खोटाङमै दिइन्छ यस्तो शिक्षा

विद्यार्थी तीन घण्टा कक्षामा, नौ घण्टा खेतबारीमा हुन्छन्


  • कञ्चन न्यौपाने
  • २०७८ जेठ ४

धरानः कोभिड महामारीले थलिएकोमध्येमा पर्छ शिक्षा क्षेत्र । महामारी र निशेषाज्ञाका कारण अहिले अधिकांश शिक्षण संस्था बन्द छन् । अनलाइनबाटै पढ्ने–पढाउने काम चलिरहेको छ ।
यही अनलाइन शिक्षा पनि ग्रामीण क्षेत्र, प्रविधिको पहुँच कम भएका तथा कलिला बालबालिकाका लागि त्यति प्रभावकारी भइरहेको छैन । यसर्थ लकडाउनका कारण अधिकांश ग्रामीण तथा बालबालिकाको सिकाइ प्रभावित भइरहेको छ ।
यो हो औपचारिक र नियमित विद्यालयीय शिक्षाको प्रसंग । जहाँ विद्यार्थी सैद्धान्तिक शिक्षा आर्जन गर्छन् ।

तर, यसभन्दा फरक तरिकाले व्यवहारिक शिक्षा पनि आर्जन गर्न सकिन्छ । बरु यो थप सिपयुक्त र प्रभावकारी पनि हुन्छ ।
देशभरका सबै शिक्षण संस्थाले भागेको साझा नियतिका बीच खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) ले पृथक अभ्यास अपनाएको छ । यही कारण कोभिड १९ को महामारीका बीच पनि त्यहाँको पठनपाठन र शैक्षिक तालिका नियमित छ ।
बाहिर निस्किन खोज्यो निशेषाज्ञा छ, कोभिड संक्रमणको डरले साथीहरु मिलेर घुम्न खेल्न बर्जित छ, रमाउँदै खेल्ने पढ्ने उमेरमा मोबाइल, कम्प्युटर, ल्यापटप अघि बसेर आँखा मिच्दै अनलाइन कक्षा लिन मन पटक्कै मन छैन, गृहकार्यको यातना उस्तै । यो समयमा बालबच्चाहरु यस्तै पीडादायी अवस्थाबाट गुज्रिरहेका छन् ।
तर, शुभममा फाउन्डेसनले पृथक शिक्षण विधि अपनाएको छ । यहाँ १० कक्षासम्मको पढाइ हुन्छ । विद्यार्थीहरू साविकझैं बिहान ५ बजे उठ्छन् र अध्ययन तथा कृषिकर्ममा लाग्छन् । बिहानदेखि बेलुकीसम्म कक्षाकोठा र खेतबारीमा कृषिकर्ममा व्यस्त र मस्त छन् शुभमका विद्यार्थीहरू ।
चामल कहाँ फल्छ भन्दा बोरामा भन्ने उत्तर दिने जस्तो भयानक शहरी परिवेशका हुर्केका बालबालिकाभन्दा अत्यन्तै पृथक परिवेशमा यहाँका बालबालिकालाई प्रशिक्षित गरिन्छ । ताकि उनीहरुले शिक्षासँगै आफ्नो माटो चिनुन्, उत्पादन चिनुन् अनि श्रम चिनुन् ।

विद्यालयले विद्यार्थीहरुलाई सीधै श्रमसँग जोडेको छ । विद्यार्थीहरु कक्षाभित्र कुँजिएर बस्दैनन् न त घरमा खेल्न छाडेर अनलाइनमा झुम्मिन्छन् । विद्यालयका सञ्चालक तथा कृषि वैज्ञानिक मदन राईका अनुसार गएको वर्षको लकडाउनमा सवा करोड लगानीमा विद्यार्थीहरूकै पसिनाले भवन निर्माण भएको छ । सो भवनमा आठ कोठाको होटल तयारी अवस्थामा छ । साथै रेष्टुरेन्ट र अन्य पसल पनि सञ्चालनमा ल्याउने तयारी छ । आगामी कात्तिकसम्म सञ्चालनमा ल्याइसक्ने योजना राई सुनाउँछन् । यो त भयो पोहोर सालको लकडाउनको उपलब्धी ।
गत वर्षझैं करिब एक महिनापछि यसपटक पनि सरकारले निशेषाज्ञा घोषणा गरयो । निशेषाज्ञाका कारण विद्यार्थी चिन्तित छन् । तर, शुभमका विद्यार्थीलाई कुनै सुर्ता छैन । बरु यो वर्ष त शुभमका विद्यार्थी गत वर्ष भन्दा तीन गुणा ठूलो भवन निर्माणमा जुटेका छन् । राईका अनुसार भवन निर्माणका लागि अहिले जग हाल्ने काम सकियो ।
विद्यालयमा दार्चुलादेखि ताप्लेजुङसम्मका ५२ जिल्लाका विदार्थी अध्ययनरत छन् । सबै गरेर करिव डेढ सय विद्यार्थी छन् । उनीहरूमध्ये केही घर गएका थिए । फर्किन पाएनन् । ‘चैत महिनाको परिक्षा सकिएपछि घर पठाएका थियौं । वैशाखमा लकडाउन भएपछि उतै रोकिए,’ राई भन्छन्, ‘उनीहरूवाहेक सबै विद्यार्थी फिल्डमा छन् ।’
शुभमको अहिले बन्दै गरेको भवनमा करिब पाँच सय जनालाई एकै पटक खाना खुवाउन मिल्ने भान्छा घर, विज्ञान प्रविधि प्रयोगशाला र गल्र्स होस्टेल बन्दै छ । आगामी भदौसम्ममा भवनको निर्माण कार्य सक्ने उद्देश्य छ ।

‘त्यसपछि हाम्रा विद्यार्थीले विज्ञान, प्रविधि, डाटा जेनेरसन, अर्थशास्त्र सबै शुभममै सिक्छन्,’ गर्वका साथ राई भन्छन् । कोरोना भाइरसबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्ने विषय त हामीले सुन्दै आएका छौं । यसको लागि शारीरिक कसरत नै मुख्य औषधी मान्ने राईका विद्यालयमा बिहान ७ देखि बेलुकी ७ बजेसम्म विद्यार्थीहरू फिल्डमै हुन्छन् ।
विहान ११ देखि २ बजेसम्म मात्रै कक्षा भित्र पढाइ हुन्छ । बाँकी समय विद्यार्थीहरु खेतबारीमै बिताउँछन् । विद्यालयमा कृषिका विभिन्न विभाग छन् । यतिबेला शुभमका विद्यार्थी वनस्पति कृषिमा ३०, पशुपन्छी माछा कृषिमा २०, उद्योगमा ५ र निर्माणमा ३०, भान्छामा १५ जना र अन्य विद्यार्थी भने चाहिँ फूलबारीको काममा व्यस्त छन् ।
त्यहाँ पढ्ने विद्यार्थीहरू एकै विभागमा लामो समय काम गर्न पाउँदैनन् । विभाग परिवर्तन भइरहन्छ । ताकि विद्यार्थीहरु सबै क्षेत्रमा निपूर्ण होउन् । यसका लागि विभागीय रोटेसन गरिन्छ ।

एक, दुई महिनापछि विद्यार्थीहरु कृषिबाट वनस्पति, त्यहाँबाट पशु, उद्योग हुँदै विद्यार्थीहरू भान्छा र निर्माण विभागमा जान्छन् । यता गार्डेनिङतर्फ भने ५ कक्षासम्मका विद्यार्थीहरू हुने राईले सुनाए ।
आफूले सुरु गरेको शिक्षा प्रणालीमा महामारीको लकडाउनले पनि शिक्षा नरोकिएकोमा मख्ख छन् राई । भन्छन्, ‘दिउँसो ११ देखि २ बजेसम्म खाना खाने, कक्षा कोठामाभित्र हुने पढाइ सक्ने गर्छांै । त्यो सैद्धान्तिक कक्षा हो । त्यसपछि फेरि फिल्डमै हुन्छन् विद्यार्थीहरु ।’
किताबी ज्ञानले जीवन धानिँदैन भनेर सुरु भएको शुभमका विद्यार्थीले कोदालो खन्ने, बिउ रोप्ने, उत्पादन गर्ने, बेच्ने, उद्योगमा काम गर्ने पकाउनेदेखि कृषिका सबै काम १० वर्षको अन्तरालमा सिकिसक्छन् ।
विद्यालयकै लागि भनेर अहिलेसम्म ४० करोड रुपैयाँ खर्च भइसकेको बताउँदै राईले भने, ‘विद्यालयको एकमात्रै उद्देश्य हो, १२ वर्ष पुगेर १३ लागेपछि त्यो विद्यार्थीले बाबुआमाको पैसा लिन नपरोस् । उसैले आफ्नो बलबुतामा बाँकी अध्ययन गर्न सकोस् भन्ने ।’
पहिला सीपमात्रै सिकाउँदै आएको फाउण्डेसनले विद्यालय नै स्थापना गरेर पठनपाठन गर्दै व्यवहारिक ज्ञान सिकाउन थालेको भने ७ वर्ष भयो । यात्रा अझै लामो छ । विद्यार्थीलाई किताबमा पढाइने ज्ञान व्यवहारमै उतार्नुपर्छ भनेर लागि परेका राईको सो विद्यालयलाई कृषिको लागि अत्याधुनिक र विश्वकै नमूना विद्यालय बनाउने सपना छ । -नेपाल वाच

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप