धरानको चौकी आक्रमण गर्ने सार्वजनिक

धरानको प्रहरी चौकी आक्रमण गर्ने मुख्य आरोपितसहित पाँचजना १२ दिनपछि समातिएपछि सार्वजनिक, प्रहरी भन्छ- मुख्य आरोपित समाउन निकै सकस, दुई युवा जो ठाउँ परिवर्तन गर्दै हिँडिरहन्थे


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २५

घाइते भएका प्रहरी माथि । आक्रमणमा संलग्न पाँच युवा । तस्वीरः हाम्रो कोशी आवाज

धरानः धरान–१५ स्थित अस्थायी प्रहरीचौकीमा आक्रमण गरेर फरार रहेकामध्ये पाँचजना पक्राउपछि सार्वजनिक गरिएको छ ।
इलाका प्रहरी कार्यालय धरानले झन्डै १२ दिनपछि उनीहरुलाई सार्वजनिक गरेको हो । गत जेठ १३ गते १० जनाको युवाको समूह लागेर प्रहरीचौकीमाथि आक्रमण गरी तोडफोड गर्नुका साथै उनीहरुको आक्रमणबाट तीनजना प्रहरी समेत घाइते भएका थिए ।
घटनामा संलग्न मध्येका २४ वर्षीय विक्रम राई, २७ वर्षीय सिजन राई र कालु भन्ने २६ वर्षीय सरोज लिम्बू जेठ १८ गते नै पक्राउ परिसकेका थिए भने उनीहरुले दिएकै ‘क्लू’ लाई पछ्याउँदै अन्यलाई पनि पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक होमराज ओलीले जानकारी दिए । उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा धरान–५ देउरालीबाट पक्राउ गर्न सफल बनेको उनले जानकारी दिए ।
पक्राउका क्रममा पछिल्लो समयमा घटनाका मुख्य आरोपीहरू ३० वर्षीय वसन्त राई र ३२ वर्षीय रेगन लिम्बू धनकुटामा आत्मसमर्पण नै गरेपछि उनीहरुलाई सार्वजनिक गरिएको हो ।
कसरी समातिए मुख्य आरोपी भनिएका वसन्त र रेगन ?
घटनामा संलग्नहरूको खोजीमा सुनसरी प्रहरीबाट उनीहरू भागी जाने सम्भावित जिल्लाहरू (मोरङ, तेह्रथुम र धनकुटा) का प्रहरी र १ नं. प्रदेश प्रहरी ब्युरोको समेत मद्दत लिइएको थियो । धरानका प्रहरी निरीक्षक ओलीको टोली पनि धनकुटातर्फ लागेको थियो । प्रहरीका अनुसार घटनाको शुरुका दिन उनीहरु मोटरसाइकलमा धरान हुँदै मोरङको केराबारी पुगेका थिए । त्यसपछि भोलिपल्ट पथरी पुगे । राति नै मोटरसाइकल परिवर्तन गरी उनीहरु मोरङको बाटो हुँदै धनकुटाको ओख्रे पुगेका थिए । त्यसपछि उनीहरु धनकुटाकै कार्मिटार पुगे । त्यसपछि मात्रै धनकुटाको छथर जोरपाटी–४ बञ्चरे एरियामा पुगेर लुकीछिपी बसेका थिए ।
धनकुटा सदरमुकामबाट चारघण्टा पैदल हिँड्नुपर्ने सो स्थानमा पनि प्रहरी पुगेको सुइँको पाएपछि उनीहरु त्यहाँदेखि मोटरसाइकल छोडेर जंगलतिर भागेका थिए । त्यो चाल पाएपछि धनकुटा, तेह्रथुम, धरानबाट गएको टोली र प्रदेश १ क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले चारैतिर घेरा हालिसकेको थियो । ‘उनीहरु कहीँकतै भाग्ने अवस्था थिएन,’ प्रहरी निरीक्षक ओलीले भने, ‘तर पनि जंगलमै रहेका ती युवाहरु कसरी प्रहरीकहाँ पुगेर आत्मसमर्पण गरे हामी आफै चकित छौं ।’
उनका अनुसार प्रहरीले पक्राउ गर्न सक्ने भन्दै उनीहरुले धरानमै मोबाइल पनि छाडेर भागेका थिए । ‘ती मुख्य अभियुक्त भनिएका दुई युवालाई पक्राउ गर्न निकै सकस परयो’, उनले भने, ‘मोबाइल नै धरानतिर फालेर हिँडेपछि समस्या भयो नै तर पनि यसअघि नै पक्राउ परेका युवामार्फत् पाइएको ‘क्लू’, आफन्त अनि फोटोमार्फत् हुलिया सोध्दै जाँदा उनीहरु पक्राउ पर्न सफल भयौं ।’
उनले आफूहरुको टोली धनकुटा पुगेर ढुकेरै तीनदिन तीन रात बसेको जानकारी दिए । प्रहरी नजिकै पुगेको, भाग्न उम्कन सक्ने अवस्था नरहेको, खानाको पनि समस्या हुन थालेपछि नै उनीहरूले गएराति जिल्ला प्रहरी कार्यालय धनकुटामा स्थानीय जनप्रतिनिधिको सहयोगमा आत्मसमर्पण गरेको पाइएको उनले जानकारी दिए ।
आत्मसमर्पण गरेका दुवैजनालाई धरान ल्याई उनीहरूविरुद्ध सुनसरी जिल्ला अदालतमा मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुर (विरुद्ध ज्यान मार्ने उद्योग १८३.१) अन्तर्गत मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
सो घटनामा केही युवाको समेत संलग्नता रहेको र उनीहरुको पनि खोजी तीब्र पारिएको उनले जानकारी दिए । जेठ १३ गते साँझ प्रहरी चौकीमा ज्यान जोगाउन पुगेका दुई युवालाई पछ्याउँदै आएको १० जना युवाहरुको समूहले जथाभावी आक्रमण गर्दा चौकी इञ्चार्जलगायत तीनजना प्रहरी घाइते भएका थिए भने प्रहरी चौकीमा जथाभावी तोडफोडसमेत गरेर हतियारधारी युवाहरु फरार भएका थिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप