धरानको पुरानो बजारको रुप फेरिने

निषेधाज्ञामै सडक सिंगार्न जुटे स्थानीय, सडक चिटिक्कको हेर्नलायक बनाइने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ १९

धरानः धरानमा अहिले निषेधाज्ञा छ, यही निषेधाज्ञाको फाइदा उठाउँदै धरानको पुरानो बजारका स्थानीय सडक सिगार्न जुटेका छन् । अहिले त्यहाँ रंगरोगन कार्य जारी छ ।
धरानको पुरानो बजारमा रहेको सडकलाई चिटिक्कको र हेर्नलायकको बनाउनका लागि लागिपरेको वडा सदस्य मुकेश अग्रवालले जानकारी दिए । चिनियाँचोकदेखि सिंहदेवीसम्मको सडकको दुवैतर्फको पेटी र गमलामा रंगरोगन गरेर चिटिक्क पारिने उनले बताए । उनका अनुसार सडकमा गमला राखिने र गमलामा धुपीको विरुवा र फूल रोपिनेछ भने बिजुलीको पोलमा समेत रंगरोगन र सडकमा जेब्राक्रस निर्माण गरिनेछ ।
‘लकडाउनमा के कक्रक्क परेर बसिरहनु भनेर स्थानीय सबै जुटेका छन्’, उनले भने, ‘स्थानीय उपभोक्ताकै सक्रियतामा यस्तो काम भइरहेको छ, अहिले सडक सिंगार्न स्थानीयबासी आफैं पनि खटेका छन् ।’
वडा कार्यालयको ५ लाख रुपैयाँ बढी रकममा सो सडकमा रंगरोगन गरेर सिंगार्न लागिएको उनले जानकारी दिए । ‘अहिले उपभोक्ताले नै सबै काम गरिरहेका छन्’, उनले भने, ‘पछि वडा कार्यालयले बजेट विनियोजन गर्छ ।’
उनले सो सडकको दुवैतर्फको पेटीमा वेदर कोट लगाइएको जानकारी दिए । उनले सडकमा जेब्राक्रस, बिजुली पोलमा पनि वेदर कोट लगाइने जानकारी दिए । ‘वेदर कोट धेरै वर्ष टिक्छ भन्ने जानकारी आएपछि यो प्रयोग गरेका हौं’, उनले भने, ‘जेब्राक्रस पनि विराटनगरदेखि कामदार झिकाएर टिक्नेखालको बनाउने योजना छ ।’
निषेधाज्ञामा धमाधम काम भइरहेको र निषेधाज्ञाले नै केही सजिलो पनि भएको उनले बताए । ‘अरु बेला यसरी सडकको पेटीमा रंगरोगन गरेको भए सर्वसाधारणले धुलो झारिदिने, सर्वसाधारणको ओहोरदोहोरले काम सहजरुपमा हुन सक्ने थिएन तर अहिले निषेधाज्ञाले यति भएपनि फाइदा भएको छ, सफाचट तरिकाले सहजरुपमा रंगरोगन गर्न पाइएको छ’, वडा सदस्य अग्रवालले भने ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप