कथाः न्याय मरेको देश


  • भीम राई
  • २०७८ जेठ २०

दोस्रो विश्वयुद्धको भयङ्कर डरलाग्दो समय थियो । युद्धउत्कर्षविन्दुमा पुगेको बेला सर्वहारा राईलाई टाउकोमा गोली लागेको थियो । उनी त्यसबेला ‘कोहीमा युद्ध’ मैदानमा जापानिज दुश्मनहरुसँग लडाइँँ लडिरहेका थिए । जापानिजहरुको गोलीबाट उनले कोहीमा युद्ध इम्फालमा वीरगति प्राप्त गरेका थिएँ । त्यो भीषण युद्धभूमीमा देखाएको बहादुरीताको कदर गर्दै उनलाई बेलायती सरकारले मरणोपरान्त ‘मिलिटरी क्रस’ तक्मा पनि प्रदान गरेको थियो ।
युद्धका कौशल नायक सर्वहारा राईको घर बतासे भज्याङ्गदेखि सुदुरपूर्व गाउँ रातमाटे भन्ने ठाउँमा पर्दथ्यो । उनी युद्धमा हुँदा घरमा उनको एउटा छोरा जन्मेका थिएँ । तर दुर्भाग्यवश छोरा जन्मनभन्दा केही महिनाअगाडि नै उनको मृत्यु भइसकेको थियो । त्यसैले बाबुले छोरा र छोराले बाबुको अनुहार एक अर्कामा देख्नपाएका थिएनन् । तैपनि युद्धमा वीरगति प्राप्त गरेका बाबुको सम्झनास्वरुप गाउँलेहरुले उनको छोराको नाम तिनै प्रख्यात युद्धभूमीको नाम ‘इम्फाल’ नै राखिदिएका थिएँ ।
दोस्रो विश्वयुद्धमा बाबुको मृत्यु भएपछि एकल आमाले धेरै दुःखका साथ इम्फाललाई पालनपोषण गरेर हुर्काएकी थिइन् । विधिको विडम्बना पनि अचम्मै मान्नुपर्दथ्यो । सर्वहाराले बिहे गरेपछि उनको श्रीमती गर्भवती र विधवा एउटै समयमा भएकी थिइन् । सर्वहाराको मृत्यु भएपछि उनको श्रीमतीको जीवन उजाड मरुभूमिमा परिणत भइसकेका थिएँ । अब त्यति लामो बाँकी जीवन एक्लै बिताउनुपर्ने भएकोले गाउँलेहरुले उनलाई अर्को विवाह गर्ने सल्लाह दिइरहेका थिएँ । तर सारा गाउँलेहरुको इच्छाविपरीत उनको श्रीमतीको विचार विल्कुल फरक रहेको थियो । आ…जे भयो, भयो ? आफ्नो भाग्यलाई दोष देखाउँदै श्रीमानको मृत्युपश्चात खेतीपाती गरेर भएपनि एकल जिन्दगी बिताउँछु भन्ने उनलाई लागिरहेको थियो ।
हुन त रातमाटे गाउँका सबै मानिसहरु आखिर खेतीपातीमा नै निर्भर थिएँ । अनि त्यसबेलासम्म त्यस गाउँमा आधुनिक विकासका पूर्वाधारहरु केही तयार भएका थिएनन् । गाउँमा यातायात, स्वास्थ, पानी र बिजुली बत्तीको केही सुविधा उपलब्ध थिएनन् । जसले गर्दा गाउँलेहरुको जिन्दगी ढुङ्गेयुगको जस्तै ज्यादै दुःखमय तरिकाले बितिरहेको थियो । अझै अन्य गाउँले मानिसहरुको तुलनामा इम्फालको आमाले अलिक बढी नै सास्ती खेपिरहेकी थिइन् किनभने उनको बाबुले पाँचपाथी जति बिऊ जाने धान खेतमात्र बाँकी छाडेर युद्धमा वीरगति प्राप्त गरेका थिए । जुन खेत थियो, त्यसमा हुने उब्जनीले आमा र छोरालाई बिहान–बेलुकीको मुख जोडन धौ धौ परिरहेको थियो ।
रातमाटे गाउँमा हरेक शिशिरपछि वसन्त ऋतु आउने गर्दथ्यो । त्यसरी नै गाउँको समय आफ्नै गतिमा बहदै गइरहेको थियो । केही वर्षपछि मानिसको जिन्दगीको विषयमा इम्फालले धेरै कुरोहरु बुझ्न थालिसकेको थियो । तर धेरै लामो समयसम्म घरमा बाबुको उपस्थिती नभएपछि, ‘आमाबाबु कहिले आउनु हुन्छ ? अनि कता जानुभएको छ ? मेरो सबै साथीहरुको बाबुहरु घरमा नै हुनहुन्छ ?’ छोराको मुखबाट त्यस्तै असंख्य प्रश्नहरु वर्षिरहेका हुन्थ्यो ।
‘छोरा अहिले तिमी अलिक सानो नै छौ । अनि अहिलेसम्म सारा कुरो बुझ्ने भइसकेको छैनौं । अर्को कुरा गाउँमा हामी एकदम गरिब छौं । त्यसैले बाबु पैसा कमाउन लाहुर जानुभएको छ । तर उहाँ जानुभएको निक्कै लामो समय भइसक्यो तैपनि अहिलेसम्म फिर्नुभएको छैन । सायद अब चाँडै आउनुहुन्छ होला ?’
अनायसै त्यसरी उत्पन्न हुने छोराको विविध प्रश्नहरुमा आमाले छोटो छोटो जवाफ फर्काइरहेकी हुन्थिन् । त्यति सानो उमेरका छोराले समय समयमा बाबुको विषयमा नानाभाती प्रश्नहरु गरेको सुनेर आमा बेलाबेलामा छक्क पर्ने गर्दथिन् । तर छोराको दिमागमा नकारात्मक असर नपरोस् भनेर बाबुको विषयमा छोरालाई त्यसबेलासम्म झुटो बोलिरहेकी थिइन् । हुन त उनलाई सदैव आमाको प्यार मिलिरहको थियो । र, उनी त्यसैमा अति खुशी देखिन्थे । रातमाटे गाउँमा हरेक दिनपछि रात र रातपछि दिन आउँदै जाँदै गरिरहेको थियो । तिनै रातदिनहरुले इम्फालको उमेर क्रमशः बढाउँदै लगिरहेको थियो । जतिजति चाँडो उनको उमेर बढ्दै जान्थ्यो । आमाले छोरोलाई प्राथमिक विद्यालयमा भर्ना गर्ने रहर गर्न थालेकी थिइन् ।
‘म बाबु घर आउनु भएपछि मात्र स्कुल जान्छु । किनभने घरमा यतिखेर बाख्रा गोठालो जाने मानिस कोही छैनन् ।’
नाबालक छोराले त्यस्तो जिद्दी कुरो गरेको सुनेर आमा छक्क पर्ने गर्दथिन् । उनीहरुको घरमा एउटा कोरली गाई र केही भेडा–बाख्राहरु पनि थिएँ । उनी सानो छँदा आमा सँगसँगै बाख्रा गोठालो जाने गर्दथ्यो । हुर्कदै गएर अलिक ठूलो भएपछि उनी एक्लै जङ्गलतिर गोठालो गर्न जाने भइसकेका थिएँ । गोठालो जाने मात्रै नभएर घरमा आमालाई हरेक काम गर्न सघाउने गर्न थालेका थिए तर स्कुल जाने रहरलाई चाँही सर्लक्कै मारिरहेका थिए ।
गाउँको समय आफ्नै गतिमा बित्दै जाँदै गयो । केही वर्षपछि इम्फालको उमेर दश–बाह्र वर्षको भयो । उनीहरुको घरनजिकै एकजना छिमेकी काकाको एउटा घर थियो । उनी एकबेलुकी तिनै छिमेकी काकाको घरमा पुग्यो । त्यहाँ पुगेर, ‘काका तपाई पैसा कमाउन किन विदेश जानु भएन ? हाम्रो बाबु पैसा कमाउन जानुभएको अहिलेसम्म घर फर्केर आउनुभएको छैन ? खै कुन्नि कहिले आउनुहुन्छ ? फेरि अहिलेसम्म चिट्ठीपत्र पनि केही आएको छैन । खै, उहाँ कस्तो देखिनुहुन्छ । मलाई उहाँसँग भेटन तीब्र रहर भइरहेको छ ?’ तीक्ष्ण दिमागको धनी इम्फालले तिरिरी काकाको अनुहारमा हेरयो रसानो स्वर गरेर बोल्यो ।
उनको मुखबाट अचानक आएको त्यस्तो प्रश्नहरुले काकाको छातीमा धनुषवाणले घोचिएको झै भान भयो । आ… इम्फाललाई ढिलो चाँडो सत्य कुरो भन्नैपर्छ भन्ने सोचेर काकाले लामो सास तानेर पुरै साहस बटुल्यो र सत्य कुरोलाई ओकल्न थाल्यो ।
‘बर्मा (हालको म्यानमार) मा दोस्रो विश्वयुद्धको भीषण संघर्ष चलिरहेको थियो । जापानिजहरु लडाइँ लड्दै कोहीमा भारतसम्म आइपुगेका थिएँ । तिनै कोहीमा युद्धमा तिम्रो बाबुले वीरता प्रदर्शन गर्दै वीरगति प्राप्त गरेको थियो । तिनै युद्धमा गोर्खाली सिपाहीहरुले देखाएका बहादुरिताको कदर गर्दै बेलायती सरकारले अगम सिंह राईलाई ‘भिक्टोरिया क्रस र तिम्रो बाबु सर्वहारा राईलाई ‘मिलिटरी क्रस’ तक्मा प्रदान गरेका थिएँ । त्यसबेला मृत्युवरण हुनुभएको बुबाको यादले तिम्रो मस्तिष्कमा आघात नपरोस् भनेर आमाले अहिलेसम्म तिमीलाई केहीकुरो बताएकी छैनन् । ती सबैकुरो मैले बताए भनेर आमालाई पनि नभन्नु है ? किनभने म तिम्रो एक्ली आमालाई दुःखी भएको कदापि हेर्न सक्दिनँ ।’

काकाको कुरो सुनेर इम्फाल केहीबेर मुर्छित बनिरहेता पनि युद्धमा बाबुले देखाउनुभएको बहादुरिताको असाध्यै कदर गरिरह्यो । तर त्यस्तो पराक्रमी बाबुको अनुहार हेर्न जिन्दगी भर पालेको आफ्नो रहर मरिसकेको रहेछ भन्ने उनलाई त्यसबेला बोध भयो । बेलकी पखको अँध्यारो छिपिँदै जाँदा पूर्व दिशामा चहकिलो जुन उदाउँदै गरेको थियो । तिनै जुनको शितल छहारीमुनि बसेर निक्कै लामो समयसम्म अनुहार अध्याँरो बनाइरह्यो ।
सम्भवतः त्यसबेला उनलाई जिन्दगीको सबैभन्दा धेरै दुःख महसुस भइरहेको थियो । त्यति मात्रै होइन, अचानक रिङ्टा चलेर टाउको दुखेझै भान भयो । उनी उभिरहेको जमिन माथिको सारा आकाश उनीमाथि नै खसेको जस्तो अनुभूति भइरह्यो । निश्चय नै एकदिन बाबु घरमा आउनु हुनेछ, त्यसपछि म स्कूल जान थाल्नेछु भन्ने अधूरो सपनाले एक्कासी बिदा लिइसकेको थियो । कहिले नफर्कने बाटो रोजिसक्नुभएको बाबुप्रतिको सुन्दर सपनाहरु शिशाझैं फुटेर चक्नाचुर भइसकेको थियो ।
अचानक भताभुङ्ग भएको एकभारी पिर बोकेर इम्फाल त्यस बेलुकी घर फक्र्यो । घरमा पुगेर आमासँग केही नबोली खाना खाएर थपक्कै आफ्नो कोठामा सुत्न पस्यो । त्यसपछि आमाको हृदयमा खाटा बसिसकेको पुरानो घाउलाई कोट्याउन उनले पटक्कै रहर गरेन । त्यसको सट्टामा उनको जीवनशैलीलाई बदल्न थाल्यो । अरु मानिसहरुको घरघरमा गएर केही काम गरिदिने सोच बनाउन थाल्यो । गाउँको समय बित्दै जाँदा गाउँलेहरुको खेतमा गारो लगाएर र खेत जोतेर भएपनि उनले थोरै पैसा आर्जन गर्न थालिसकेको थियो । र, दुःख गरेर कमाएको तिनै पैसा आमालाई दिएर घर चलाउन मद्दत गर्न थाल्यो ।
अर्को साल इम्फालको उमेर २० वर्ष पुगेको थियो । छिमेकी गाउँमा एउटा प्राथमिक विद्यालय थियो । त्यस विद्यालयमा काम गर्ने कार्यालय सहायकले राजीनामा दिएर मलेसियातिर सुइकुच्चा ठोकेको उनले चाल पायो । त्यस स्थानमा काम गर्नको लागि उनले विद्यालयमा पुगेर निवेदन दियो । तर विद्यालयका प्रधानाध्यापकले उनले जागिर पाउन सक्दैन भनेर घरमा फर्काइदिएँ ।
इम्फाल अति सोझो र इमान्दार थियो । तैपनि उनले त्यहाँ काम गर्ने अवसर पाउन सकेनन् । उनले किन जागिर पाएनन् भनेर प्रधानाध्यापकले केहीकुरो खुलाउन पनि चाहेनन् ।
हुन त त्यस गाउँमा किरातीको छोराछोरीलाई सरकारी सेवामा काम गर्न अदृश्य प्रतिबन्ध जस्तै थियो भन्ने कुरो उनले त्यसबेलासम्म बुझिसकेका थिएनन् । त्यसैकारण उनले स्कूलमा काम गर्न अवसर नपाएका भन्ने काकाबाट पछि चाल पाएका थिए ।
सोही वर्ष मौसम परिवर्तन भएर हिउँद लाग्यो । जिल्ला सदरमुकाममा धमाधम प्रहरीहरु भर्ना भइरहेको छ भन्ने कुरो इम्फालको कानसम्म पनि पुगेको थियो । प्रहरीमा भर्ती भएर राष्ट्रको सेवा गर्ने यो उचित अवसर हो भनेर उनी पनि भर्ती हुनको लागि तम्तयार हुन थाले ।
माघ १ गतेको दिन साथीहरु सँगसँगै ठाँटिएर उनी पनि प्रहरीमा भर्ती हुन जिल्ला सदरमुकाम पुगे । उनीहरु त्यहाँ पुग्नेबितिक्कै प्रहरी अधिकृतहरुले प्रहरी छनोट प्रकृया अगाडि बढाइहाल्यो । बिहान सबेरैदेखि सुरु भएको छनोटमा दिउँसोको दुई बजे नतिजा प्रकाशन भयो । उनका साथीहरु चारैजनाले प्रहरीमा जागिर पाएर पनि केश काट्न थालिहालेका थिएँ । लामो लामो केशले बिदा लिएपछि साथीहरुले प्रहरी बर्दी पहिरन गरेको बिरमाइलो दृश्य उनले लामो समयसम्म हेरिरहेका थिएँ । उनी सँगसँगै प्रहरीमा जागिर खान गएका साथीहरु चारैजनाले स्कूल पढेका थिएँ । जसले गर्दा उनीहरु सजिलै भर्ती हुनसके । तर दुर्भाग्यवश उनको सुस्वास्थ शरीर भएतापनि पढाइ नभएकोले उनी प्रहरीमा भर्ना हुन सकेनन् ।
हुन त त्यस गाउँको समयको हुरी पनि त्यही प्रकारले बहिरहेको थियो । चैत–वैशाखको खडेरीमा आगो लागेझै गाउँमा नश्लीय प्रवृतिको डढेलो एकनाशले लागिरहेकै थियो । किरातीहरुले खेतीपाती गरेर मात्र जीविकोपार्जन गर्नुपर्छ भन्ने कुरो सत्यनाराणको पूजा गर्दा पण्डितहरुले पटकपटक सुनाइरहने गर्दथे । राष्ट्रको सरकारी जागिर र राजनीति उनीहरुको पेशाभित्र पर्दैनन भनेर गाउँ–गाउँमा प्रचार–प्रसार भइरहेको हुन्थ्यो । ‘पढिगुनी के काम, हलोजोती खायो माम’ भनेर चतुरो पण्डितहरुले घरघरमा दरिद्र विचारका कथा सुनाइरहेका हुन्थे ।
प्रहरीमा भर्ती भएर राष्ट्रको सेवा गर्ने असफल प्रयासपछि बेलुकीपख इम्फाल घरमा पुगेको थियो । उनले घरमा पुगेर अब कसरी पैसा कमाउन सकिएला भनेर राम्ररी सोच्न थालेका थियो । किनभने दुःख गरी खानको लागि बाबुले गाउँमा प्रशस्त जग्गा–जमिन पनि राखिदिएका थिएनन् । स्थानीय क्षेत्रमा ज्यामीको काम गरेर मात्र परिवारमा आर्थिक उन्नति होला जस्तो उनलाई पटक्कै लागेको थिएन किनभने गाउँमा सुस्तसुस्त विकासका पूर्वाधारहरु थपिँदै गइरहेको थियो । अर्थशास्त्रको नियमअनुसार जतिजति विकासका लहरहरु बढ्दै जान्थ्यो, त्यतित्यति मानिसलाई पैसाको आवश्यकता पनि बढ्दै गइरहेको हुन्थ्यो ।
गाउँमा विकासको गति सँगसँगै हरेक दिन परिवारमा ऋणको भारी थपिदै जान थालेको थियो । उनी सँगसँगै हुर्केका आर्यनमूलका साथीहरु सेना, प्रहरी र सरकारी कर्मचारीमा जागिर खाएर पैसा कमाउन थालिसकेका थिए । विदेशी सेनामा भर्ती हुन नसकेका कैयन किराती युवाहरु धमाधम खाडी क्षेत्रमा काम गर्न जान थालेका थिएँ । उनलाई भने खाडी मुलुकमा काम गर्न जानको लागि पनि फलामको च्युँरा चपाएझैं कडा भइरहेको थियो किनभने त्यसतर्फ जानको लागि पनि लाखौं रुपैयाँ अग्रिम भुक्तानी गर्नुपर्दथ्यो । त्यति धेरै पैसाको जोहो गर्ने उनको पारिवारिक हैसियत थिएन । त्यसैले अरेबियन खाडी उनको रहरको विषय हुन सकिरहेको थिएन ।
कार्तिक महिना गएर मङ्सिर लागेको थियो । एक बेलुकी आमा छोराले दालभात र सब्जी मिठो मानीमानी सँगसँगै भोजन गरे । त्यसरी बेलुकीको खाना खाइसकेपछि अचानक घर बाहिरको मौसम आँधीबेहरीको साथसाथै पानी पर्ला जस्तो भएको थियो । तिनै बिरमाइलो मौसमको बाबजुद आमा केहीबेर जुठोभाँडो माझ्नमा ब्यस्त रहिन् । घर बाहिर प्रतिकुल मौसम भएतापनि छोराले सानो स्वरमा मुख खोलेर आमासँग बोल्न थाल्यो ।
‘आमा, अब मलाई केहि पैसा खोजिदिनुपरयो । म पनि कामको खोजीमा सहरतिर जानुपरयो ?’
‘छोरा, अहिले हाम्रो हालत एकदम पातलो छ । तिमीलाई थाहा भएकै कुरो हो, हामीसँग ऋण पाउने आधारहरु केही पनि छैन । यस गाउँमा बिनाधितो कसैले ऋण उपलब्ध गर्न चाहँदैनन् । अब म तिमीलाई खै के नै भनौं ? मैले कहाँदेखि ऋण खोजेर ल्याउनु सक्छु होला र ?’ मधूरो स्वरमा त्यति बोलिसकेर उनी खुत्रुक्कै गलेकी झै बनिरहिन् ।
छोराको कुरोले आमालाई रातभरी निन्द्रा लाग्न सकेन । भोली बिहान पहिलो प्रहरको भाले बास्यो । भाले बास्नेबितिक्कै उनी उठेर थोरै चिनी र दूधबिनाको चिया पकाएर पिउन थालिन् । त्यसबेलासम्म छोरा उठेकै थिएनन् । चिया पिइसकेपछि घन्द्रङ्गै मूलढोका खोलेर उनी घरदेखि बाहिर निस्किन र सुस्तरी हिँड्न थालिन् । मङ्सिर महिनाको शीत भर्खर भर्खरैसम्म परेर जमिन चिसो भइरहेको थियो । जमिनमा शीत पर्न रोकिनु र बिहानीको मिर्मिरे उज्यालो खस्न सँगसँगै भइरहेको थियो । तिनै शीतमा नाङ्गो खुट्टाले टेक्दा निकालेका चुरुमचुरुम आवाजसहित उनका पाइलाहरु क्रमशः अगाडि बढिरहेका थिए ।
छोरालाई परदेश पठाउनको लागि ऋणको खोजीमा निस्केका उनका अभागी पाइतालाहरु गाउँभरी डुलिरहेका थिएँ । अन्तमा केही उपाय नलागेपछि उनी शुक्रबारे बजारमा रहेको सुनाखरी सेभिङको कार्यालयमा पुगेकी थिइन् । सुनका गहना धरौटी राखेर मात्र ऋण निकाल्न मिल्ने त्यस कार्यालयमा पुगेर उनी केहीबेर दोमन भइरहिन् । उनको कानमा एकजोडी सुनको माडवारी झुन्डिरहेका थिए । तिनै माडवारीलाई बर्मा युद्धदेखि ल्याएको मायाको चिनो भनेर उनलाई बडो प्यारका साथ उनकी श्रीमानले दिएका थिए । आ… जेसुकैहोस्, अब यही माडवारी धरौटी राख्नुपरयो भनेर उनले मनमनै सोचिन् । समय बिहानकोठीक १० बजेको थियो । १० बज्ने बितिक्कै सुनाखरी कार्यालयभित्रदेखि घन्द्रङ्गै ढोका खोलिएको आवाज बाहिरसम्म आयो । कार्यालय खोलिने बित्तिकै उनी भित्र पसिन् र तिनै कानमा लगाइरहेकी माडवारीलाई धरौटी राखेर १० हजार रुपैयाँ कर्जा लिइन् ।
सुनाखरीदेखि ऋण लिएको पैसा बोकेर इम्फाल भोलि बिहानै सहरतिर लाग्यो । गाउँ छाडेर हिँडेको दुई दिनपछि उनी राजधानीको बसपार्कमा पुगेको थियो । जिन्दगीमा पहिलो चोटी राजधानी पुगेको हुनाले केहीबेर अन्योलमा परिरहेको थियो । खै अब के गर्ने होला ? भनेर उनको मनभित्र असंख्य हलचल उत्पन्न भएतापनि बसपार्कलाई एकचक्कर लगाएर मज्जाले रमिता हेरयो ।
त्यसपछि बसपार्कको पर कुनामा पुगेर उनका कदमहरु टक्क रोकिएका थिएँ । उनी त्यसबेला जहाँ उभिरहेका थिएँ, त्यसको ठीक सामुन्ने एउटा सानो होटल देखापरेको थियो । उनले जिन्दगीमा पहिलोचोटी दह्रो मन बनाएर होटलभित्र पस्ने आँट कस्यो । होटलभित्र पसेपछि सबैभन्दा कुनामा रहेको एउटा कुर्सीमा थपक्कै बस्यो र एककप चिया मागेर सिरिप सिरिप पिउन थाल्यो । एक्कैछिनमा चिया पिइसकेता पनि उनी निक्कै लामो समयसम्म त्यही बसिरहे । निकै लामो समयसम्म त्यहाँ बसिरहेको देखेर बेस्कन दाह्रीजुङ्गा पालेको एकजना अग्लो मानिस उनको नजिकै आयो ।
‘भाइ, कता जानेहो ?’ उनले पहिलो प्रश्न गरे ।
‘खै, हजुर पैसा कमाउनको लागि भनेर सहरतिर आएको हुँ ।’ गाउँले भएकोले सोझो उत्तर फर्कायो ।
‘होटलमा भाँडाकुँडा माझ्ने काम गर्न सक्छौ ?’ होटल मालिकले विस्तारै सोध्यो ।
‘जस्तो काम भएपनि गर्छु, हजुर ।’ खुशी हुँदै उनले जवाफ फर्कायो ।
‘यही होटलमा खान र बस्न दिन्छु । त्यसपछि महिना मरेपछि तलब पनि दिन्छु । यदी तिमी खुशी छौ भने भित्र पसेर काम गर्न सुरु गरे हुन्छ । किनभने यहाँभित्र काम गर्ने एकजना केटो गत महिना गाउँतिर गएको थियो । खै कुन्नि के भयो, ऊ फर्केर फेरि आउँदै आएन ।’ त्यति भनिसकेर होटल मालिक हतारहतार बाहिरतिर निस्किहाल्यो ।
इम्फाल एकदम इमान्दार युवक भएको हुनाले होटल मालिकको कुरोलाई विश्वास गरिहाल्यो । उनी सहर पस्दा साथमा एउटा झोला पनि बोकिहिँडेको थियो । उनको साथमा भएको झोलालाई एउटा कुनामा थन्क्यायो । र, होटलभित्र पसेर जुठो भाँडाहरु माझ्न सुरु गरिहाल्यो । बसपार्कमा जतिजति बसहरु आउँथ्यो । होटलमा खाना खाने मानिसहरुको भीड बढ्दै जान्थ्यो । उनी जस्तै त्यहाँ काम गर्ने अर्को एककजना भान्से र दुईजना फुच्चे बेयराहरु पनि थिएँ । बेयराहरुले मैला भाँडाकुँडाहरु जम्मा गरेर ल्याउँदै उनको छेऊमा थुपार्दथे । महिनावारी तलब पाउने आशामा उनले निरन्तर सफा गर्दैगर्दै लान्थे ।
दिनरात र हप्ता होटलमा भाँडाकुँडा माझेर बित्दै जान थाल्यो । हरेक बिहान सबेरै उठ्नु पथ्र्यो र बेलुकी अबेलासम्म काम गर्नु पर्थ्यो । जे जस्तो भएपनि महिना बितेपछि तलब पाइन्छ भनेर उनी मनमनै खुशीले फुरुङ्गै भइरहेको थियो । जे जति तलब पाएपनि सबै आमालाई पठाइदिन्छु भन्ने मनमनै सोचिरहेको थियो । उनले काम गर्न थालेको पुरै एक महिना भएको थियो । तर दुर्भाग्यवश उनले एकपैसा पनि तलब पाउन सकेका थिएन । एकदिन होटल मालिकलाई भेटेर विनम्रतापूर्वक उनले आफ्नो कुरो राखे । ‘तिम्रो असाध्यै राम्रो बानी रहेछ । र, एकदम मेहनती पनि रहेछौ, काम गर्दै जाऊ । म तिमीलाई राम्ररी चित्त बुझाउँनेछु,’ होटल मालिकले भन्यो ।
इम्फालले बिनापैसाको काम गरेको तीन महिना भइसकेको थियो । पटकपटक होटल मालिकलाई भेटेर उनले आफ्नो तलब माग्ने कोसिस गरयो । तर होटल मालिकले, ‘अहिले देशमा एकदम ठूलो आर्थिक मन्दी आएको छ । मैले तिमीहरुको तलब मात्रै होइन । हरेक महिना होटलको भाडा र घरको किस्ता पनि तिर्नैपर्छ । राम्रो विद्यालयमा छोराले अध्ययन गरिरहेको हुनाले उनको शुल्क एकदम धेरै महङ्गो छ । तिमी हामी सबैलाई थाहा भएको कुरो हो । होटल ब्यवसाय चौपट्ट नराम्रो भइरहेको छ । यदि तिमीलाई यहाँ काम गर्न मनपरेन भने अहिले नै छाडेर जान सक्छौ । जतासुकै गएपनि समय समयमा यहाँ आउँदै गर्नु । तर दुर्भाग्यवश म अहिले एकपैसा पनि दिन सक्ने हालतमा छैन ।’
मालिकको कुरो सुनेर उनलाई रुनु न हाँस्नु भयो । उनले अर्को दुईहप्तासम्म मालिकलाई सम्झाउने प्रयत्न गरयो । ‘मालिक, म असाध्यै दरिद्र परिवारमा हुर्केको मानिस हुँ । गाउँमा मेरी आमा एक्लै छिन् । जे जति सक्नु हुन्छ कृपया दिनुहोला ? म मेरी आमालाई पठाउँदै गर्नेछु । बाँकी रहेको तलब पछि जुन समयमा सक्नुहुन्छ त्यसैबेला दिनुहोला ?’ दुईहात जोडेर उनले सादर अनुरोध गरयो ।
तर होटल मालिकले, ‘यहाँ काम गर्न आउनेहरु सबैले त्यसै भन्छन् । म कुनै पनि हालतमा तिमीलाई एकपैसा दिने पक्षमा छैन । यदि मैले भनेको तिमीले मानेनौं भने होटलको सामान चोरेको भनेर प्रहरीलाई उजुरी गरिदिनेछु,’ भनेर उल्टै हप्काउन थाल्यो ।
तीन महिनासम्म सित्तैमा भाँडा माझेर अर्को हप्ता उनले सधैको लागि बसपार्क छेऊको होटल छाडेर जाने निधो गरयो । एउटा स्थानीय बस चढेर गौशाला स्टेसनसम्म पुग्यो । उनी बसदेखि झरेर हिँड्दै हिड्दै भगवान पशुपतिनाथको दर्शन गए । त्यसपछि धेरै लामो समयसम्म एक रफ्तारमा एक्लै बागमती किनारै किनार हिँडिरह्यो । त्यसरी एउटा गन्तब्यविहीन यात्रामा हिँडेका यात्रीको पाइलाहरुझैं उनका कदमहरु क्रमशः अगाडि बढिरहेको थियो । बेलुकीपख नदीको किनारमा रहेको सुकुम्बासीहरुको वस्तीमा पुगेर उनका कदमहरु अचानक रोकिएका थिएँ । उनी त्यसबेला जुन स्थानमा उभिरहेको थियो । त्यसको नजिकै घरबारविहीनहरुले लहरै निर्माण गरेका प्लास्टिकका स–सानाघरहरु देखापरेका थिए । तिनै एउटा घरको मालिकले उनलाई त्यहाँ भाँडामा बस्नको लागि स्थान दियो ।
देशको राजधानीमा रहेको प्लास्टिकका घरमा उनले पहिलो रात बितायो । त्यसबेला राजधानीमा बर्खा मौसम सुरु भइसकेको थियो । त्यसैले सहरमा रातभरी मेघ गर्जनु र पानी पर्नु बराबरी भइरहेको थियो । कालोमैलो हुँदै बागमती नदी उर्लदा निस्केका स्वा…आवाज उनको कानमा रातभरी नै गुन्जिरहेको थियो । खै किन हो किन उनलाई त्यसरात रातभरी निन्द्रा लाग्न सकेको थिएन । लामो समयसम्म उनले गाउँको याद गरिरह्यो र आफ्नी बुढी आमालाई सम्झिरह्यो । त्यसरातदेखि अर्काको घरमा बसेर काम नगर्ने उनले योजना बनाए । बरु एउटा पुरानो साइकल किन्ने र घुम्ती पसल गरेर जीविकोपार्जन गर्ने सोच बनाउन थाल्यो ।
इम्फालले गाउँदेखि ल्याएको पैसा त्यसबेलासम्म च्यापेर राखिरहेको थियो । केहीदिनपछि उनले एउटा पुरानो साइकल किन्यो । त्यसपछि हरेक दिन साइकल डोरयाउँदै कालिमाटी पुगेर एक बास्केट सुन्तला किनेर ल्याउन थाल्यो । तिनै सुन्तला बेच्दैबेच्दै गौशालासम्म आइपुग्दथ्यो र बेलुकी बागमती किनारमा रहेको सुकुम्बासी टोलमा पुगेर बास बस्ने गर्दथ्यो । त्यसबेलादेखि हरेक बिहान ४ बजे उठेर कालिमाटी र गौशाला ओहरदोहर गर्न थालेको थियो ।
एकदिन इम्फाल सदाझैं भण्डारखालको उकालोदेखि साइकल घचेटदै गौशाला गोलघुम्तीमा आइपुग्नै लागेको थियो । बिहानको समय त्यस्तै ११ बजेको हुनुपर्दछ । एकसुरमा उकालोमा साइकल घचेटिरहेको अवस्थामा एक्कासी उनको सामु एकजोडी महिला र पुरुष नगर प्रहरीहरु देखापरयो । उनी उकालीमा साइकल घचेटेर पसिनै पसिना हुँदै क्रमशः अगाडि बढिरहेको थियो । नगर प्रहरीहरुले एक्कैचोटी, ‘अनाधिकृत तरिकाले बाटो किनारमा सुन्तला बेच्छस्,’ भन्दै उनको सुन्तला भुइँभरी पोखेर छरपष्ट बनाइदियो । त्यसपछि उनीहरुले जबरजस्ती गर्दै इम्फालको साइकल र तराजु पनि कब्जा गर्न खोज्यो । उनीहरुसँग एकअर्कामा साईकल खोसाखोस गर्दा इम्फाल एक्कासी भुईँमा लड्न पुग्यो ।
दुईजना प्रहरीहरुमध्ये महिला प्रहरी झन कडा स्वभावकी थिइन् । इम्फाल जमिनमा लडिरहेको समयमा तिनै महिला प्रहरीले, ‘कानुन उल्लंघन गर्न तलाई लाज सरम लाग्दैन,’ भन्दै उनको फिलाफिलामा लात्तीले भकुर्न थालिहालिन् । अनि यस्तो कुपुत्रलाई कस्तो बाबुले जन्माएको होला भन्दै उनको अनुहारमा बेस्सरी थुकिदियो । महिला प्रहरीले उनको गालामा थुकेको भन्दा पनि बाबुलाई गाली गरेकोमा एकदम असह्य भएको थियो । इम्फाल, ‘मलाई जन्मदिने बहादुर मेरो बाबुको कुरो नगर,’ भन्दै रुँदैरुँदै जमिनदेखि उठ्यो । जमिनदेखि मुस्किलले उठेतापनि दुईजना प्रहरीहरुसामु उनले आफ्नो साइकललाई बचाउन सकेनन् । उनको केही उपाय नलागेपछि आफ्नो साइकलले बिदा लिएको दृश्य बिरमाइलो मान्दै निक्कै लामो समयसम्म हेरिरह्यो ।
नगर प्रहरीहरुले इम्फालका साइकल खोसेको घटना गौशाला गोलघुम्तीको किनारमा उभिरहेका मानिसहरुले नराम्रो मान्दै हेरिरहेका थिए । तिनै मानिसहरुमध्ये एकजना भलादमी जस्तो देखिनेले उनलाई थोरै सहानुभूति दिए । त्यसपछि तिनै मानिसले नजिकै रहेको नगरपालिकाको वडा कार्यालयमा गएर निवेदन गर्नसल्लाह दिए । उनको सल्लाह मानेर इम्फाल हिँड्दै हिँड्दै वडा कार्यालयमा पुग्यो । कार्यालयभित्र पसेपछि कुर्सीमा बसिरहेको एकजना मानिसलाई, ‘मालिक मलाई ठूलो अन्याय भयो । मेरो काम गरिखाने एउटा साइकल थियो, त्यो पनि प्रहरीहरुले खोसेर लगिदियो । साहुजीकोदेखि हरेकदिन उधारो सुन्तला ल्याएर बेच्ने गरेको थिएँ । सबै सुन्तला प्रहरीहरुले छरपष्ट गरेर बाटोभरी पोखिदियो । मेरो जिउँने आधार भनेको नै त्यो साइकल र सुन्तला मात्र थियो । महाशय, अब म कसरी बाँच्न सक्छु होला र ?’ रुँदैरुँदै उनलाई निवेदन गरे ।
घुम्ने कुर्सीमा आराम गरिरहेका वडाअध्यक्षले एकफन्को घुमेर उनको अनुहार राम्ररी हेरे । तर उनको मुखदेखि एक्कै शब्द फुत्केनन् । त्यसबेला देशमा कम्युनिष्टहरुको साम्यवादी सरकार थियो । र, तिनै कम्युनिष्ट पार्टीको प्रतिनिधित्व गरेर वडाध्यक्षले त्यसपटक चुनाव जितेका थिए । कम्युनिष्टहरु कति क्रुर, निर्दयी र निरङ्कुश हुन्छन् भन्ने कुरो एकजना अनपढ गाउँले ठिटाले कहिले जिन्दगीमा भोगेका थिएनन् ।
जबसम्म अध्यक्षको मुखबाट केही शब्दहरु निस्केनन्, तबसम्म उनले दुईहात जोडेर उनको सामु खडा भइरह्यो । धेरै लामो समयसम्म एकाध मनस्थिति बनाएर उभिरहेको देखेपछि, ‘तिमीले काम गरिखानको लागि केही अन्य उपाय पाउन सकेनौं ? त्यसैले सडक किनारमा सुन्तला बेच्यौ ? के तिमी पागल हौ ?’ बेस्सरी झोकिँदै उनी बोले । साम्यवादी शासकहरु श्रमिकहरुलाई सबैभन्दा बढी माया गर्ने मानिसहरु हुन् । त्यसैले विश्वभरीको श्रमिकहरु एकजुट हुनुपर्छ भन्ने भनाइ उनले सुनेको थियो । तर दरिद्र परिवारमा हुर्केको एकजना मेहनती श्रमिकले पागलको संज्ञा पाएपछि, ‘न्याय मरेको देश,’ भन्दै त्यहाँदेखि उनी बाहिर निस्क्यो ।
वडा कार्यालयदेखि बाहिर निस्केपछि एक बोतल पेट्रोल हातमा बोकेर सुन्तला पोखिएको गोलघुम्ती नजिकै पुगे । त्यसबेला गोलघुम्तीको नजिकै एकजना ट्राफिक प्रहरी फिरफिर सिट्टी बजाइरहेको थियो । उनले प्रहरीको सिट्ठीलाई कुनै वास्ता गरेन र सरासर अगाडि बढिरहे । तिनै ट्राफिक प्रहरीको नजिकै पुगेर, ‘मलाई यस धर्तीमा माया गर्ने मानिस कोहीपनि छैन रहेछ । अब म कसरी बाँच्न सक्छु होला र ?’ भन्दै उनले आफ्नो शरीरमा पहिले पेट्रोल छर्किए, त्यसपछि सलाई कोरेर आफ्नो शरीरमा आगो सल्काइदिए । ट्राफिक प्रहरीले आगोमा जलिरहेको मानिसलाई केही गर्न सकेनन् तर न्याय मरेको त्यस देशमा जिउँदै जलिरहेको मानिसलाई निरीह तरिकाले हेरिरहन मात्र सके ।
ठीक त्यहीबेला एकदम ठूल्ठूलो साइरन बजाउँदै त्यस देशको प्रधानमन्त्रीको सवारी त्यही सडक भएर आयो । गौशाला चोकको गोलघुम्तीमा एकजना जिउँदो मानिस जलिरहेको रमिता हेरिरहेका मानिसहरुको भीड प्रधानमन्त्रीको आँखामा पुगेर ठोकियो । जिउँदो मानिस जलिरहँदा कसैले सहयोग नगरेको देखेर भावुक प्रधानमन्त्री केहीबेर छक्क पर्नुभयो । प्रधानमन्त्रीले हतारहतार मोटरलाई रोक्न लगाउनुभयो । अनि मोटरदेखि झरेर हिँड्दै ट्राफिक प्रहरीको नजिकै पुग्नुभयो । त्यसपछि, ‘यहाँ के भएको हो ?’ भन्दै सुस्तरी प्रहरीलाई सोध्नुभयो ।
सम्माननिय प्रधानमन्त्री ज्यू, यो आगोमा जलिरहेको एउटा गरिब सुन्तला ब्यापारी हो । हरेकदिन कालिमाटीदेखि ऋणमा सुन्तला ठेगेर ल्याउँथ्यो र यस क्षेत्रमा बेचेर जीविकोपार्जन गर्दथ्यो । केटो अति मेहनती र इमान्दार पनि थियो । सुन्तला थोरै बिक्री भएको दिन हामीलाई सित्तैमा खान पनि दिन्थ्यो । तर आज बिहान नगरको घुम्ति प्रहरीहरुले उनको साईकल, बास्केट र तराजु खोसेर लगिदियो अनि माथिको आदेश बमोजिम प्रहरीहरुले उनको सुन्तलालाई खोसेर भुईंभरि पोखेर छरपष्ट बनाइदिएको थियो ।
त्यसपछि उनी न्यायको भीीख माग्न नजिकैको वडा कार्यलय गएको थियो । टुहुरो केटोलाई वडाध्यक्षले उल्टो हप्काएर पठाइदिएछन् । त्यसपछि मेरो नजिकै आएर, ‘हजुर म ज्यादै ठूलो अन्यायमा परें । अब मेरो बाँच्ने आधारहरु जम्मै सकिएर गएछ ।’ त्यसैले, ‘न्याय मरेको देश,’ भन्दै पेट्रोल छर्केर आफैले आत्मदाह गरेका हुन् । हुन त केटो ज्यादै गरिब थियो, त्यसैले जम्मै दुःख लुकायो । तर प्रधानमन्त्रीज्यू खान नपाएका गरिबहरु यहाँ हप्तैपछि त्यसरी मर्ने गरिरहेका छन् ।
प्रधानमन्त्रीले गौशाला चोकमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीको कुरो सुनेर निक्कै लामो समयसम्म टाउको हल्लाइरहनुभएको थियो ।
बुइपा, खोटाङ, हालः अक्सफोर्ड, बेलायत

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप