धरानको जंगलभित्रै टर्की र कुखुरापालन

छोरा अमेरिकामा तर टर्की पालेर चर्चामा आए लिम्बू, व्यवसायिकरुपमै थालियो टर्कीपालन, कुखुरापालन (भिडिओ)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २३

धरानः युवाको लहर विदेशतिर बढिरहेका बेला धरानका मङ्गलसिंह आङबुहाङ (लिम्बू) ले भने धरानमै नयाँ कामको थालनी गरेका छन् । उनलाई शुरुमा धेरैले लिम्बू बौलायो समेत भने । धेरैले छोरा अमेरिका, दाजुभाइ धेरैजसो युरोपतिर छन् तर यो लिम्बूचाहिँ जङ्गलको बीचमा गोठालो बन्न खोज्दैछ भने । तर पनि उनी हार खाएनन् । देशमै केही गर्छु, भनेर लागिपरिरहे ।
धरान–४ पत्राङ्बारी सिरान (सालघारी) । वरिपरी जङ्ग । त्यही जङ्गलको बीचमा छ उनको फर्म । फर्मसम्म पुग्नका लागि आफ्नै लगानीमा उनले मोटरबाटो लगेका छन् । जङ्गलभित्रै उनले टर्की र लोकल कुखुरापालन थालेका हुन् । व्यक्तिगत लगानीमै टर्की र लोकल कुखरापालन थालनी गरेका छन् । टर्कीपाल्न थालेका उनले धरानमै पहिलो भन्दै दावी समेत गर्दै आएका छन् । उनले विगत तीन वर्षदेखि टर्की र लोकल कुखुरापालन व्यवसाय शुरु गरेका हुन् ।
धरानमा टर्कीको माग राम्रो देखिएकाले टर्की र लोकल कुखुरासँगै कडकनाथ, बट्टाई, बाख्रापानल पनि सँगै लैजाने जमर्को गरेका छन् । धरान–४ पत्राङ्बारी सिरान (सालघारी) मा आङबुहाङ एग्रीकल्चर फर्म दर्ता गरेर उनले यस्तो व्यवसाय थालेका हुन् ।
विशेषगरी टर्की र लोकल कुखुराको अण्डा उत्पादन समेत गर्दै आएका उनले व्यवसाय र जग्गाका लागि हालसम्म १ करोड बढी लगानी समेत गरिसकेका छन् । शुरुवाती चरणमा खासै आम्दानी नभएपनि यसवर्षदेखि भने राम्रो आम्दानी हुनसक्ने उनको भनाइ छ ।

मासुका लागि लोकल कुखुरा र टर्कीको माग समेत उच्च रहेकोले उनले यस्तो व्यवसाय थालेको बताएका छन् । ‘टर्कीको मासु भनेपछि जोपनि हुरुक्कै हुन्छन्’, उनले थपे, ‘फेरि यो नौलो व्यवसाय भएकोले यसलाई पछ्याएको हुँ, यो वर्ष खासै आम्दानी नभएपनि अबदेखि भने आम्दानी हुने देखेको छु ।’
नयाँ व्यवसाय भएकाले चुनौतिसँगै अवसरहरु पनि धेरै रहेको उनी बताउँछन् । ‘नयाँ व्यवसाय भएकाले अवसर र चुनौती दुवै छ तर पनि मचाहिँ अवसर नै देख्छु, यो धेरैको चासो बनेको छ, अहिले रमित हेर्नकै लागि भएपनि फर्मसम्म आइपुग्ने गरेका छन् । नयाँ स्वाद हुने भएकाले पनि यसको व्यवसाय फस्टाउँदै गएको छ ।’
विदेश (साउदी) मा पनि १४ वर्ष श्रम गरेर फर्किएका उनी देशमै बसेर सिर्जनशील काम गर्ने सोच राखेर यस्तो व्यवसाय थालेको बताए । उनको एकजना छोरा अमेरिकामै छन् । उनलाई छोराले त्यतै पनि बोलाउँछन् तर उनी जाँदैनन् । ‘स्वदेशमै केही गर्नुपर्छ भनेर लागिपरेको हुँ’, उनले भने, ‘राज्यले केही गरिदिए अझै यसलाई व्यवस्थित गरेर लाने थिएँ ।’
भाले टर्की १२ देखि १३ किलोग्राम तथा पोथी सातदेखि आठ किलोग्राम तौलको हुन्छ । ‘टर्कीको मासु भनेपछि धराने हुरुक्कै हुन थालिसकेका छन्,’ उनले भने, ‘यहाँ जिउँदो टर्की किन्न ग्राहक घरमै पुग्ने गरेका छन्, विशेषतः जानेबुझेका धराने यहाँ आइपुग्छन् ।’
टर्कीको मासु उच्च रक्तचाप, मधुमेह, एसिडजस्ता रोगका बिरामीलाई उत्तम मानिन्छ । टर्कीको मासुमा चिल्लो तथा बोसोको मात्रा कम हुने हुँदा यसको मासुको माग बढिरहेको छ ।
हाल कडकनाथ, लोकल कुखुरा गरेर ५०० जति पालन गर्दै आएका उनले टर्की भने ४० वटा पालेका छन् । ‘माग उच्च हुन थालिसकेको छ, टर्की ५ सय कुखुरा र ४० वटा टर्की खोरमा लगाएको थिएँ, अहिले टर्कीचाहिँ धेरै सक्किइसकेको छ, टर्कीको संख्या बढाउने र लोपोन्मुख स्थानीय साकिनी, घाँटीखुइले र उल्टे जातका कुखुरापालन पनि गर्ने योजना छ ।’ उनले सुनाए । एक वर्षमा पूर्णरूपले तयार हुने पंक्षी टर्कीलाई कुखुरालाई जस्तै दाना र हरियो घाँसको आहारा खुवाउने गर्छन् ।
उनले भविष्यमा एग्रो टुरिजमलाई जोड दिँदै अघि बढ्ने बताए । उनले त्यहाँ बेसार, अदुवा, टमाटर, पनि उत्पादन गर्दै आएका छन् ।
तस्वीरहरु: हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप