आइसियुमा पुगेर फर्किएका धरानका दिमन

भन्छन्- चिकित्सकको प्रत्यक्ष निगरानीपछि निको भएँ, योगा, ध्यान र प्रशस्त झोल खानेकुरा खाऔं (भिडिओ)


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ ७

म धरान-१ मा बस्छु । मलाई वैशाख १५ गते कोभिड लागेको थियो । कोभिडको दोस्रो खोप लगाएको थिएँ । त्यतिबेला मलाई चिसोको एलर्जीजस्तो स्याँ स्याँ भएजस्तो भयो । ज्वरो आउने, जिउ दुख्ने लक्षण देखिएको थियो ।
चिकित्सककहाँ परीक्षणका लागि पुगें । त्यतिबेला चिकित्सकले कोरोना नै हो भनेर भन्नुभयो । १० वटा मेडिसिन लेखिदिनुभयो । विराटनगरमा थिएँ । तीनदिन घरमै बसें । मसँगै छोरा, श्रीमतीको पनि पोजेटिभ देखियो । त्यसपछि म धरान आएँ । धरानमा एकदिन बसिसकेपछि अक्सिजन लेवल घट्यो । अक्सिजन लेवल घटेर ८६ पुग्यो । त्यसपछि म बीपी प्रतिष्ठान धरान भर्ना भएँ ।
दुईदिन बसिसकेपछि पनि मेरो समस्या बढ्दै गयो । नर्मल वार्डमा भर्ना भएको थिएँ । सास फेर्न गाह्रो हुँदै गयो । खोक्दाखोक्दा ब्लड पनि निस्किन थाल्यो । त्यसपछि आइसियुमा सार्न खोजियो तर त्यहाँ बेड अभाव भएपछि साथीभाइको सहयोगले विराट मेडिकल हस्पिटल विराटनगरमा लगियो । त्यहाँका चिकित्सक, नर्स आएर मलाई आइसियुमा राखियो । औषधि चलाएर आइसियुमा राखियो । चिकित्सकको प्रत्यक्ष निगरानीपछि दुई तीनदिनपछि मलाई केही सहज महसुस भयो ।
चिकित्सकले घोप्टो परेर सुत्नुपर्ने, फोक्सो र सास प्रश्वाससम्बन्धी ‘एक्सरसाइज’ गर्नुपर्ने र प्रशस्त झोल खानेकुरा खानुपर्ने सुझाइयो । मैले पनि प्रयास जारी राखें । चिकित्सकले सुझाएका कुराहरु ‘फलो’ गर्न थालें । साथै मैले योगा, ध्यानलाई पनि ध्यान दिँदै जाँदा स्वास्थ्यमा पनि सुधार हुँदै गयो । ८–९ दिनमा म बिना अक्सिजन पनि बस्न सक्ने भएँ ।
त्यसपछि नर्मल वार्डमा सारियो । तीनदिन नर्मल वार्डमा बसिसकेपछि चिकित्सकको प्रत्यक्ष निगरानीमा मलाई हेरचाह भयो । प्रत्यक्ष हेरचाहले नै मलाई बाँच्छु भन्ने आशा जगायो । तीनदिनपछि पिसिआर परीक्षण भयो, मेरो नेगेटिभ रिपोर्ट आएपछि म घर फिरें । अहिले पनि मैले योगा, ध्यान, प्रशस्त झोल खानेकुराहरु खाइरहेको छु । श्रेष्ठ प्राइम बैंक प्रदेश १ का प्रमुख हुन् ।
(पत्रकार आनन्द श्रेष्ठसँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप