धरानले बीपी प्रतिष्ठानमा उपुकलपतिलगायत अन्य पदाधिकारी नियुक्ति गर्दा राजनीतिक नियुक्ति नगर्न दबाव दिने

‘सिष्टम’ र विधान नै परिवर्तनका लागि धरानेले दबाव दिऔंः नागरिक समाज, दल


  • शेखरनाथ जोगी
  • २०७८ जेठ १९

धरानः अबदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशकलगायत नियुक्ति गर्दा राजनीतिक नियुक्ति हुन नहुने बताइएको छ ।
धरानमा आयोजित छलफल कार्यक्रममा नागरिक समाज, राजनीतिक दलका नेता, पत्रकारहरुले सो कुरा बताएका हुन् । धरानका प्रा.डा. राजेन्द्र शर्माले राजनीतिक नियुक्तिकै कारण बीपी प्रतिष्ठान धराशायी बन्दै गएको बताए । उनले प्रतिष्ठानलाई ‘खन्युको रुख’ जस्तो रहेको र फल लाग्नेवित्तिकै टिप्दै लाने प्रथाको अन्य हुनुपर्नेमा जोड दिए । ‘प्रतिष्ठान खन्युको रुखजस्तो हो, सिधै राजनीतिक नियुक्ति गरिन्छ, फल लाग्छ, टिप्छ लिएर जान्छ तर धराने हेरेको हेरयै, खोइ धरानेको सहभागिता, कहिल्यै धरानका कोही व्यक्ति उपकुलपति बनेका छन् ?’ उनले प्रश्न गरे ।
उनले प्रतिष्ठानका पदाधिकारीले जहिल्यै भवनलगायत अन्य संरचनामा बनाइरहने तर आर्थिक स्थितिमा जर्जर भनिरहनुले प्रतिष्ठानमा भ्रष्टाचारको जरो त्यही छ भन्ने कुरा छर्लङ्ग भएको तर्क राखे । ‘सुनिरहनु, देखिरहनु भएको छ होला, प्रतिष्ठानमा ठूलाठूला भवन बन्छन्, अन्य संरचना बनिरहन्छन् तर आर्थिक हिसाबले धराशायी बन्यो भनिरहन्छन्, यस्तो दोधारे चरित्रले नै बुझे हुन्छ, प्रतिष्ठानमा भ्रष्टाचार, कमिसनको खेल जहिल्यै चलिरहन्छ र प्रतिष्ठान कहिल्यै सुध्रिदैन ।’
धरानका प्राध्यापक हरिप्रसाद दाहालले राजनीतिक हिसाबले उपकुलपतिको नियुक्ति हुनै नहुने बताए । उनले पनि राजनीतिक नियुक्तिकै कारण बीपी प्रतिष्ठान थाङ्थीलो बन्दै गएको बताए । उनले यस्तो नियुक्तिका लागि दबाव सिर्जना गर्नुपर्ने र विधान नै परिवर्तन हुनुपर्ने धारणा राखे । ‘अब धराने परिवर्तन हुनुपर्छ, उपकुलपतिलगायत अन्य महत्वपूर्ण विधान नै परिवर्तन गर्नुपर्छ भनेर दबाव दिनुपर्छ ।’
उनले राजनीतिक खेती मौलाएकै कारण बीपी नसुध्रिएको दावी गरे । ‘राजनीतिक दलबाट नियुक्त भएर यहाँ आउँछन्, ८ करोड खर्चेर आउँछन्, कम्तीमा १० करोड त कमाउनुपरयो नि’, उनी ठोकुवाका साथ भन्छन्, ‘यही भएर बीपी प्रतिष्ठान कहिल्यै नसुध्रिएको हो ।’ उनले प्रतिष्ठानमा राजनीतिक दलकै कर्मचारीलगायत सबै नियुक्ति हुने गरेको बताए । उनले सिष्टम नै परिवर्तनका लागि धरानेको दह्रो दबाव आवश्यक रहेको बताए । ‘जे मा पनि राजनीतिक नियुक्ति, हुँदाहुँदा ती राजनीतिक नियुक्ति भएकाले कर्मचारीसमेत राजनीतिक हिसाबले नै नियुक्त गर्छन्, यसका लागि धरानका राजनीतिक दलले पनि साथ दिएर ‘सिष्टम’ नै परिवर्तन गर्नुपर्छ ।’
उनले धरानमा बीपी प्रतिष्ठान खोलेको धेरै वर्ष भएपनि धरानका विद्यार्थी डाक्टर पढ्न बाहिर भौतारिरहनुपर्ने बाध्यता रहेको बताए । ‘यतिका वर्ष भयो बीपी प्रतिष्ठान खोलिएको तर धरानका विद्यार्थीका लागि एउटा सिट पनि आरक्षित छैन, के धरानका विद्यार्थी एमबिबिएसमा कम्पिटिसन गरेर पढ्न लायक छैनन् ?’ उनले प्रश्न गरे । उनले धराने जनताले नियुक्ति नपाएको र जागिर समेत नपाएको बताए ।
अन्य अस्पतालहरुले प्रतिष्ठानलाई टप्दै गएको र यो भने लथालिङ्ग खालको बनेको उनको भनाइ छ । ‘भन्नलाई त सहजै भनिदिन्छौं, एशियाकै ठूलो अस्पताल भनेर तर न उपचार राम्रो, न पढाइलेखाइ ।’
उनले धरानेहरु अन्यायकोविरुद्धमा लड्छन् भन्ने पहिला भएपनि अहिले तातो नलगाएको बताए । ‘राम्रा राम्रा सडक बन्नुमात्रै केही होइन’, उनले थपे, ‘मेरो हो भन्ने फिलिङ चाहिन्छ, प्रतिष्ठानभित्रै भिजेका राम्रा डाक्टर पनि छन् नि, त्यस्ता टिमलाई खोजेर प्रतिष्ठान छिराए पक्कै चेञ्ज हुन्छ, त्यसको लागि टिमवर्क चाहिन्छ, यसका लागि धरानका नागरिक समाज, सर्वसाधारणदेखि राजनीतिक दलसम्म तात्तिनुपर्छ, दलहरुले पनि केन्द्रीय नेताहरुलाई भनिरहनुपर्छ, अबदेखि राजनीतिक नियुक्ति बन्द गरौं ।’
नागरिक समाज तथा पूर्व नगर प्रमुख मनोजकुमार मेन्याङ्बोले दलहरुकै कारण प्रतिष्ठान धरासायी बनेको तर्क राखे । ‘दलहरु लुरुक्कै परेर प्रतिष्ठान पुग्ने र भर्ती, औषधि उपचारमा ल्याङल्याङ गर्न थालेपछि पदाधिकारीले त्यसै हेपिहाल्छन् नि’, उनले थपे, ‘यस्तो कार्य बन्द गर्दै प्रतिष्ठानलाई सिष्टममा ल्याउन धराने जाग्ने दिन आइसकेको र दलहरुको एकता देखेर आफू उत्साहित भएको छु ।’
धरानका अग्रज पत्रकार हर्ष सुब्बाले स्थापनाकालदेखि नै प्रतिष्ठानविरुद्धको आन्दोलन चलिरहेको बताउँछन् । ‘प्रतिष्ठान सुधारिनुपर्छलगायतका कुरा लिएर स्थापनाकालदेखि नै आन्दोलन भइरहेको नै देखिरहेको छु, लेखिरहेको छु’, उनले भने, ‘तर अब निर्णायक खालको आन्दोलन र दबाव दिइनुपर्छ ।’ उनले प्रतिष्ठान सुधार्नका लागि दल, नागरिक समाज र सर्वसाधारण नै लाग्नुपर्ने बताए । ‘अब सबै जाग्नुपर्छ’, उनले भने, ‘अब क्याटोगोरी छुट्याएर, यो यो कुरा गर्दाचाहिँ प्रतिष्ठान सुध्रिन्छ है भनेर लाग्नुपर्छ ।’
अग्रज पत्रकार भवानी बरालले प्रतिष्ठान सुधार्न नियुक्ति प्रक्रिया नै सुधारिनुपर्ने बताए । ‘साँच्चै प्रतिष्ठान सुधार्ने हो भने अबदेखि नियुक्ति प्रक्रियामा हुने सिष्टम नै परिवर्तन हुनुपर्छ ।’
नेकपा माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाले प्रतिष्ठानसँग हिसाबकिताब माग्ने हैसियत दलहरुले राख्नुपर्ने बताए । ‘अब दलहरुले राजनीतिक नियुक्तिमा खुशी हुने, राजनीतिक नियुक्तिमै रमाउने दिन गए’, उनले भने, ‘अब राजनीतिक नियुक्ति होइन, सिष्टम नै परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा सबै दल जुटौं ।’
नेकपा माओवादी केन्द्रकै अर्का नेता चोत्लुङले राजनीतिक दलहरुकै संरक्षणका कारण बीपी प्रतिष्ठान नसुध्रिएको धारणा राखे । ‘राजनीतिक नियुक्तिको बाटो नै रोक्ने के हो भनेर हामीले माथिसम्म दबाव सिर्जना गर्नु आजको आवश्यकता हो’, उनले भने, ‘यसका लागि दलहरुको एकता आवश्यक देखिइसकेको छ ।’
नेकपा एमाले (माधव समूह) का नेता नारायण सुवेदीले आफन्तलाई जागिर दिने प्रलोभन, आफन्तलाई उपचार गर्दा छुट दिने प्रलोभनमा धरानका दलहरु लोभिन नहुने बताए । ‘दलका नेताहरु नै प्रतिष्ठानमा कर्मचारी भर्ती गर्न, औषधिउपचारमा छुट गराउन लागिपरेको समेत देखेको छु’, उनले भने, ‘अब यस्तो प्रलोभनमा नलागौं, समग्र धरानेको हितमा लागौं ।’
कांग्रेसका नेता सुजेन्द्र तामाङले प्रतिष्ठान उपकुलपतिकै हुकुमी शैलीमा चलिरहेको धारणा राखे । ‘मैले अहिलेसम्म जे बुझेको छु, त्यो के हो भने अन्य पदाधिकारीलाई कसैले त्यहाँ गन्ने अवस्था छैन, सबै उपकुलपतिकै निर्देशन र हुकुमी शैलीमै काम बन्छ,’ उनले थपे, ‘यदि यसो हुन नसके प्रतिष्ठानका अन्य पदाधिकारीबीच झगडा लगाइदिने नराम्रो प्रचलन समेत छ ।’
नेपाली कांग्रेसका नेता श्याम पोख्रेलले राजनीतिक दलहरुले अहिलेसम्म प्रतिष्ठानबाट केही पनि सुविधा नलिएको ठोकुवा गरे । ‘म त भन्छु अहिलेसम्म प्रतिष्ठानबाट कांग्रेसले केही लिएको छैन’, उनले भने, ‘अबदेखि केही लिँदैन र सिष्टम परिवर्तनका पक्षमा कांग्रेस जहिल्यै लागिरहन्छ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप