अनलाइन शिक्षाः अप्ठ्यारोमा अलमल्याउने मेलो


  • समीक्षा दाहाल
  • २०७८ जेठ २३

कोरोना भाइरसको त्रासले यसपटक पनि विद्यालयमा औपचारिक रुपमा पढाइ हुन सकेको छैन । सामुदायिक विद्यालय र कलेजले अनलाइन कक्षा सञ्चालन गर्न सकेको छैनन् । विद्यालयमा पर्याप्त मात्रमा ल्यापटप जस्ता प्रविधि नहुनु, शिक्षकसँग पनि नहुनु आदिजस्ता कारणले धेरै विद्यार्थी यस्तो शिक्षा पाउनबाट वञ्चित छन् ।
हिजोआज अनलाइन अर्थात भर्चुअल शिक्षण सिकाइ प्रसङ्गले निकै बजार पाएको छ । जताततै यसको चियो चर्चा भइरहेको छ । इन्टरनेट व्यवसायीको ब्यापार पनि बढेको छ । लकडाउनको समयले अनलाइन सेवाग्राहीको संख्या पनि बढाएको छ । लकडाउनका कारण बाह्य कामकाज बन्द भएकोले फेसबुक, युट्युब र अनलाइन क्रियाकलापहरु समय कटाउने साथी भएका छन् ।
विकसित मुलुकहरुमा ब्यापार ब्यवसाय, अध्ययन अध्यापन अनलाइनमार्फत हुन्छन् भन्ने कुरा सुनेर अनौठो महसुस गर्ने हाम्रो समाज आज आफै यसको उपयोग गर्न उन्मुख भएको छ । यो सबैका लागि खुशीको कुरा पनि हो । स्कुल कहिले खुल्छ भन्ने कुरामा अन्यौल छ । नेपालको भूगोल अध्ययन गर्ने हो भने धेरै भाग जनसंख्या ग्रामीण इलाकामा बसोबास गर्छन् । सबैको घरमा बिजुली पुगेको छैन । गाउँलेहरुले सामान्य टेलिफोन सेट प्रयोग गरी सञ्चार सम्पर्क गर्न थालेका छन् । सिमित मानिसहरु सित स्मार्ट फोन छन् तापनि त्यसमा भएका सबै फन्क्शन चलाउन जान्ने सीप छैन । डिसहोम टेलीभिजन केही ब्यक्तिका घरमा जोडिएका छन् । घरायसी काममा ब्यस्त रहने अभिभावकका बलबालिकालाई समय ब्यवस्थापन गर्न पनि चुनौती नै देखिन्छ ।
सबै शिक्षकसित कम्प्युटर छैन । भएकाहरुको घरमा इन्टरनेटको व्यवस्था छैन । शहर केन्द्रित कार्यनीतिले त्यति प्रभावकारी काम गर्ला जस्तो देखिँदैन । शैक्षिक बिकासका लागि कोही पनि उत्तरदायी बन्न तयार छैनन् । ग्रामीण भेगका अभिभावकहरु विद्यालयमुखी छन् । बालबालिकालाई कति बेला विद्यालय पठाउने भन्ने कुराले आतुर छन् । घर र समुदायमा पढ्ने र पढाउने वातावरण छैन ।
यो महामारीले सिजना गरेको बन्दाबन्दीका कारण विश्वमा करोडौं बालबालिकाहरु घरमै सिमित भएको अवस्थाले गर्दा उनीहरुको शारीरिक तथा मानसिक वृद्धि विकासमा कुन माध्यमबाट सहयोग पुरयाउन सकिन्छ भन्ने विषयमा अनलाइन शिक्षा एउटा अचुक अस्त्र बनेर हाम्रो समाजमा पनि आएको छ । तसर्थ, यहाँ यसको सम्भावना, चुनौती र समाधानका केही उपायहरुबारे छलफल गर्ने प्रयास गरिएको छ । ई–लर्निङ अन्तर्गत रेडियो, टिभी, मोवाइल शिक्षा तथा इन्टरनेटको माध्यमबाट दूर शिक्षालगायत विभिन्न प्रकारमा विभाजन गरिएको छ । यो प्रकारको शिक्षा सिकाइमा असीमित हुन्छ तसर्थ यसलाई ‘खुल्ला शिक्षा’ पनि भनिन्छ । खुल्ला शिक्षा नेपालमा पनि औपचारिकरुपमा शुरु त पहिले देखि नै भएको छ तथापी यसको आवश्यकता वर्तमान समयमा अधिक रह्यो ।
अहिले नानीबाबुहरुलाई कसरी उनीहरुको समय रचनात्मक प्रयोग गर्न सकिन्छ भनेर ठूलै बहस चलेको छ । अहिले देशभरी बालशिक्षादेखि विश्वविद्यालय तहसम्म झन्डै ८० लाख विद्यार्थीहरु लकडाउनका कारण नियमित पठनपाठन ठप्प बनेको छ । यस्तो समयमा हाम्रो देशमा सुशुप्त अवस्थामा रहेको खुल्ला शिक्षाअन्तर्गत अनलाइन शिक्षाको महत्व ह्वात्तै वर्षाको भेल झैं आएको छ ।
अहिले अधिकांश विद्यालयहरुले विद्यार्थीहरुलाई उनीहरुको सिकाइ क्रियाकलापमा निरन्तरता दिने उद्देश्यले विभिन्न एप्सहरुको माध्यमबाट अनलाइन कक्षाहरु सञ्चालन गरिएको छ । यो आलेखमा विशेष गरि अनलाईन शिक्षाले वर्तमान बाल मनोविज्ञानमा कस्तो प्रभाव पर्दछ र अभिभाबकको दायित्वका बारेमा छलफल गर्ने प्रयास गरिएको छ । हाम्रो जस्तो अल्पविकसित तथा विकासोन्मुख देशको लागि कुनै पनि विपत्ति भयानक नै हुन्छ । अहिलेको यो विश्व महामारी जस्तो विषम परिस्थितिमा घरमा भएका स–साना नानीबाबुहरुलाई रचनात्मक रुपमा सिकाइ प्रक्रियामा सहभागी गराउनु जति उपलब्धिमुलक छ त्यो भन्दा बढी चुनौती छ । हाम्रो देशमा अझै पनि जनस्तरमा शिक्षाको महत्वको कमी अथवा जनचेतनाको कमजोरीको कारण भएर होला विद्यालय तह शिक्षा संविधानत निशुल्क तथा अनिवार्य भनिएपनि सत् प्रतिशत विद्यार्थी भर्ना गर्न सकिएको अवस्था छैन ।
यसको अन्य कारणबारे विभिन्न समयमा विभिन्न माध्यमबाट सार्वजनिक भइसकेको छ । व्यापारिक ठूला घरानियाहरुले सहरमा खोलिएका सीमित निजी शैक्षिक संस्था बाहेक अधिकांश विद्यालयमा अझै पनि प्रशस्त मात्रामा शैक्षिक सामग्रीको उपलब्ध छैन । कतिपय क्षेत्रमा शैक्षिक सत्रको अन्तिम समयसम्म पाठ्यपुस्तक पुगेको हुँदैन ।
एक आर्थिक सर्वेक्षणको तथ्यांक अनुसार देशमा जम्मा ७७.८५ प्रतिशत मात्र जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । कुल ५८ प्रतिशत जनसंख्यामा मात्र इन्टरनेटको सुविधा पुगेको छ । त्यसैगरी जम्मा २९ हजार ६०७ सामुदायिक विद्यालय मध्ये कम्प्युटरको सुविधा भएको विद्यालयको संख्या जम्मा ८ हजार ३६६ रहेको छ ।
बालबालिकाहरु स्वाभाविकै जसरी शारीरिकरुपमा वृद्धि भइरहेको हुन्छ त्यसैगरी मानसिकरुपमा पनि विकास हुने क्रम निरन्तर चल्दछ । समाजमा भए गरेका अनेक घटनाक्रममा चासो व्यक्त गर्दछन् जुन कुरा उनीहरुको नैसर्गिक अधिकारको कुरा पनि हो । हाम्रो समाजमा विगत एक डेढ दशक यता मुख्य रुपमा सञ्चारमा तीब्र गतिमा विकास भयो र यसको भरपुर उपयोग हुँदै गएको छ ।
तथापी यो प्रकारको विकासले जसरि धेरै पक्षमा फाइदा पुगेको छ त्यसै अनुरुप बेफाइदा पनि छन् । यस्तै सञ्चार माध्यमको दुरुपयोगले ठूला–ठूला साइवर अपराध, पेशेवर घटना, बलात्कार जस्तो जघन्य खालका अपराधको मुख्य सहयोगी साधनको रुपमा प्रयोग भएको हुन्छ । अर्कोतिर, जब सानै उमेरमा प्रविधिको पहुँच हुन्छ त्यसको कलिलो दिमागमा रमाइलो मात्र रुचाउने र यसले रचनात्मकता क्षमतामा ह्रास ल्याउने पनि उत्तिकै सम्भावना हुन्छ ।
उनीहरुले मोबाइलमा गेम खेलेर समय खेर फाल्नु अनि विद्यालयबाट दिइएको गृहकार्यमा ध्यान नजानु जसले गर्दा अभिभावकमा यो कुरालाई मुख्य समस्या मान्दै आएको छ । जब नानीबाबुहरुमा कुनै गेमको लत लागेको छ भने पक्कै पनि त्यो लत कुनै ड्रग्सको लत भन्दा कम हुँदैन । हामीले जति गरेपनि त्यो लतबाट जबर्जस्ती बाहिर ल्याउन गाह्रो छ ।
यदि जबर्जस्ती गर्न खोजियो भने यसले पक्कै पनि राम्रो परिणाम ल्याउँदैन । यस्तो अवस्थामा उनीहरुलाई मनोवैैज्ञानिक परामर्शको जरुरी पर्दछ जसले गर्दा उनीहरुमा रचनात्मक कार्य गर्न प्रेरित हुनेछ । वर्तमान समयमा लकडाउनको कारण उनीहरुलाई घरमा धेरै समय पढेर बस्न पनि गाह्रो, बाहिर खेल्न पठाउन पनि बन्द भएकोले अहिले आएर अनलाइन कक्षाको माग बढी भएको हो । यद्यपि यो समयमा घरको अभिभावकको पर्याप्त अनुगुमन विनै त्यस्ता अनलाइन कक्षामा त्यसै छोडिदियो भने तोकिएको समय सीमित हुन सक्छ ।
अनि, अनलाइन कक्षाको लागि भनेर एक–आधा घण्टा अथवा केहि थोरै समयको लागि रचनात्मक कार्यमा उपयोगी हुन सक्छ । तर, यसको निहुँमा पुरै समय मोबाइल तथा कम्प्युटरमा दिने अनि घरमा कसैको आवश्यक निगरानी हुन सकेन भने यसको नकारात्मक पाटोले बालबालिकाको मनोविज्ञानमा गहिरो छाप पर्न सक्छ । यसैगरी, यो खालको कक्षा सञ्चालन गर्दा अनेक तरिकाले उनीहरुको मस्तिष्कमा नराम्रो बुझाइ हुन सक्छ ।
जुन किसिमबाट हाम्रो समाजमा वर्गीय विभेद धेरै रहेको छ जुन विभेदको कारण सिर्जना भएको खाडल धनी र गरीब, हुने खाने र हुदा खाने, मालिक र मजदुर आदि । जसले गर्दा एउटा त्यो परिवार जुन आर्थिक रुपमा सम्पन्न छन्, उनीहरुको लागि हरेक विकल्प खुल्ला रहन्छ भने अर्को परिवार जहाँ बिहान साँझ हातमुख जोर्न धौं धौं पर्ने परिवारको बालबालिकाहरु जसले यी सबै कुराहरु सुन्न मात्र पाउँछन् ।
संकटकै कारण शिक्षालाई निरन्तरता दिन बिद्यालय, शिक्षक, अभिभावक सवै पक्षमा समस्याका पोकाहरु थुप्रा छन् । संकट लामो समय सम्म रहिरहन सक्ने भएकाले अनलाइन र अफलाइनको प्रविधि युक्त शिक्षाको विकास गराइनु अनिवार्य आवश्यकता भएको छ । तर सरकारसँग प्रष्ट नीति र रणनीति छैन । कति दिनसम्म विद्यालय बन्द गरिरहने ? त्यसले अन्तिम विकल्प भनेको अनलाइन कक्षा हो । अनलाईन कक्षाका पनि आफ्नै फाइदा र बेफाइदाहरु छन् । तर पनि अनलाइनलाई नै अगाडि बढाउनु पर्ने बाध्यता छ । त्यसको लागि सरकार, स्थानीय निकाय, संघ संस्था, अन्तराष्ट्रिय निकायको ध्यान जानु पर्ने छ । इन्टरनेट पहुँच, अनलाइन शिक्षाको अभाव, प्रविधिसँग मिल्दो दक्ष जनशक्तिको अभाव मुख्य समस्याहरु हुन् । यस्ता समस्याहरुलाई ध्यान दिई अगाडि बढेमा विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापनमा देखिएको निराशापनमा केहीहद सम्म भए पनि राहत हुनेछ । अतिविपन्न वर्गलाई शिक्षा सम्बन्धी इन्टरनेट प्याकेजहरु सस्तो र सुलभ बनाइनु पर्छ । अनलाइन कक्षालाई अझै प्रभावकारीरुपमा अगाडि बढाउन निम्न कार्यहरु गर्न सकिन्छ ।
सरकार, स्थानीय निकाय ,विद्यालयको भूमिका :
१) प्रविधिसँग मिल्दो कोर्षहरु तयार पारी लागू गर्न सहयोग गर्ने ।
२) शिक्षकहरुलाई प्रविधिमा दक्ष बनाउन सहयोग गर्ने ।
३) शिक्षकहरुले पाउने सेवा सुविधामा कटौटी नगर्ने ।
४) अनलाईन कक्षाका नियमहरु वनाउने । नियमहरुलाई कडाइका साथ लागु गर्ने ।
५) विद्यालयबाट नै अनलाइन कक्षाहरु सञ्चालन गर्ने वातावरण तयार गर्ने ।
६) अभिभावकहरुको प्रतिक्रियाहरु लिने ।
७) परीक्षाहरु सञ्चालनको परम्परागत विधि परिर्वतन गर्ने । हरेक बिद्यार्थीको क्षमता मूल्यांकन गर्ने ( बोल्ने, लेख्ने, सहभागिता, कक्षामा उपस्थिति आदि)
८) अति विपन्न वर्गका छात्रछात्राहरुलाई इन्टरनेट र स्मार्ट मोबाइलका प्याकेजका लागि समन्यव गरिदिने ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप