यो वर्ष पनि लथालिङ्ग शिक्षाक्षेत्र ?

अनलाइन शिक्षा अवसर पनि !


  • रविन श्रेष्ठ
  • २०७८ जेठ २५

विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षण संस्था बन्द छन् । यसबाट सबै तहका गरी ९० लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ । यो शैक्षिक सत्र यतिकै सकियो । अभिभावकलाई छोराछोरीको पढाइ बिग्रियो भन्नेमा चिन्ता लागिरहेको छ । नेपालभर ७० लाख विद्यार्थी स्कूलतहमा छन् । सरकारी तहका शिक्षकले सरकारबाट नियमित तलब भत्ता खाइरहेका छन् भने निजी विद्यालय, कलेजका शिक्षकले तलब भत्ता नै नपाएको अवस्था पनि छ । विद्यार्थी र अभिभावकलाई पढ्न पाइएन, पाएनन् भन्ने चिन्ता छ भने यस पेशामा आबद्ध निजी विद्यालय, कलेजका शिक्षकलाई रोजीरोटी गुमेर घरपरिवार पाल्नै मुस्किल परिरहेको छ । आफ्नो स्कूल कलेजका मुख्य खम्बा शिक्षकप्रति सञ्चालक उत्तरदायी हुन नसक्दा शिक्षित ठूलो समूह बिचल्लीमा छ ।
शिक्षण पेशालाई संसारभर मर्यादित र बौद्धिक पेशाका रूपमा लिइन्छ । यस पेशामा आबद्ध शिक्षकलाई प्रशस्त मात्रामा सेवासुुविधा उपलब्ध गराइन्छ । उनीहरूको उच्च सम्मान छ । तर, नेपालमा यसो नहुँदा शिक्षाको महत्व नै घटेको देखिन्छ । अहिले चर्को बजार मूल्यका कारण शिक्षकलाई बाँच्न नै कठिन छ । समाजका बालबालिकालाई भोलिका परिपक्व जनशक्ति निर्माण गर्न सीप सिकाउने शिक्षक निराश बन्दै गएका छन् । बाँच्नकै लागि छटपटाइ रहनुपर्ने भएपछि ताजा वातावरणमा दिनुपर्ने शिक्षाको अवस्था कस्तो होला ? उनीहरूको वर्तमान र भविष्य दुवै अनिश्चित छ । शैक्षिक संस्था खोल्ने अनुमति दिन्छ, त्यसको नियन्त्रण र व्यवस्थापन गर्दैन ।
सरकारले गत असार १ गतेबाट वैकल्पिक विधिबाट पढाउनुपर्ने निर्देशन जारी गरेको छ । यसै निर्देशनलाई आधार मान्दै निजी स्कूल कलेजहरूले विद्यार्थी भर्ना, अनलाइन विधिबाट पढाएको शुल्क असुल्न तयार भएको देखिन्छ । यसरी शिक्षक मर्कामा परेका छन् । विद्यार्थीले राम्ररी पढ्न पाइरहेका छैनन् । तर पनि सरकारले शिक्षाक्षेत्रको यो समस्या कसरी समाधान गर्ने भनेर कुनै सोच बनाएको छैन । यो दुर्भाग्य हो ।
अघिल्लो वर्ष अनलाइन शिक्षा, अनलाइन शिक्षा भन्दाभन्दै चार, पाँच महिना भन्दा बढी पढाउन सकिएन । विद्यालय तहको अन्तिम परीक्षाको तयारी भइरहँदा तथा विश्वविद्यालयलगायत अन्य शैक्षिक संकायको पनि पठनपाठन तथा बोर्ड परीक्षाको तयारी अवस्थामा कोभिड–१९ संक्रमणबाट बच्न र बचाउन एक्कासी लकडाउन गर्नुपरेको छ । कक्षा १ देखि कक्षा ९ सम्मको अन्तिम परीक्षा भइरहेको तथा कक्षा १० को एसइई परीक्षा नभइकनै लकडाउन भयो । कक्षा ११ र १२ को परीक्षा पनि आसन्न अवस्थामा रहेको थियो । त्यसैगरी विश्वविद्यालय तहका कतिपय परीक्षा पनि भइरहको तथा हुनै लागेका थिए । सबै परीक्षा अनिश्चितकालको निम्ति स्थगित भएका छन् । विद्यार्थीको मनोविज्ञानलाई असर नपरोस् भनेर निजी शिक्षालय र केही विश्वविद्यालयले अनलाइनमार्फत भच्र्युअल कक्षाहरू सञ्चालन गर्ने जमर्को गरेका छन् । हाम्रोजस्तो विकासोन्मुख देशमा विद्युत् आपूर्ति तथा इन्टरनेटको पहुँच सबैमा समान रूपले पुगेको छैन भने स्रोत र साधन अभाव छ । त्यसैले अनलाइन शिक्षा पद्धति पनि प्रभावकारी हुन सकेको पाइँदैन । सहरी क्षेत्रमा र पहुँच हुने वर्गको निम्ति एउटा विकल्पका रूपमा जुम, गुगलजस्ता प्रविधियुक्त अनलाइन माध्यमबाट केही हदसम्म शिक्षण सिकाइ क्रियाकलाप अगाडि बढाउनुपर्ने बाध्यता छ । यसको प्रभावकारिताका लागि पनि शिक्षक–विद्यार्थीसहित सबै प्रत्यक्ष सरोकारवालालाई प्रविधिमैत्री बनाउन सम्बन्धित पक्षले पनि पहल थालेको पाइन्छ । त्यो अभियान सफल भएमा शैक्षिक क्षेत्रमा आधुनिकीकरणको थालनी हुने प्रचुर सम्भावना छ, सँगसँगै यसलाई व्यवस्थित बनाउन पनि त्यत्तिकै चुनौतीपूर्ण छ ।

प्रविधिमैत्री बनाउन सर्वप्रथम त दूरदराजदेखि सहरबजारसम्मका शिक्षण संस्थालाई विद्युतीय उपकरण, विद्युत्, इन्टरनेटजस्ता अत्यावश्यकीय वस्तुको पहुँच पुरयाउनुपर्छ । त्यसैगरी शिक्षकहरूलाई प्रविधिमैत्री बनाएर मूल्यांकनका वैधता र विश्वसनीयता अनि गुणस्तरीयताको निश्चितता गर्न–गराउन पनि उत्तिकै जरुरी छ । अर्कोतर्फ अर्थोपार्जन गर्ने सिलसिलामा बिदेसिएका लाखौंलाख नेपाली विभिन्न मुलुकमा कोरोनाको कहरका कारण बेरोजगार भएर स्वदेश फर्कने निश्चित देखिन्छ । जसको असर समाजको अन्य क्षेत्रको साथसाथै शैक्षिक क्षेत्रमा पनि प्रत्यक्ष पर्ने देखिन्छ । आम्दानीको स्रोत गुमेपछि बालबच्चाको शिक्षामा लगानी गर्ने क्षमतामा पनि कमी आउनेछ । धेरै निजी शैक्षिक संस्थामा विद्यार्थी संख्याको कमी भई आर्थिक स्रोत कम हुने मात्र नभएर बन्द हुने अवस्था पनि नआउला भन्न सकिन्न । गुणस्तरीय शिक्षाको पहुँच हुनेखाने वर्गमा मात्र सीमित हुने सम्भावना त्यत्तिकै छ भने हुँदा खाने वर्गका लागि स्तरीय शिक्षामा पहुँच कठिन देखिन्छ ।
कुनैपनि देशको सम्पूर्ण पक्षको विकासको पूर्वाधार नै शिक्षा हो भन्नेमा कसैको दुईमत हुन सक्दैन । जबसम्म शिक्षित योग्य जनशक्ति परिवार, समाज र राष्ट्रले पाउँदैन विकास केवल कल्पनामा मात्र सीमित हुने निश्चित छ । यसमा सरकार तथा हिसान, प्याब्सन, एनप्याब्सनजस्ता निजी शैक्षिक संस्थाका नेतृत्वदायी संस्थाले संयुक्तरूपमा योजना बनाउनु तथा नीति निर्माण गरी प्याकेज कार्यक्रम ल्याउनु जरुरी देखिन्छ । अभिभावक वर्ग तथा शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूको उचित परामर्श तथा सहयोगमा तत्कालीन तथा दीर्घकालीन योजनाका लागि पनि सरकारले उचित कदम चाल्नुपर्ने आवश्यकता छ ।
शिक्षा पनि पर्यटन र जलस्रोतजस्तै नेपालको विकासका लागि प्रचुर सम्भावना भएको क्षेत्र हुन सक्छ । अनुसन्धान, खोजजस्ता शैक्षिक क्रियाकलापका लागि पनि नेपाल अन्य मुलुकको तुलनामा उत्कृष्ट मानिन्छ । भौगोलिक, सांस्कृतिक, धार्मिक र विभिन्न जात–जातीय विविधतामा एकता भएका कारण पनि यो सम्भव छ । कोरोना भाइरस (कोभिड–१९) को असरलाई अवसरका रूपमा परिवर्तन गर्दैै सोहीअनुरूप नीति–नियम तर्जुमा गरी समयसापेक्ष आवश्यकीय पूर्वाधार तयार गर्न–गराउन निजी शैक्षिक व्यवसायीलाई प्रोत्साहन गर्दै शिक्षा क्षेत्रमा व्यापक लगानी गरी स्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा नेपालमा सर्वसुलभ खर्चमा उपलब्ध हुने वातावरण सिर्जना गर्ने हो भने विश्वबजारका लागि नेपाल शैक्षिक गन्तव्य हुने सम्भावना पनि त्यत्तिकै छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप