भोजपुर घटनाको नालीबेली !

दलितका छोरीको जवानी चल्ने तर पानी, प्रेम र बिहे नचल्ने ?


  • तारा लामगादे
  • २०७८ जेठ २६

भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं. १४ बोया बिहीबारेका १८ वर्षका संगम ठटाल (परियार) को शव २०७८ जेठ १४ गते साँझ गाउँकै जंगलमा झुन्डिएको अवस्थामा भेटियो । त्यसअघि जेठ १० गते संगमसँग सोही वडाकी श्रेष्ठ थरकी १५ वर्षकी केटीले प्रेम विवाह गरी गरी आएकी थिइन् । भोलिपल्ट वडा अध्यक्ष झंकबहादुर रोका क्षेत्री, वडा कार्यालयका कर्मचारी विमल पराजुली, बोया चौकीका असई कुमार खत्रीले संगम र केटीसँगै संगमका बुबा गोरखबहादुर ठटाल र आमा सीता ठटाललाई प्रहरी चौकीमा लगेर जातीय गालीगलौज, धाकधम्की, कुटपिट गरी बाल बिजाईको कागज बनाइ उमेर नपुगेको भन्दै केटाकेटीलाई आ–आफ्ना बाबुआमासँग जिम्मा लगाइदिए ।
त्यसपछि घरबाट गाउँमा ‘मोबाइल चार्ज गर्न जान्छु’ भनी जेठ १२ गते निस्किएको संगम घर फर्केनन् । केटी र उनका बाआमाको नाम सार्वजनिक नभएकोले सो थाहा भएन तर केटीले ‘म आफै मन पराएर विवाह गरेकी हुँ, म संगमविना बाँच्न सक्दिनँ’ भन्दा निम्नस्तरको जातीय गाली–बेइज्जति गर्दै जातीय विभेद तथा छुवाछुतजन्य व्यवहार गरेका थिए केटीका बाआमा, वडा अध्यक्ष र प्रहरीले त संगमलाई चौकीभित्रै कुटपिट गरेको पाइएको छ । आफूमाथि गरेको अन्याय, विभेद र अपमानविरुद्ध संघर्ष गर्नुपर्ने संगमले आत्महत्या गर्नु हुँदैन थियो तर उनले आत्महत्या गर्नुअघि ‘सुसाइट नोट’ लेखेका थिए । यद्यपी सो सुसाइट नोट गुपचुप मात्र पारेन भोजपुरका प्रहरी प्रमुख डिएसपी कृष्ण चन्दले संगमले झुन्डिएको आत्महत्या गरेको पुष्टि भइसकेको र उनले विवाह नगरेको बाल बिजाइ गरेकोले सम्झाइबुझाइ छोडिदिएको कुरालाई बढी उचाल्न नहुने प्रतिक्रिया दिइसकेका छन् । यसरी हेर्दा संगमको अन्तरजातीय विवाहलाई अस्वीकार गर्ने केटीका आफन्त कथित उपल्लो जाति, वडा अध्यक्ष, कर्मचारी, र प्रहरीको समेत मिलेमतो भइसकेपछि अब मृत्तक संगमले न्याय पाउने अवस्था देखिँदैन ।
शासकहरुले भरसक घटनालाई गुपचुप राख्न चाहेका थिए । पीडित परिवार घरगाउँमा नै बसे पनि शासकहरुले दिनरात टचर दिन थालेपछि हारगुहार माग्दै सञ्चार माध्यममार्फत् घटना सार्वजनिक भयो । त्यसपछि घटनाको चौतर्फी विरोध हुन थालेको छ । राजनीतिक पार्टी, दलित अघिकारकर्मी, संघ संस्था, नागरिक समाज लगायतबाट घटनाको स्थलगत अध्ययन पश्चात् संगमलाई आत्महत्या गर्न बाध्य बनाएको, घटनाको मुख्य कारण जातीय भेदभाव तथा छुवाछुत नै भएको र त्यस कार्यमा केटीका बाआमा, वडाअध्यक्ष, कर्मचारी र प्रहरी दोषी रहेको निष्कर्ष निकालेको छ ।
घटनाका दोषीहरु नै शासक भएकोले उनीहरुमाथि कानुनी कारही हुने सम्भावना न्यून र क्षीण छ । तापनि झिनो आशा लिएर न्यायको भीख माग्दै मृतकका परिवार जिल्ला सदरमुकाम भोजपुरमा पुगेका छन् । यदि यो मुलुकमा कानुन सबैका लागि बराबर हुने हो भने, दोषीहरुमाथि आत्महत्याको दुरुत्साहन गरेवापत मुलुकी फौजदारी संहिताको दफा १८५ मा आत्महत्याको दुरुत्साहन गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिमाना र जातीय विभेद तथा छुवाछुत (कसुर सजाय) ऐन, २०६८ अनुसार जातीय विभेद गरी अपमान गरेवापत तीन वर्ष कैद र २५ हजार जरिवाना सहित जनही ८ वर्ष कैद र ७५ हजार जरिमाना हुनुपर्छ ।
तर, शासक विरुद्धको उजुरी शासकहरुले लिनेवाला छैनन् । त्यो जानेर पनि आफूमाथि भएको विभेद, अन्याय र अत्याचारको विरोध गर्नैपर्छ । भोजपुर जिल्लामा क्रियाशील वैज्ञानिक समाजवादी पार्टी नेपालका भोजपुर संयोजक भुपाल साम्पाङ, नेपाल दलित संघका केन्द्रीय सदस्य रोहित विश्वकर्मा, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य बविन्द्र रसाइली, मुक्ति समाजका केन्द्रीय सदस्य विमल रणपहेली, दुर्गा रणपहेली, दलित उत्थान ग्रामीण समाजका उपाध्यक्ष भुवनकुमार दर्जी, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, दलित विकास समिति गोगनेका सचिव टीएल विश्वकर्मा र षडानन्द नगरपालिकाका दलित अधिकारकर्मी गोविन्द विक लगायतले विज्ञप्ति जारी गर्दै न्यायको माग गरेका छन् ।
भोजपुर जिल्ला राष्ट्रपति विद्यादेवी भण्डारी जन्मे–हुर्केको जिल्ला हो । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको जिल्ला हो । भोजपुर जिल्ला प्रभावशाली युवा नेता सुदन किराती सांसद रहेको जिल्ला हो । पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पटक–पटकको निर्वाचन क्षेत्र हो । अझ भनौं षडानन्द नगरपालिका निजी क्षेत्रबाट नेपालमा नै पहिलो पाठशाला खोलिएको षडानन्द गुरुको गाउँ हो । बोया १० वर्षे महान जनयुद्धको उर्वरभूमी जहाँबाट पदम राईलाई मन्त्री बनायो, किरण राई जो धरानबाट सांसद बनायो त्यस्ता नेता जन्माउने क्षेत्र हो । अहिलेसम्मको दलितमाथि भएको विभेदका घटना हेर्दा देखिन्छ, दलितका छोरीको जवानी चल्ने तर पानी, प्रेम र विवाह नचल्ने ? यस्तो कहिलेसम्म ?
३ वर्ष अघि अरुण गाउँपालिका चरम्बीमा निशान नेपालीले राई थरकी युवतीलाई विवाह गर्दा गाउँका पुरै दलित वस्तीमाथि सांघातिक हमला भएको थियो । दिन प्रतिदिन भोजपुरमा जातीय विभेदका घटना घटिरहेका छन् । कहीँ विवाह भोजमा छुवाछुतमा परेर दलितले कुटाइखानुपरेको छ, कहीँ कुवा र धारामा पानी छोएको निहुँमा गाउँ निकाला हुनुपरेको छ, कहीँ बिस्कुन छोएको र घरको सिकुवा छोएको निहुँमा मरणासन्न हुनेगरी पिटाइ खानुपरेको छ ।
त्यसैले भोजपुरका प्राय गाउँहरुमा अहिले पनि राणाकालको झल्को गएको छैन । भोजपुरमा जातीय भेदभाव तथा छुवाछुतका घटना दिनहुँ घटिरहेका छन्, मिडियाको पहुँचमा थोरै मात्र घटना सार्वजनिक हुन्छन् तर हजारौं दलितहरु अहिले पनि राज्यले प्रतिबन्ध लगाएको बालिघरे प्रथा मान्न विवश छन् । विद्रोहको चेतना भएकाहरु गाउँ छाडेर शहरमा आफ्नो भविष्य खोजिरहेका छन् । गाउँमा नै बसेकाहरु सामान्य विरोधका आवाज उठाउनुभन्दा अन्य विकल्पमा छैनन् ।
षडानन्द नगरकै अवस्थालाई हेर्ने हो भने पनि १७ जना जनप्रतिनिधि दलित समुदायका छन् । प्रत्येक वडामा जनप्रतिनिधि छन् तर उनीहरुले आफ्नो समुदायलाई संगठित बनाउने भन्दा पनि राज्यले दिएको सेवा–सुविधा प्रयोग गरेर दलितको कोटा पुरा गर्नेभन्दा अरु केही हुन सकेको देखिँदैन । षडानन्द नगरपालिकामा १४ वटा वडा छन् । प्रत्येक वडामा दलितका प्रतिनिधि छन् । वडा सदस्य लक्ष्मी दर्जी संगम ठटालकै वडाकी सदस्य हुन् । सोही वडाबाट ठण्डबहादुर विश्वकर्मा कार्यपालिका सदस्य बनेका छन् । यदि चेतनाको विकास भएको भए आज त्यो षडानन्दबाट नै १७ जनाको संयुक्त हस्ताक्षरमा घटनाको सत्यतथ्य बाहिर आउँथ्यो र त्यसप्रकारका ज्यादतीका विरुद्धमा आगो ओकल्ने थिए । हामी अन्यन्त्र बस्नेहरु त्यस्ता घटना सुन्दा विस्फोट हुन खोज्छौं । विचरा पीडितहरु न्यायको खोजीमा रातदिन भौतारिरहेका छन् । सरकारी दलितहरु चुपचाप छन् । जहाँ आफ्नो वर्गको पक्षमा बोल्न नसक्ने, काम गर्न नसक्ने हो भने कुन नैतिकताका आधारमा पदमा बस्ने ?
अहिले षडानन्द नगरपालिकाभित्र निम्न व्यक्तिहरु दलित समुदायका छन् । उनीहरुको नाम, पद, ठेगाना र मोबाइल नम्बर निम्न अनुसार रहेको छ ।
ठण्डबहादुर विक नगर कार्यपालिका सदस्य ९८४२१०१०९४, लक्ष्मी दर्जी वडा सदस्य १४ नं वडा कार्यालय ९८१५३२८१९८, दिलमाया दर्जी वडा सदस्य १३ नं वडा कार्यालय ९८१९३६४५९६, राधीका विश्वकर्मा दलित महिला वडा सदस्य १२ नं वडा कार्यालय ९८१८५३४०९२, मैया माया सार्की वडा सदस्य ११ नं वडा कार्यालय ९८१०३२९८२६, सीता विश्वकर्मा वडा सदस्य १० नं वडा कार्यालय ९८४२३६५७५८, जीत कुमार दर्जी वडा सदस्य १० नं वडा कार्यालय ९८६१०६२५९४, रत्न कुमारी कमिनी वडा सदस्य ९ नं वडा कार्यालय ९८०७३७७८३६, कमला विश्वाकर्मा वडा सदस्य ८ नं वडा कार्यालय ९८१६३७२२८०, दुर्गा देवी दमाई वडा सदस्य ७ नं वडा कार्यालय ९८४२६२५३३०, रीता सार्की वडा सदस्य ६ नं वडा कार्यालय ९८६२०००६१३, दिल कुमारी विश्वकर्मा वडा सदस्य ५ नं वडा कार्यालय ९८१५३५५२४३, मोति बहादुर विक वडा सदस्य ५ नं वडा कार्यालय ९८४२५०१४१५, गीता सार्की वडा सदस्य ४ नं वडा कार्यालय ९८१९०१३५७८, तीर्थकुमारी विक वडा सदस्य ३ नं. वडा कार्यालय ९८४२२७००६८, हिरा दर्जी नगरसभा सदस्य २ नं वडा कार्यालय ९८१०५२२१७१ र मिरा दर्जी नगरसभा सदस्य १ नं वडा कार्यालय ९८०८४४९४४३ ।
दलित समुदायमाथि हुने यसप्रकारका विभेद दलितहरु केही नजानेर वा अनपढ, निराक्षर भएर मात्र होइन । दलितहरु पनि गाउँगाउँमा पढेलेखेका छन् । जान्ने बुझ्ने भएका छन् तर यो अन्तरजातीय विवाहको सवालमा चाहिँ निकै कमजोरी देखिन्छ । मन मिलेर मात्र भएन जात पनि मिल्नुपर्छ भन्ने हिन्दू ब्राह्मणवादी सोंच, दर्शन र व्यवहार हो । त्यसैले दलितहरुमा त्यो धर्मप्रतिको मोह अहिले पनि कायमै छ । जात व्यवस्थामा आधारित समाजमा अन्तरजातीय विवाह गर्नु भनेको चुनौती नै हो । एकछिन छुँदा त जात जान्छ भन्ने सोंच भएका मान्छेहरुसँग विवाहवारीकै सम्बन्ध गास्नु भनेको मनुवादीहरुका लागि ठूलो प्रहार हो ।
त्यसैले दलितहरुका बीचमा सचेत दलितहरुको सांगठनिक प्रशिक्षण र एकता आवश्यक छ । कानुनलाई प्रयोगमा ल्याउन राज्यसत्ता नै लाग्नुपर्नेमा कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीमा रहेकाहरुले नै कथित उपल्लो जातकाहरुसँग साँठगाँठ गरेर उत्पीडित जातिहरुमाथि नै दमन गरेको घटना यो पहिलो होइन ।
जुनसुकै घटनामा पनि शासकहरु कथित उपल्लो जातका पीडकहरुसँग मिल्ने र उत्पीडित वर्गमाथि दमन गर्ने प्रचलन हट्न सकेका छैन । यस्ता अपराधहरु सामान्य विरोध, सचेतना र कार्यक्रमबाट हट्नेवाला छैन । म आफै पनि त्यही भोजपुरको अरुण गाउँपालिकामा जन्मे हुर्केको व्यक्ति हुँ । म भोजपुरका कुना कन्दरा पुगेको छु र भोजपुरे समाजको गतिविधिलाई राम्ररी नियालेको छु । म आफैले सबैखाले समस्या झेलेको छु र संघर्ष पनि गर्दै आएको हुँ । जातीय विभेद कहाँ छैन ?
स्कुलमा, अफिसमा, संघ संस्थामा, पार्टीमा, क्लबमा, मठमन्दिर धार्मिक स्थलमा, कुवा पँधेरो धारामा, खेतबारी मेलापर्व जहाँसुकै पनि विभेद नै विभेदको चाङ छ । पढेलेखेकाहरुबाट नै प्रत्यक्ष विभेद गरिन्छ भने अनपढहरुबाट त सामान्य नै हो । त्यसैले अब भोजपुरमा उत्पीडित दलितहरुको संघर्ष आवश्यक छ । त्यो संघर्ष सचेत, संगठित र प्रतिबद्ध संघर्ष हो । त्यसका लागि विश्वभर रहेका न्याय, समानता र मुक्तिका लागि कटिबद्ध योद्धाहरुको साथ सहयोगको जरुरत छ । भोजपुरमा पटक पटक भएका जातीय विभेदका विरुद्धमा एक्ला एक्लै लडेर जितिन्न अब सामूहिक पहल र प्रयास गरौं । सामन्तहरुको हलि, गोठालो र कमारो बनेर दासताको जिवन जिउने होइन, विरतापूवर्क न्याय, समानता र अधिकारका लागि एक पटक जुटौं, उठौं र अघि बढौं ।
(लेखक दलित अधिकारकर्मी तथा पत्रकार हुन्) 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप