प्रधानमन्त्रीलाई धरानेको पत्र


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २६

धरानः धरानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । उनी प्रतिष्ठानको कुलपति समेत हुन् ।
केहीदिनअघि धरानको साख फर्काउने र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्ने भन्दै लागेको र गठन भएको ‘धरान नागरिक दबाव सञ्जाल’ ले इलाका प्रशासन कार्यालय धरानमार्फत् सो ध्यानाकर्षणपत्र बुझाइएको सञ्जालका संयोजक प्रा.डा. राजेन्द्र शर्माले जानकारी दिए ।
प्रतिष्ठानको समस्याबारे औंल्याउने ध्यानाकर्षण पत्र बुझाइएको उनले जानकारी दिए । ‘ध्यानाकर्षणपत्रमा अधिकांश विषय प्रतिष्ठानको समस्या औंल्याइएको छ’, उनले भने, ‘सह–कुलपति तथा स्वास्थ्य मन्त्रीज्यूलाई समेत सो ध्यानाकर्षण पत्र पठाइएको छ ।’
धरान नागरिक दबाव सञ्जाल र ९ राजनीतिक दल अहिले प्रतिष्ठान सुधार्दै धरानका यावत समस्याका बारेमा ‘एक्सन’ मा जाने भनेर लागिपरेका छन् ।
ध्यानाकर्षणपत्रमा अस्पतालको सेवाको गुणस्तर खस्किँदै गएको, शैक्षिक गतिविधि विवादमा तानिएको तथा ह्रासोन्मुख देखिएको र अनुसन्धानका कामहरु पनि आशातीत नरहेको गुनासो पोखिएको छ । ‘गुनासो आइरहँदा पनि उदासीन रहनुले धरानका सचेत नागरिक आश्चार्यमा परेका छन्’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘भाडाका घरमा चलेका अस्पताल फस्टाउँदै जानु र झन्डै तीन बिगाहा क्षेत्रफलमा फैलिएको स्थापित सरकारी एवं विदेशी दातृ निकायबाट निर्मित भवनहरुमा निःशुल्क प्राप्तफर्निचर र उपकरहरुको प्रयोग गर्न ये शिक्षण अस्पताल सधैं घाटामा जानुको कारण पक्कै पनि शंकाको घेरा पर्नु र खोजीको विषय हुनु हामी ठान्दछौं ।’
ध्यानाकर्षणपत्रमा समस्याको जड प्रतिष्ठानमा हिनामिना र नियतमै खोट रहेको औंल्याइएको छ । यस्तै, तत्कालका समस्या पनि ध्यानाकर्षणपत्रमा जनाइएको छ । अक्सिजन प्लान्ट युरो ‘स्टाण्डर्ड’ मा जोडिएपनि बाहिरबाट खरिद गर्नुपर्ने, बिग्रिने गरेको, आपूर्तिकर्तालाई कालोसूचीमा राख्नुपर्नेमा उल्टै उसैलाई मर्मत भुक्तानी दिइनु, १०० बेडको कोभिड अस्पताल भनेपनि ७० मात्रै रहनु, खरिद प्रक्रिया पूरा नगरी सामग्री खरिद हुनु, कुरुवाहरुका लागि पानी, शौचालय नहुनु, बिरामीको हेरचाहमा लापरवाही हुनु, डायलायसिस मेसिनको अभाव हुनु जस्ता समस्या समेत औंल्याइएको छ ।
ध्यानाकर्षणपत्रमा अक्सिजन पर्याप्त नहुनु, भेन्टिलेटर कम हुनु र भएका समेत बिग्रिएका हुनु, बिरामीको अनुपातमा स्वास्थ्य कर्मचारी कम हुनु, सरकारले उपलब्ध गराउने औषधि नहुनु, कोभिडका बिरामीले स्वास्थ्य बिमा सुविधा प्रयोग गर्न नपाउनु, सिटी स्क्यान मेसिन बिग्रिरहनु, एमआरआइ उपकरण बिग्रिएकै अवस्थामा रहनु, मर्मतका नाममा धेरै रकम खर्च हुनु, विद्यार्थीको शैक्षिक क्यालेन्डर अस्तव्यस्त हुनु, प्रतिष्ठानको सञ्चित घाटा चुलिएर ७ अर्ब पुग्नु, १ अर्ब बेरुजु देखिनु, रजिष्टारद्वारा जारी गरिएको सर्कुलरमा बेरुजु फछयौट गर्न निरीहता देखाउनु, फार्मेसी सञ्चालन हुन नसक्नु प्रतिष्ठानको कमजोरी पक्ष रहेको औंल्याइएको छ ।
सञ्जालले यसअघि प्रतिष्ठान सुधारका लागि ७ दिने अल्टिमेटम समेत दिइसकेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप