पूर्वबाट भित्रियो वर्षायाम शुरु गराउने मनसुनी बादल

मनसुन नेपाल प्रवेश गर्दै, यो वर्षको मनसुनमा बढी वर्षा र जोखिम


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २६

धरानः वर्षायाम सुरु गराउने मौसम प्रणाली– मनसुन, नेपालमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ । मनसुन जहिले नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो । उनका अनुसार मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ ।
‘अब एक दुई दिनभित्रमै मनसुन नेपाल प्रवेश गर्ने सम्भावना देखिएको छ,’ मौसमविद् पौडेलले बुधबार भने, ‘हामी निरन्तर अध्ययनमा छौं, भरे, भोलिसम्म यस विषयमा बुलेटिन जारी गर्छौं होला ।’
उनका अनुसार मनसुन बंगालको खाडीमा आइपुगेको छ । दक्षिण हिन्द महासागरअन्तर्गत पूर्वी अफ्रिकाको म्यातागासकार टापुनजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ ।
यसपटक अधिक वर्षा हुने भनेर आफूहरूले २ महिनाअघि नै सूचना सार्वजनिक गरिसकेको बताउँदै मौसमविद् पौडेलले बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रमा सम्बन्धित निकाय तथा नागरिकले क्षतिबाट बच्ने तयारी गर्न सुझाव दिएका छन् ।
‘अझै पनि तयारी गर्ने समय छ, सुरक्षित स्थानमा सर्नुपर्ने हो कि,’ उनले भने, ‘यस्ता विषयमा पहिले ध्यान दिन सक्यौं भने क्षतिबाट बच्न सकिन्छ ।’
यस्तै आज दिउँसो पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
यो वर्षको मनसुनमा बढी जोखिम हुनसक्छ
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुन खतरायुक्त हुनसक्ने बताएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधिले धेरैलाई असर गर्नसक्ने बताए । उनले दक्षिण एसियाको मौसमसम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमान अनुसार सरदरभन्दा बढी पानी पर्ने देखाएको बताए । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपतको घटना कहालीलाग्दो हुनसक्ने उनले बताए ।
उनले भने, ‘पोहोरभन्दा यसपाली झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षती बेहोर्नुपरयो । यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानि पर्ने देखिएको छ। बाढी, पहिरोको घटना र अन्य रोगब्याधिका घटना नि बढ्ने देखेका छौं ।’
डा. पोखरेलले बाढी, पहिरो, रोगब्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपदबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए । जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ ।
उनले विपत्बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरु निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप