धरानमा भेटियो ‘एक्स्ट्रा’ महाबास्सा सरकार !

अचम्मः गोजीभरी डटपेन, टोपीभरी चन्द्र, सूर्य (भिडिओ)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ ९

धरानः देश राजनीतिक गञ्जागोलमा फँसेको निकै समय भइसकेको छ । अहिले त झन गञ्जागोल बढेर नै गएको छ । यतिबेलै भानुचोकमा भेटियो– एक्लो सरकार ।
धरानको भानुचोकमा निषेधाज्ञाको पहिलो दिन एकजना अनौठो मानिस यताउता गर्दै थिए । तस्वीर खिचिरहेको बेला उनी एक्कासी छेऊमै झुल्किए अनि भने– मेरो पनि भिडियो खिचिदिनुपरयो, मेरो कुरा पनि निकालिदिनुपरयो ।
भिडियो खिच्ने प्रयत्न गरियो । उनले बोलीहाले– म महाबास्सा सरकार हुँ । अब देश मेरो हुकुममा चल्छ । मेरो कानुन लाग्छ । कसरी आफैले बनाएको सरकार हो यो ? उनको उत्तर थियो– आफैले बनाएको होइन, मलाई भगवानले बनाइदिएको हो- महाबास्सा ।
गोजीभरीका डटपेन नै डटपेन, टोपीभरी चन्द्र, सूर्य अंकित धातुका सामग्री । सधैंभरी डटपेन भिरिरहनुपर्ने हुनाले उनी यस्तो भेषमा देखिएको झन्डै आधा उमेर नै बितिसकेको बताउँछन् । विवाह नगरेका पर्शुराम चाम्लिङ नाम गरेका उनको घर संखुवासभाको खाँदबारी भएको उनी बताउँछन् । उनको जन्मघर खाँदबारी भएपनि उनी मोरङको गछियामा बसोबास गर्दै आएको बताउँछन् ।
उनले लगभग २० वटा डटपेन बोकेका छन् । टाउकोमा टोपी, टोपीभरी सूर्य, चन्द्रमाको तस्वीर । डटपेन पुरानो भए अथवा हराएर गए फेरि अर्को डटपेन फेरेर डटपेनकै तक्मा (पद र मेडल) प्रदान गर्नु उनको काम नै हो । डटपेन बोक्नुको अर्थ पनि उनले खुलाए । यसमा महाबास्सा सरकारको पद र मेडल राखिएको बताउँछन् । उनले डटपेनमै पद र मेडल राखेको बताउँदै डटपेनबारे बेलिविस्तार लगाए–सिपाही, लेफनाइट, हवल्दार, जमदार, मेजर, सुब्बा, सुविदार, लेफटेन, क्याप्टेन, कर्नेल, जर्नेल, मन्त्री, राजा, गुल्मी, बास्सा, महाबास्सा राखेको छु ।
मागेको रकमले गाडीमा भाडा तिर्दै पूर्वभर डुलिरहने उनको कुरा कसैले मान्दैन रे । ‘म महाबास्सा सरकार त हुँ तर कसैले मान्दैन’, उनले भने, ‘तर मान्छन् होला भनेर आशैआशमा हिँडिरहेको छु ।’
६९ वर्षमा पाइला टेकेका उनी डटपेन भिरेर हिँडेकै ३९ वर्ष पुगिसकेको बताउँछन् । उनले बास्सा सरकारको काम के के हुन्छ भनेर जनताले नबुझेको पनि बताए । ‘म अहिले भीख मागेर हिँड्दैछु’, उनले खुलाए, ‘म भीख मागेर मात्रै हिँडेको देख्छ मान्छेले तर म सबै विचार गर्दै हिँडेको हुन्छु, बास्सा सरकारको काम के के हुन्छ मान्छेले बुझेकै छैन ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप