डिग्री पढेकालेचाहिँ गोठालो बन्नुहुँदैन ?


  • कोशी अवाज
  • २०७८ जेठ १८

म डिग्री पास गरेको मान्छे । अहिले गाईपालनमा लागेको छु । धरान–१४ विजयपुरमै मैले शुरुमा एकवटा गाई पाल्न थालें, पछि दूधको माग बढ्न थालेपछि गाईपालन बढाउँदै लगें । अहिले मसँगै ७ वटा त माउ गाई छन् । गाई पालेर राम्रो आम्दानी गरिरहेको छु । मासिक ४० हजार रुपैयाँ त बसी बसी घरमै आउँछ ।
शैक्षिक प्रमाणपत्र बोकेर गल्ली–गल्ली चहार्दै थाकेकाहरु पनि मैले देखेको छु । गाउँमा कमाइ नहुँदा चुलो बल्न छोडेपछि झोलामा प्रमाणपत्र बोकेर शहर पस्ने धेरै छन् । तर पनि बेरोजगार हुन्छन् । कारण हो– सीप र धैर्यता नहुनु । जति पढ्यो त्यति बेरोजगारी हुँदै गइयो, पढ्दा लागेको खर्च उकास्छु भन्ने सोच्थें, पढाई सकेपछि जागिर नपाउँदा झन् पीडा भएको छ भन्ने युवा जमात बाक्लिँदो छ । हाम्रो शिक्षा नै बेरोजगार बनाउने छ । क्याम्पसपढेर पनि जागिर पाइँदैन । युवा जमात बेरोजगार हुन पढिए जस्तो लाग्छ भन्ने बढेका छन् ।
शहरका गल्ली–गल्ली चहार्दा जागिर नभेटेपछि धेरै निराश बन्ने गरेका छन् । स्वदेशमै केही गर्नुपर्छ भनेर विदेश गइएन, अब त जागिर पाउने आशासमेत मरयो अब विदेशै हान्निुपर्ला भन्ने पनि छन् । म नपढेको भए यति टेन्सन हुन्थेन भन्छन् । स–सानो काम गरेर भएपनि जीवन चलाउन सक्थें भन्ने पनि छन् ।
डिग्री पास गरेर लामो समयदेखि शैक्षिक क्षेत्रमा आबद्ध पनि भएँ । विभिन्न संगठनमा समेत रहेर काम गर्दै आएँ । यो शिक्षित व्यक्तिले नै अपनाउनु पर्ने पेशा हो तर हामी अधिकांश मान्छेहरूको बुझाइ फरक पर्न गयो र परिणामस्वरूप अहिले अर्काको देशमा गएर दिनरात दुःख गर्नुपर्ने बिडम्बना आइलाग्यो । मैले एउटा वैदेशिक अध्ययनका लागि भनेर विद्यार्थीहरूका लागि कन्सल्टेन्सी समेत खोलेर त्यसबाट सेवा प्रदान गरें ।
अहिले म प्लस टु मा समेत अध्यापनरत छु । नेपालमा कृषि पेशामा आबद्ध छ भनेर भनिन्छ तर कुल ग्राहस्थ उत्पादनमा चाहिँ रेमिट्यान्सको योगदान ३० प्रतिशत छ भन्छौं, त्यसैगरी नेपालमा बेरोजगारीको समस्या छ भनेर एकातिरका मिडियाहरू लागिरहेको स्थिति छ भने अर्काेतिर कृषि क्षेत्रमा कामको अभाव पनि त्यत्तिकै नै छ । यो सबै लेबर मेनपावरको कमीले गर्दा भएको हो ।
अर्काथरी विद्वानहरू छन् र भन्ने गर्छन् कि विदेश नजाने हो भने नेपालीले भात खान पाउँदैनन् तर म उहाँहरूसँग पूर्ण असहमत जनाउँछु । हामीले यहीँ बसेर काम गर्ने हो भने आधा भन्दा बढी कुल ग्राहस्थ उत्पादनमा योगदान गर्न सकिन्छ । यतिबेला राज्यले पनि यो क्षेत्रलाई लगानी गरिरहेको छ । जस्तो सब्सिटी लोन दिनेदेखि लिएर कृषिजन्य उपकरणमा भन्सार छुट समेत ल्याइरहेको छ । त्यसमा केही सीमित पहुँचवाला व्यक्तिले दुरुपयोग गरिरहेका होलान् र नीतिगत रुपमा पनि केही कमजोरी हुनसक्छन् । यद्यपि डिग्री गरेर यो पेशामा लाग्नुहुन्न भन्ने चाहिँ एकदमै तल्लो स्तरको सोच हो ।
अहिले पनि कतारमा गएर बेल्चा हान्नुपर्ने अवस्था छ, यो चाहिँ हामी आफैंले गर्दा सिर्जना भएको हो । यस्तो सोच पलाउने डिग्री पढेका भन्दा पनि गेसपेपर पढेकाहरूको हो । यदि साँच्चै डिग्री पढेका र नेपालको अर्थ व्यवस्था राम्रोसँग बुझेका भए त्यसो भन्दैन थिए । यदि उनीहरूले कृषि स्थानान्तरण सिद्धान्तमात्रै पनि पढेर बुझेका थिए भने पनि त्यसो भन्ने स्थितिमा पुग्दैनन् थिए । अहिलेको अमेरिका, बेलायत, अष्ट्रेलिया पनि त्यत्तिकै त्यो अवस्थामा पुगेका होइनन् र अझै पनि अष्ट्रेलियामा भेडापालन गरिरहेको अवस्था छ ।
अहिले आफूले अष्ट्रेलिया पठाएका विद्यार्थीहरूलाई पनि पढाइ सकेर आफ्नै देश फर्कन सल्लाह दिइरहेको पनि छु । यही व्यवसायबाट कृषि अनुसन्धान केन्द्र स्थापना गर्ने पनि लक्ष्य छ । नेपाल अहिले पनि हामी कृषि प्रधान देश हो भनेर चिन्छौं र त्यसरी नै हामीले पनि पढाउँदै आइरहेका छौं तर त्यो अनुसारको उपलब्धि खोइ त ?
हो यही गलत अवधारणालाई चिर्नको लागि यो कामको सुरुवात गरेको हो । आजसम्म पनि नेपालले पानीदेखि लिएर दूग्धजन्य उत्पादनहरू विदेशबाट आयात गरिरहेको छ । दूग्धजन्य उत्पादनहरू मात्रै नभएर गाईगोरू बाँध्ने दाम्लोसम्म हामीले आयात गरिरहेका छौं । जबकी हाम्रै बारीमा जुट त्यत्तिकै खेर गइरहेको छ । त्यसैगरी अहिले हामीले गाईका स्थानीय प्रजाति र यहाँ भएका मकैका बिउका प्रजातिहरू पनि विदेशबाट आयातित गरिरहेका छौै । तर हामी आफैंले उत्पादन गरेर निर्यात गरी पर्याप्त आम्दानी गर्ने पहुँच हामीसँगै छ । तसर्थ हामीसँग कृषि भन्दा अरु विकल्प केही छैन र यसैबाट प्रति व्यक्ति आय बढाउन सकिन्छ । नेपालमा भने यत्रो दूध दूग्धजन्य उत्पादनहरू त्यसै खेर गइरहेको छ ।
काम गर्नको लागि पर्याप्त विकल्पहरू छन् तर क्षमता अभावमा मानिसहरू काम पाइन भन्ने गर्दछन् र पशुपालन र कृषि व्यवसायमा काम गर्न लजाउने गर्दछन् । जस्तैः अहिले इलाममा चिया खेतीका लागि काम गर्न सीप र जाँगर भएका जो कोहीलाई पनि काम अभाव भइरहेको छ । अहिले यहीँ पनि सीप भएको मान्छेलाई काम गर्ने अवसर छ तर मान्छे पाइँदैन । धरान जस्तो बजार क्षेत्र भएको ठाउँमा त्यति हरियो घाँस खान नपाएतापनि पराल, दालको भुसी र चोकरको खाएको भरमा एउटा गाईले औसतमा १५ देखि २० लिटर जति दूध दिने गर्दछ । र एउटा गाईबाट औसतमा ५–७ हजार नाफा गर्न सकिन्छ र २० ओटा जति गाई पाल्ने हो भने नेट प्रोफिट रू. १ लाख भन्दा बढी बचत गर्न सकिन्छ ।
मैले एकजना मानिसलाई सरकारले तोकेभन्दा दोब्बर स्यालरी दिएर रोजगार पनि दिँदै आइरहेको छु । आफू विदेश गएको दृष्टान्त दिँदै विदेश जानेहरू अधिकांश नेपालमा काम नगर्ने र विदेशमा गएर सरकारलाई दोष दिने, देशमा काम गर्ने अवसर पाइएन भन्ने र माइतीघर मण्डलामा गएर बेरोजगारी भत्ताको लागि आन्दोलन गर्ने हुन् भन्दै ४० देखि ५० हजारकै लागि विदेश जानु पर्दैन । एक कठ्ठा जग्गा भाडामा लिएर पनि केही गाईहरू पालेर मनग्यै आम्दानी गरि परीवारसँग खुसीसाथ बस्न सकिन्छ र त्यो खुसीको कुनै पनि मूल्यसँग तुलना गर्न सकिँदैन ।
नेपालको शिक्षा प्राणाली समेत सैद्धान्तिक प्रणालीमा मात्रै आधारित भएको र धेरैजसो यो क्षेत्रका मेनपावरहरू बेरोजगारी रहनुपरेको भन्दै सबैजनालाई आफ्नो ज्ञान भएको क्षेत्रमा लगानी आग्रह गर्दै तुरुन्तै नाफा नखोजेर आफूसँग केही समयको धैर्यतासहित काम गर्नुपर्दछ । डिग्री पास गरेरै पनि गाईपालन, बाख्रापालन, भैंसीपालन, बंगुरपालन, कुखुरापालनलगायत अन्य व्यवसाय अपनाउन सकिन्छ । हामी विदेशकै भर परेर मात्रै हुँदैन । के डिग्री पढेकालेचाहिँ गोठालो बन्नुहुँदैन र ?
नेपालमा वर्षेनी लाखौं विद्यार्थी एसएलसीदेखि उच्च शिक्षाको पढाइ सक्ने गरेको सरकारी आँकडा छ । उनीहरुमध्ये केहीले अपेक्षाअनुरुपको काम पाउँछन् । बाँकी सबै बेरोजगारी बजारका हिस्सा बन्न थाल्छन् । उच्च शिक्षा हासिल गरेका उनीहरुले न त बाबुबाजेको बिँडो सम्हाल्न गाउँ फर्कने आँट गर्न सकेका छन्, न अवसर नै पाउँछन् । पढेलेखेको केटो जागिर पाउँला भन्ने विश्वास गरेका हुन्छन्, देशको बेरोजगारीले उल्टै पिरोल्ने गरेको उनीहरु बताउँछन् ।
हाम्रो शिक्षा पद्दति नै यस्तै छ । प्रमाणपत्र पढे पनि, डिग्री नै सकेपनि म चाहिँ त्यसलाई गेसपेपर शिक्षा भन्छु । विशेषतः नेपालको शैक्षिक प्रणाली अनुत्पादक नै छ । शैक्षिक क्षेत्रमा बेरोजगारी बढेको बताउँछन् । युवाहरु नेपालमा कुनै सीप नलागेपछि पढाई सक्नेवित्तिकै विदेश हानिन्छन् ।
नेपालको शिक्षा प्रणाली व्यहारिक हुन नसक्दा शिक्षित जनशक्ति पनि बेरोजगार बन्दै गएको पक्कै हो । भनौं बेरोजगारी समस्या विकराल छ । देशको शिक्षा पद्धति व्यवहारिक र व्यसायिक हुन नसक्दा वर्षेनी बेरोजगारी दर बढ्दै गएकै हो । युवा शक्तिलाई स्वरोजगार र अवसर प्रदान गर्न शिक्षा प्रणाली र स्थायित्वको वातावरण बनाइनुपर्छ । शिक्षाको जग बलियो भयो भने राम्रो जनशक्ति आफंै तयार हुन्छ । त्यसको लागि वर्तमान शिक्षा क्षेत्रका कमजोरी सुधार गर्नुपर्छ । पढेपछि जागिर खानुपर्छ भन्ने ज्ञान दिइयो तर स्वरोजगारको ज्ञान दिइएन, त्यसले गर्दा समस्या देखिएको हो । धरान-१४ का घिमिरे धरान उच्चमा अध्यापनरत छन् । (कुराकानीमा आधारित)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप