नयाँ शैक्षिक सत्र सर्न सक्ने

एसइई आन्तरिक मूल्याङ्कनबाटै हुनसक्ने, कक्षा-१२ को परीक्षाबारे कार्यदलले निर्णय दिने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ २

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरू हुनेमा अन्योल देखिएको छ।
गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितबारे आकलन गरिरहेको छ।
आइतबारसम्मको विवरणमा संक्रमणबाट मृतकको सङ्ख्या चार हजार ८५६ पुगेको छ भने मुलुकभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार ७४० छ।
महामारी नियन्त्रण र रोकथामका लागि मुलुकका ७३ जिल्लामा निषेधाज्ञा जारी छ।
कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा जारी हुनु अगावैदेखि शिक्षालयहरूमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ शैक्षिकसत्र असारदेखि हुने गरी शिक्षा नियमावालीमा भएको संशोधन नेपाल राजपत्रमा प्रकाशन भइसकेको र सोबमोजिम सम्बन्धित पक्षलाई सूचना पठाइएको बताउँदै नयाँ परिस्थितिबारे सरकारले निर्णय गरिनसकेको जनाए।
अर्को निर्णय नभएसम्म विद्यालयहरूले असार १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरू गर्नुपर्ने हुन्छ भने यसको व्यवहारिकता हेरेर पाठ्यवस्तुमा थप समायोजना गरी नयाँ भर्नाको नयाँ मिति तय गर्नुपर्ने देखिएको छ।
विगतमा हरेक चैतमा वार्षिक परीक्षा समाप्त भई वैशाखमा नयाँ भर्ना हुँदै आएको थियो भने गत वर्ष सुरू भएको कोरोना महामारीका कारण अधिकांश महिना प्रत्यक्ष कक्षा बन्द भई वैकल्पिक प्रणालीको सिकाइ निरन्तरतामार्फत् पाठ्यवस्तु समायोजन गरेर पठनपाठन गराइएको थियो। बन्दाबन्दीका कारण गत वर्ष पनि भदौ महिनासम्म नयाँ भर्ना हुन सकेको थिएन।
कोभिड-१९ र यस्तै प्रकृतिका महामारीको अवस्थालाई सम्बोधन हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्ले शिक्षा नियमावली, २०५९ मा नवौं संशोधन, २०७७ गरी शैक्षिकसत्र परिवर्तनको अधिकार मन्त्राललाई प्रदान गरेको थियो।
गत पुस १२ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि कृष्णगोपाल श्रेष्ठले उक्त नियमावली संशोधन गराएका थिए। नियमावाली संशोधनको उक्त सूचना नेपाल राजपत्रमा गत फागुन ३ गते प्रकाशन गरिएको थियो।
शिक्षा ऐन, २०२८ (नवौं संशोधन) को दफा १९ ले दिएको अधिकार प्रयोग गरी संशोधित नियमावालीको नियम ८४ को (१) मा ‘महामारी वा अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिकसत्र परिवर्तन गर्नुपर्ने अवस्था आएमा मन्त्रालयले गर्न सक्नेछ’, भनिएको छ।
विकट हिमाली क्षेत्र भन्नाले कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, मनाङ र मुस्ताङ मानिएको छ।
ती विकट जिल्लामा यसअघि हरेक फागुनदेखि शैक्षिकसत्र सुरू हुँदै आएको थियो।
नियमावलीको मूल नियम ८० मा संशोधन गरी ‘महामारी वा अन्य यस्तै विपद् कारण पठनपाठन अवरुद्ध भई विद्यालयबाट स्थानान्तरण हुनु परेको विद्यार्थीले स्थानान्तारण भई आउन चाहेको स्थानको विद्यालयमा सो व्यहोरा खोली निवेदन दिएमा सम्बन्धित विद्यालयले त्यस्तो विद्यार्थीलाई स्थानान्तरण गर्नुपर्नेछ। सोको जानकारी शिक्षा विकास तथा समन्वय इकाइलाई दिनुपर्नेछ’ व्यवस्था गरिएको छ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा आगामी असार १ गतेदेखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिए।
उनले अनलाइनलगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै स्थानका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आगामी भदौतिरबाट शैक्षिकसत्र सुरू गर्न सकिने बताए।
महामारीकै कारण माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० र १२ को परीक्षा स्थगन भएका छन्। यी परीक्षा निर्धारण नभएसम्म पनि नयाँ शैक्षिकसत्रबारे निर्णय गर्न असुविधा हुने देखिएको छ।
सहरी क्षेत्रका निजी विद्यालयले भने सरकारको शुल्क उठाउन आफूखुसी नयाँ भर्ना सुरू गर्ने तयारी गरेका छन्।
शिक्षा मन्त्रालयले गत जेठ १८ गते जारी गरेको ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ बमोजिम टेलिभिजन र रेडियोबाट पनि पाठ्यवस्तुमा आधारित सामग्री प्रसारण हुँदै आएका छन्।
कक्षा १ देखि १२ सम्म सामुदायिक विद्यालयमा ५० लाख २८ हजार ८३ र निजी लगानीका विद्यलायमा १९ लाख ९३ हजार ५३९ गरी ७० लाख २१ हजार ६२२ विद्यार्थी छन्।
फ्ल्यास रिपोर्ट, २०७६ अनुसार मदरसा, गुम्बा र गुरुकूलतर्फ एक हजार १२९ विद्यालय छन्। सरकारले आउँदो शैक्षिकसत्रका लागि पनि कक्षा १ देखि १० सम्मका पाठ्यपुस्तकको मूल्यसूची यथावत् कायम राखेको छ। शिक्षा मन्त्रालयले चालु शैक्षिकसत्र, २०७७ का लागि स्वीकृत गरेको मूल्यसूची शैक्षिक वर्ष २०७८ का लागि पनि कायम रहने गरी पाठ्यक्रम विकास केन्द्रले सूचना प्रकाशन गरेको छ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्ने वा मूल्यांकन विधि कस्तो अपनाउने भन्ने विषयमा कार्यदलले अध्ययन थालेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विभागका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षमा गठन गरेको कार्यदलले सरकारवालाहरुसँग छलफल थालेको हो । परीक्षा बोर्डले कोरोना भाइरसको महामारीलाई मध्यनजर गरी गएको सोमबार एसइई र कक्षा १२ को परीक्षा तत्कालका लागि स्थागित गर्ने निर्णय गरेको थियो ।
एसइईको जेठ १३ तथा कक्षा १२ को जेठ २६ गतेदेखि परीक्षा गर्ने तयारी थियो । तत्कालका लागि परीक्षा स्थगित गरेको बोर्डले सम्भावित परीक्षण विधि तथा मूल्यांकन प्रक्रियाबारे अध्ययन तथा सरोकारवाला निकायसँग छलफल गरि सुझावसहितको प्रतिवेदन बुझाउने गरी शिक्षा विभागका महानिर्देशक अर्याल नेतृत्वको कार्यदललाई जिम्मा दिएको हो ।
कार्यदलका अध्यक्ष अर्यालले भने, ‘हामीले काम सुरु गरेका छौं । अहिले हामी विभिन्न देशमा विपदको अवस्थामा अध्ययन परीक्षण तथा मूल्यांकनका लागि अपनाइएका विधिबारे अध्ययन गरिरहेका छौं । यस्तै सरोकारवाला पक्षसँगको राय सुझाव संकलनको प्रक्रिया पनि थालेका छौं ।’
शिक्षक, अभिभावक, विद्यालय सञ्चालक, शिक्षाविद, विद्यार्थी तथा शिक्षा नीति निर्माणमा रहेकाहरुसँगको परामर्शमा आफूहरु रहेको अध्यक्ष अर्यालले जानकारी दिए । काम सुरु गरेको दुई हप्ताभित्र सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी कार्यदलले पाएको छ ।
‘अहिले हामी अध्ययन तथा छलफलको प्रारम्भिक चरणमा छौं । जेठ मध्यसम्ममा सबै पक्षबाट आएको रायसहित सुझाव समेटेर प्रतिवेदन बोर्डलाई बुझाउने तयारी छ’, कार्यदलका अध्यक्ष अर्यालले भने ।
गएको वर्ष कोरोना भाइरसकै महामारीका कारण निर्धारित परीक्षा हुन सकेको थिएन र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरिएको थियो । तर आन्तरिक मूल्यांकनको क्रममा केही विद्यालयहरुले ‘बदमासी’ गरेर विद्यार्थीको क्षमता भन्दा बढि मूल्यांकन गरेको आरोप पनि लागेको थियो ।
सोही कारण कार्यदलले यो वर्ष आन्तरिक मूल्यांकन बाहेक पनि अरु कुनै विकल्प हुन सक्छ वा आन्तरिक मूल्यांकनलाई नै पनि कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे अध्ययन गरिरहेको परीक्षा बोर्डले जनाएको छ ।
विद्यालय सञ्चालक तथा शिक्षाविदहरु भने देशभर नै अनलाइनका माध्यमबाट परीक्षा लिन सकिने अवस्था नरहेकाले आन्तरिक मूल्यांकन नै उपयुक्त विकल्प रहेको तर त्यसलाई व्यवस्थित भने गरिनुपर्ने बताउँछन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप