हाम्रो हाँसो, जिस्क्याइ कस्तो ?


  • सतिष क्षत्री
  • २०७८ जेठ २६

मान्छेको जीवनमा हाँसो नभइन हुने कुरा हो । हाँस उठ्नका लागि हामीलाई केही उपादानहरूको आवश्यकता हुन्छ । हाँसो जति स्वाभाविक भयो, स्वास्थ्य उति नै सहज हुन्छ । प्राणी जगतमा मानिस मात्र यस्तो प्राणी हो, जसले हाँस्न सक्छ । अन्य जातका पशुहरू हाँस्दैनन् । हाँस्नका लागि चित्तवृत्ति हलुका भएको हुनपर्ने एउटा मात्र शर्त त्यहाँ रहन्छ । गह्रौं हृदयले कोही पनि हाँस्न सक्दैन ।
मान्छेलाई हाँसो कति बेला उठ्छ भने, जब त्यो घटना अस्वाभाविक जस्तो लाग्छ । अर्को शब्दमा, मान्छेको चेतनाले त्यस्तो घटना अनुभव गरेकै हुँदैन । जहाँ विकृतजस्तो अवस्था देखिन्छ । जस्तै कि एउटी महिला जानुहुँदै थियो, उहाँ केराको बोक्रामा चिप्लेर डङ्ग लड्नुभयो । देख्नेहरूलाई हाँस उठ्छ, किनभने स्वाभाविकतामा उहाँ नलड्नु पर्ने थियो तर लड्नुभयो । जुरूक्क उठेर साडी सम्याउनुभयो ।
मान्छेले कोही बेला आफैंलाई हेरेर मरीमरी हाँस्छ । अँध्यारोमा रूखले खेदेको जस्तो लागेर आफू साँच्चिकै भागेको त्यो घटनालाई सम्झेर मान्छे अरूलाई सुनाउँदै हाँस्छ । अर्थात् त्यस्तो मुर्ख्याईंपूर्ण काम आफूबाट कसरी हुनसक्यो ? त्यो आश्चार्यको भावले त्यहाँ भूमिका निर्वाह गरेको हुन्छ । पहिलेका मिस्त्रीहरूले कैंचीमार फ्रेम बनाएर छप्पर ठोक्ने गर्थे । पछि टेक्नोलोजीमा विकास भएपछि अहिले मिस्त्रीहरू आएर ड्रील मेसिन र वेल्डिङ मेसिनहरूसित एउटा औसत मापीको घर एक घण्टाभित्रमा ठोकिसक्छन् । त्यो पहिलोचोटि देखेर पनि हामीलाई हाँस् उठ्छ । अनुभवदेखि बाहिरको कुराहरूमा हाँसो उठिरहेको हुन्छ ।
साहित्यमा नौवटा रस परिकल्पना गरिएका छन् । त्यसमा एउटा रस हास्य पनि हो ।
प्राचीन साहित्यअनुसार हाँसो ६ प्रकारका हुन्छन्:
१. स्मित– जुन हँसाईमा दाँत देखिँदैन।
२. हसित– अलिअलि दाँत देखिएको।
३. विहसित– शब्दसहित दाँत देखिएको ।
४. अवहसित – हाँस्दाखेरि नासिका स्फूरण र आँखा संकुचन भएको ।
५. अपहसित–हाँसेर हाँसेर आँसु आएको ।
६. अतिहसित – हातले ताल दिँदै वा शारीरिक हलचलका साथमा हाँसेको ।

मनोवैज्ञानिक फ्रायडले हाँसोद्वारा सामाजिक हिंस्रक मनोवृत्ति निर्वाधरूपले प्रकट हुनमा रोक लाग्छ भनेका छन् । हाँसोद्वारा मानिसको शरीरमा सेरोटोरिन नामक रसायनको समुत्पति हुन्छ र मानिसलाई खुशी राखिराख्नमा यसले भूमिका निर्वाह गर्छ । हाँस्नलाई आज हास्य योगाहरू छन् । हाँस्ययोगामा हाँस्नलाई विशेष कार्य – कारण हुन पर्दैन । एकजना आउँछन् पार्कमा , र दुई हात उचालेर आकाशतिर फर्केर, आवाज गर्दै हा..हा…हा.. हाँस्न लाग्छन् । यो हाँसो, आँसुबिनाको रूवाइजस्तो हुन्छ । सतही । तर अस्वाभाविक त्यो शरीरको कम्पन र हा.. हा… आवाजसित छाती पेट तलमाथि हल्लेको देख्दा त्यहाँ उपस्थितहरूलाई हाँसो उठ्छ र स्नायुहरू सञ्चालित हुनपुगी स्वास्थ्यलाभ हुन्छ ।
हाँसो निर्वाध गतिले बनाइरहनमा मसिना मसिना जोक्सहरूले काम गरेको हुन्छ । र जोक्सको पनि स्तरहरू हुन्छन् । कुन मान्छे कुन स्तरको जोक्सले हाँस्छ, त्यसबाट त्यस निर्दिष्ट मानिसको चेतनाको स्तर थाह पाइन्छ । अश्लील, अभद्र, पाखे वा टोइलेटसम्बन्धी अङ्गका कुराहरूले पनि मानिसलाई हाँसो त उठ्छ, उठन त ; तर त्यो हँसाई सभ्य समाजको अघि आफ्नो स्तरको विज्ञापन मात्र भइराखेको हुन्छ । जब तपाईंले भनेका कुराहरूलाई बारम्बार दोहोरयाउँदा पनि सुन्नेले गलत अर्थमा नै लिन्छ भने तपाईंलाई उसको मूढतामा पनि हाँसो उठ्छ ।

हाँसो स्वास्थ्यका लागि राम्रो भए पनि निराधार वा गलत ठम्याईका कुराहरूमा धेरै गरी हाँस्नुचाहिँ अनुपयोगी र अकल्याणकारी नै हुने रहेछ भनेर डा. इन्द्रबहादुर राईले अनुभव गरेका छन् । जातीय सन्दर्भमा उनले एक ठाउँ भनेका छन्– जेलाई पनि हाँस्ने कुरा पार्ने यहाँका नेपालीहरूमा औधी–औधी नै उक्सेको आदत छ । गम्भीर कहिले हुँदैनन् जस्ता छन्, हाँसेका र जिस्केका मात्र छन्, हाँस्न, रमाउन र खुशी हुन खोज्नैमा हामी हुरूक्क किन भएको ? मान्छे गम्भीर हुन्छ जब उत्तरदायित्व बोकेको हुन्छ । उत्तरदायित्व बोकिन्छ जब उत्तरदायित्व बोक्ने थोक उसको हुन्छ ।
गह्रौं उत्तरदायित्वका आर्थिक जेथा हाम्रा केही छैनन् । अरूका कमानमा, अरूका दोकानमा, अरूको अफिसमा, अरूका स्कूलमा काम गर्दा उत्तरदायित्व हामीलाई केही छैन । झिलिक्क उदाउने, मिलिक्क हराउने हाम्रा हर्षहरू छन्, र हाम्रा हँसाइहरू पनि । अरूले देख्दा कति हाँसिरहेका जस्तै । त्यसमा छिनमा घाम, छिनमा पानी यहाँका भौगोलिक आकाशहरू, आज चाँप फक्रेका भोलि ओइलेका यहाँको भौगोलिक पाखाहरू । ‘हाँसेकोले नासेको’ उखान छ हाम्रो, ‘नासेकोले हाँसेको’ हाम्रो यथार्थ छ ।
त हाँसोलाई स्वास्थ्य र समाज दुवैका लागि फलप्रदायक बनाउनमा मान्छेको भूमिका हुँदोरहेछ । हाँसोलाई स्वतस्फूर्त मात्र नछाडेर त्यसमा सचेतता अवलम्बन पनि मुख्य निर्वाहको विषय हुनु पर्दोरहेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप