धरानको सर्दुमा झडप

केही युवा घाइते


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २६

धरानः धरानस्थित सर्दुखोलामा झडप भएको छ ।
गिटी, वालुवा निकाल्ने र उठाउन नदिने नदिने समूहबीच झडप भएको हो । हर्क साम्पाङको समूहले त्यहाँ पुगेर बालुवा, गिटी झिक्न नदिने भनेपछि झडप भएको प्रहरीले जनाएको छ । धरान उपमहानगरपालिका वडा नम्बर १७ र २० मा भएर बग्ने सर्दुखोलाको गिटी, बालुवा निकालिरहेको अवस्थामा ती समूहबीच झडप भएको हो ।
झडपमा धरानका राजेश खिम्दुङ, क्षितिज थापामगरसहित केही ब्यक्ति घाइते समेत भएका छन् । मजदुरले आक्रमण गर्दा उनीहरु घाइते भएका हुन् । स्थानीय जनताले नपाउने तर अन्यले चाहिँ उठाएर लगिरहेको हुनाले आफूहरुले आवाज उठाइरहेको स्थानीय राजेश खिम्दुङले जानकारी दिए । उनले प्रहरीकै अगाडि पनि गुण्डागर्दी शैलीमा आफूहरुमाथि आक्रमण भएको बताए । उनले आफूहरुमाथि ढुंगा बर्साइएको बताए । उनको समूहले स्काभेटर रोकेको बताए । रोकेपछि झडप भएको हो ।

त्यहाँका बालुवा उठाउने मजदुरले भने रक्सी खाएर आएर गाडीमा आगो लगाउन खोजेको बताए । यसै विषयमा झडपको स्थिति आएको ती मजदुर बताउँछन् । झडपमा राजेशको टाउकोको देव्रेपट्टि चोट लागेको छ । अर्का क्षितिजको टाउकोमा चोट लागेको छ । घाइते अन्यलाई उपचारका लागि पठाइएको खिम्दुङले जानकारी दिए ।
झडपस्थलमा केही प्रहरी समेत पुगेका थिए । लकडाउनको अवधिमा गिटी, वालुवा भारततर्फ ओसारपसार गरेको भन्दै केही दिनदेखि सर्दु खोलामा स्थानीयबासीले अवरोध गर्दै आएका छन् ।
वर्षेनी खोलाले कटान गर्दा धरानका सुकुम्बासी वस्ती जोखिममा समेत पर्दै आएको छ भने खोलाले कटान समेत गर्ने गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले झडपका बारेमा जानकारी आएको र प्रहरी परिचालन गरिएको बताए । उनले साम्पाङको नेतृत्वमा रहेका केही युवालाई नियन्त्रणमा लिइएको पनि जानकारी दिए । ‘साम्पाङ नेतृत्वकै युवाहरु लागेका छन् भनिएको छ, बुझ्दैछौं ।’ उनले भने । तस्वीरहरुः निमा पोङसुवा

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप