुन्छ भन्ने खालको मानसिकताका कारण आज अराजकताले सीमा नाघेको छ । जिन्दगीका मूल्य मान्यता र संस्कारसँग सिकाइ प्रक्रिया तथा मूल्याङ्कन प्रक्रिया जोडिनुपथ्र्याे तर त्यसको ठीक विपरित सानैमा एक अर्काप्रति अस्वस्थ प्रतिस्पर्धा गर्न लगाउने, एकले अर्काेप्रति द्वेष राख्ने अवस्था सिर्जना गर्ने तथा दण्डलाई अत्यधिका जोड दिने शिक्षा नीति र पद्धतिका कारण आज जताततै असल, आदर्श र सचेत नागरिकको खडेरी परेको महसुस भइरहेको छ ।
भ्रष्टाचार
नेपाल अविकसित हुनुमा एउटा प्रमुख कारण भ्रष्टाचारको नियन्त्रण गर्न नसक्नु हो । नेपालमा भ्रष्टाचार अत्यधिक रुपमा बढिरहेको विभिन्न तथ्याङ्कहरुले स्पष्ट पारिरहेका छन् तरपनि भ्रष्टाचार रोक्नेतर्फ सरकारी पहल चुस्त भइरहेको छैन । भ्रष्टाचारको जालो सरकार प्रमुखदेखि स्थानीय निकायसम्म फैलिएको तथ्यहरु बाहिरिएकै छन् । राजनीति गर्नेहरु सेवाका लागि नभएर कमाउनका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । एउटा वडाध्यक्ष जित्न ५० औं लाख खर्च गर्नुपर्ने अवस्था सिर्जना गरिएको छ ।
ठेकेदार, व्यापारी, तस्कर र कर्मचारीको सञ्जालमार्फत् भ्रष्टाचारका ठूलाठूला घोटाला भइरहँदा पनि कसैले केही गर्न सकेको छैन । यस्तो भ्रष्टाचारले आक्रान्त भएको मुलुकमा विकास र समृद्धि सम्भव कसरी हुन्छ ? शायद आज देशमा त्यस्तो कुनै क्षेत्र छैन होला, जहाँ भ्रष्टाचार नभएको होस् । अझ संस्थागत भ्रष्टाचारको नेटवर्क माकुराको जालो झैं फैलिएको छ । अख्तियारलाई छल्न क्याबिनेटबाटै नीतिगत भ्रष्टाचार गर्ने प्रवृत्ति समेत देखिएको छ । समाजमा भ्रष्टाचारीहरुकै इज्जत बढी छ । ‘जसरी भए पनि पैसा कमाउनुपर्छ’ भन्ने मान्यताले यसमा काम गरेको छ । इमानदार तरिकाले श्रम गरेर पैसा कमाउनेहरुले आफ्नी श्रीमतीलाई वर्षको एक जोर गुन्यु फेर्न सक्दैनन् ।
संस्कार र सोचमा समस्या
ससाना बाटाघाटा, सरसफाई, वृक्षारोपण, उत्पादनका क्रियाकलाप आदिमा नागरिकले राज्यको मुख ताकेर बस्नु हुँदैन । नागरिक संलंग्न नभएको विकास दिगो पनि हुँदैन किनभने त्यो विकासमा उसले आफ्नो स्वामित्व अनुभूति गर्दैन ।
हामी नेपाली नागरिक विकास पनि भन्ने अनि व्यवहारमा विकास देख्न पनि नसक्ने खालका छौँ । हामीले विदेशीले बनाइदिएका अस्पताल केही वर्षमै कुरुप बनाउँछौ, स्कूल बिर्गाछौँ, बाटा भत्काउँछौं । बाटोमा ट्राफिक सिग्नलका रुपमा राखिएका बत्तीहरु फोर्ने, लाइटहरु ऐनाहरु फुटालिदिने, सार्वजनिक पुस्तकालयबाट किताब चोर्ने जस्ता हाम्रा आनीबानीले हाम्रो कुसंस्कारलाई भलल्काउँछ ।
विकास र समृद्धि राज्य, सरकार वा केही मान्छेले आकाशबाट टिपेर दिने चिज होइन । यो त प्रत्येक नागरिकमा भर पर्ने कुरा हो । आफूलाई चाहिने विकास आफै गर्ने खालको वातावरण बन्नुपर्छ । नागरिकले नसक्ने ठूलाठूला काममा सरकारले जिम्मेवारी लिनुपर्छ । विकास पनि हामीकहाँ देखावटी प्रकृतिको छ । केही समय गरेजस्तो गर्ने, बनावटी गर्ने वा आँखामा छारो हाल्ने खालको छ । दिगो विकासको सोचाइबाट काम नै गरिन्न । बाटो पिच गरेको एक दुई दिनमै भत्किने, पक्की भनिएको पुल केही महिनामै भाँचिने, बनाइएका भवन केही समयमै चर्कने जस्ता कुरा हाम्रा लागि कुनै नौला विषय होइनन् । घरको तलाबाट सडकमा फोहोर फालिदिने, जथाभावी बाटोमा थुकिदिने, प्लाष्टिकजन्य वस्तुहरु जथाभावी फालिदिने जस्ता खराब आनीबानीबाट हामीले आफूलाई बदल्नुपर्छ । ‘सार्वजनिक सम्पत्ति मेरो पनि हो’ भोलिको पुस्ताको लागि पनि यसलाई मैले जोगाउनुपर्छ’ भन्ने भावनाको विकास हुन नसक्नु नै सबैभन्दा दुर्भाग्यपूर्ण छ ।
श्रमको अवमूल्यन
निर्वाहमुखी कृषि झन् दयनीय बन्दै छ । गाउँघरहरु रित्ता हुँदै छन् । कृषिले युवालाई रोजगारमा आकर्षित गर्न नसकेकै कारणले आज असी लाख युवाहरु विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । राज्यले कृषिमा आधुनिकीकरण र व्यावसायीकरणका लागि ठोस पहल गर्न सकिरहेको छैन । कामलाई सानो ठूलो भनेर वर्गीकरण गर्ने प्रवृत्तिका कारण भारतका थुप्रै मानिसहरुले यहाँबाट विभिन्न पेशा व्यवसाय गरेर पैसा बटुलिरहेका छन् तर हामी उनीहरुले गर्ने कामलाई सानो ठान्छाँै । आज नेपालमा सबैभन्दा कमजोर हालत यदि कसैको छ भने त्यो कृषक कै हो । कृषकले आफूले उत्पादन गरेको वस्तुको उचित मूल्य पाउन सकिरहेको छैन । कृषिमा दलाल र बिचौलियाहरुको जबर्जस्त प्रवेश भइरहेको छ ।
चरम राजनैतिक हस्तक्षेप
नेपालमा शिक्षा, स्वास्थ्य, यातायात, सामाजिक सेवाका क्षेत्रहरुमा हुने चरम राजनैतिक हस्तक्षेपका कारण देशले विकास, सुशासन र समृद्धिको सही बाटो पकड्न सकिरहेको छैन । विद्यालय र विश्वविद्यालय ज्ञान विज्ञान उत्पादन गर्ने कारखाना हुन् । विद्यालय र विश्वविद्यालयमा विशुद्ध प्राज्ञिक वातावरण हुनुपर्नेमा सबैभन्दा बढी राजनीति यिनै क्षेत्रमा हुनु आफैमा दुःखद् छ । विद्यालयमा तथा विश्वविद्यालयमा दलका भातृ संगठनहरु खोलिनु नै उपयुक्त छैन ।
विद्यालयहरु सिकाइका असाध्यै संवेदनशील क्षेत्रहरु हुन् । विद्यालयभित्रको वातावरणले एउटा विद्यार्थीको जिन्दगीको रुपरेखा निर्धारण गरिरहेको हुन्छ । त्यस्तो ठाउँमा पनि हामीले राजनीति गर्न छाड्दैनौँ । त्यतिमात्र होइन, अस्पताल जहाँ राजनीतिको कल्पना पनि गरिन्न, त्यहाँ समेत खुरापाती राजनीति भइरहेको हुन्छ । अस्पतालका प्रमुख सरकारी पदहरुमा पनि कांग्रेस, कम्युनिष्ट भन्दै भागबण्डा लगाइन्छ । त्यहाँ पनि ठूलो कमिसनको खेल हुन्छ ।
मेडिकल माफियाहरुसँगको राजनीतिक नेतृत्वको नाजायज साँठगाँठका कारण पनि स्वास्थ्य क्षेत्रमा चरम विकृति फैलिएको छ । प्राइभेट अस्पतालहरुको मनपरीलाई राज्यले नियमन गर्न नसक्दा आम सर्वसाधारण मानिसका लागि उपचार असाध्यै महङगो साबित भएको छ । एउटा गरिबलाई किड्नी, मुटु वा यस्तै खर्चिलो रोग लाग्यो भने रुँदै चन्दा उठाउन सडकमा आउनुपर्ने स्थिति बनिरहेको छ । गरीबका छोराछोरी जति राम्रो क्षमता भए पनि जति योग्य भए पनि तिनलाई डाक्टर बन्ने बाटो थुनिएको छ । आज निजामती, प्रहरी, अदालत, सेना कतै पनि राजनीतिको छायाँ र प्रभाव पर्न बाँकी छै्रन । संवैधानिक निकायहरुमा सरकारी प्रभाव पार्ने कामले अन्ततः लोकतन्त्र नै कमजोर भइरहेको छ । यी लगायत अन्य विविध कारणहरुले नेपाल बन्ने कुरा यी त सब भन्ने कुरा न हुन् भनेजस्तै भएका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप