धरानकी ठूलीको ठूलो मन

इजरायलमा काम गर्दै धरानका अनाथ, असहायलाई सहयोग, भनिन्- यो वर्ष त्यस्तै खानुहोस्, म आएपछि सँगै राम्ररी जन्मदिन मनाउने धोको पूरा गरौंला (१८ तस्वीर र भिडिओ)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २५

धरानः धरान–११ की ठूलीचन्द्र राई विदेशी भूमि इजरायलमा कार्यरत् छिन् । उनी विगत १० वर्षदेखि त्यहाँ कार्यरत रहेको उनले जानकारी दिएकी छिन् ।
झट्ट हेर्दा नै उनी मिहिनेती परिश्रमी जस्तो देखिन्छिन् तर हुन पनि हो उनी हाल पनि इजरायलमै छिन्, त्यही दुःख, पसिना बगाउँदै परिश्रममै लिप्त छिन् । उनले विदेशमै दुःख र परिश्रम गरेर कमाएको केही रकम सामाजिक कार्यमा पनि लगाउँदै आएकी छिन् ।
‘मनबिनाको धन ठूलो कि, धनबिनाको मन’ बोलको गीत छँदैछ । उनले मनैदेखि, स्वच्छ भावनाले आफूले सहयोग गरेको भन्दै धरानका दुई संस्थालाई सहयोग गरेकी हुन् । उनले धरान–३ स्थित सरस्वती बालआश्रम र धरान–१ स्थित धरान पुनस्थापना केन्द्रलाई सहयोग गरेकी छिन् । जहाँ फरक क्षमता (असहाय, अनाथ) का बालबालिकादेखि वृद्धवृद्धासम्म बस्छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर खाद्यान्न, स्वास्थ्य सामग्री प्रदान गरेकी हुन् ।
धरानमा रहेको सरस्वती अनाथ बालआश्रमका बालिबालिकालाई एकछाक मासु, खाना, मास्क र बालिकाहरुका लागि सेनेटरी प्याड उपलब्घ गराएकी थिइन् । त्यसैगरी पुनस्थापना गृहका बालबालिकाहरुका लागि एक छाक मासु, खाना सहित दाल, चामल, नुन, तेल, चाउचाउ, अण्डा, सेतो मटर, मसला, प्याज, गोलभेडा, लसुन, चकलेट, कपडा धुन र नुहाउने साबुन, मास्क र बालिका तथा महिला दिदीबहिनीका लागि सेनेटरी प्याड उपलब्ध गराएको उनले जानकारी दिइन् । त्यस्तै संखुवासभाका वृद्धका लागि पनि दाल, चामल नुन, तेल, आलु, लुगा धुने र नुहाउने साबुन उपलब्ध गराएकी छिन् ।
पूर्वाञ्चल डिविआर टिभीका निर्देशक दिलबहादुर राईको संयोजनमा मङ्गलबार ती सामग्री प्रदान गरिएको थियो । नेकपा माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघा, निर्देशक राईले सो सामग्री आश्रम र केन्द्रमा पुगेर हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नेता बेघाले विदेशी भूमिमा पसिना बगाएर पनि धरानमा सहयोग गर्नु सह्रानीय कार्य भएको बताए । ‘त्यही पनि महिला, विदेशी भूमिमा बसेर रगत, पसिना बगाउनु र धरानमा रहेका अनाथ, असहायलाई सम्झनु ठूलो कुरा हो’, उनले भने, ‘यसको लागि ठूलीचन्द्र राई धन्यवादको पात्र हुनुभएको छ ।’
पुनस्थापना केन्द्रका सञ्चालक भीम राईले ठूलीचन्द्रले विदेशबाट समेत सहयोग गरेकोमा धन्यवाद दिए । ‘खासमा अहिले कोरोना महामारीमा निकै सङ्कटको अवस्था थियो’, उनले भने, ‘विदेशदेखि पनि सम्झिदिनुभएकोमा धन्यवाद ।’ कार्यक्रममा उनले पठाएको सन्देश समेत पढेर सुनाइएको थियो ।
उनले नेपाल आएर असहायसँग जन्मदिन मनाउने धोको पूरा गर्ने समेत बताइन् । ‘विभिन्न बाध्यता र परिस्थितिले आज म विदेशी भूमिमा भएपनि मेरो तनमन सधै नेपालमै हुने गर्दछ । त्यसैले नेपालको माया र नेपालीको दुःख मेरो नजरमा घुमिरहेको हुन्छ । विगतका वर्षहरुमा मैले आफ्नो जन्मदिनको अवसर पारेर नेपालको विभिन्न जिल्लका बिरामी र अशक्त आमाबुबा, दाजुभाइ, दिदीबहिनीलाई सहयोग गदै आएकी छु’, उनले भनिन्, ‘जन्मदिनबाहेक पनि नेपालमा धेरै मानिसलाई आर्थिक सहयोग गदै आएकी छु । म सँग धेरै पैसा भएर र मिडियामा देखाउनका लागि यो गरेको होइन । विदेशी भूमिमा दुःख गरेको केही रकम स्वच्छ भावनाले सहयोग गदै आएको हुँ । गत वर्षको जन्मदिनमा क्यान्सरपीडित चक्रघटीकी चम्पामाया राईलाई ३० हजार बराबरको नगद र खाद्यान्न उपलब्ध गराएकी थिएँ । यसपटक नेपाल आएर दिनदुःखी अशाहय अनाथ बालबालिकासँग जन्म दिनम नाउने धोको थियो । तर कोभिड– १९ कोरोना भाइरसका कारण म नेपाल आउन सकिनँ तर कुनै वर्ष म त्यो धोको पूरा गर्नेछु ।’
उनले सेवा नै धर्म भएको बताउँदै स्वच्छ मनले नै सहयोग गर्दै आएको बताइन् । ‘मेरो जन्मदिनमा तपाईहरुलाई मैले धेरै सहयोग त गर्न सकिन मेरो बलबुत्ताले भ्याएसम्म सहयोग गरेकी छु । जीवनमा संघर्ष गर्दागदै पनि अप्ठयारोमा परेका मानिसहरुलाई सेवा गर्नु नै धर्म हो जस्तो लाग्छ, त्यसैले म विदेशी भूमिमा दुःख गरिरहेतापनि मैले कमाएको केही हिसा समाज सेवामा खर्च गदै आएकी छु ।’
पुनस्थापना केन्द्रमा हाल २७ जना असहाय वृद्धवृद्धा, बालबालिका छन् भने सरस्वती आश्रममा २९ जना बालबालिका आश्रित छन् । सरस्वती आश्रममा आश्रित बालबालिकाहरुले अहिले स्नातकोत्तरसम्म पढिसक्ने पनि छन् भने अधिकांश जागिर वा अन्य पेशा अपनाउँदै आत्मनिर्भर समेत बन्दै आएको सञ्चालक समितिका सुरेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । अधिकांश बालबालिका आमाबाबु नभएका नै रहेका छन् । उनका अनुसार हालसम्म १५ जनाले नेपाली नागरिकतासमेत पाएका छन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप