अरुण तेस्रोमा ढुंगाले लागेर मजदुरको मृत्युः ३० लाख रुपैयाँ दिने सहमतिपछि शव जिम्मा, अरुण तेस्रोको काम ठप्प


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ १

संखुवासभाः संखुवासभाको निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरूङभित्र मजदुरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदुरले आयोजनास्थलका निर्माण सामग्रीमा तोडफोड गरेका हुन् ।
बैशाख २९ (बुधबार) जलविद्युत परियोजनाको सुरुङभित्र एकजनाको मृत्यु भएको थियो । चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृहस्थलको सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ वर्षीय कृष्ण रानाको मृत्यु भएको थियो । सहकर्मीको मृत्यु हुँदा कम्पनीले ३ लाख रुपैयाँ मात्रै क्षतिपुर्ति दिनेपछि उनीहरु आन्दोलनमा उत्रिएका थिए ।
मजदुर आन्दोलनमा उत्रिँदा तीन दर्जन बढी टिपर, ट्रकलगायतका सवारीमा तोडफोड गरेको प्रहरीले जनाएको छ । ढुंगाले हान्दा त्यहाँ रहेका केही भवनमा पनि क्षति पुगेको छ ।

सुरुङमाथिबाट खसेको ढुङ्गाले लागेर सोही स्थानका ५० वर्षीय मिठु राना घाइते समेत भएका थिए ।
अरुण तेस्रो जलविद्युत् परियोजनास्थलमा स्वास्थ्य संस्था र एम्बुलेन्स नहुँदा अहिलेसम्म एक दर्जन बढी मजदुरले ज्यान गुमाइएसकेका छन् । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय र नेपालीसहित तीन हजारभन्दा बढी मजदुर कार्यरत छन् ।
अवरुद्ध भएको अरुण तेस्रो आयोजनाको काम सुचारु गर्न सतलज कम्पनी र सरोकारवाला निकाय संग छलफल भइरहेको र चाँडै आयोजनाको काम थालिने संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले जानकारी दिए ।
शव व्यवस्थापनको लागि चन्दा संकलन गर्ने भनेपछि कामदारहरूले आयोजनाको कार्यालय र सवारी साधनमा ढुङ्गामुढा गरेका थिए । कामदारहरू आक्रोशित भएपछि निर्माण कम्पनीले ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने भनेपनि ५० लाख रुपैयाँ बिमा रकम हुने भन्दै सो रकमको माग गरेको मृतकका भाई रामस्वरुप रानाले जानकारी दिए । अन्त्यमा आयोजनाले ३० लाख रुपैयाँ दिने सहमति जनाएपछि शव जिम्मा लिएको मृतकका भाइले बताए ।
निरन्तर २४ सै घण्टा निमार्ण कार्य हुने आयोजनामा कोही मजदुरलाई चोटपटक लागेर घाइते भए भने समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपर्न अवस्था छ । आयोजनास्थलमा काम गर्ने मजदुरको समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने विकास सम्झौतामा उल्लेख भएपनि आजसम्म ती मजदुरको स्वास्थ्य परीक्षण नभएको मजदुर बताउँछन् ।
विद्युत् गृहस्थल क्षेत्रमा पटेल इन्जिनियरिङ र ड्याम साइडमा जयप्रकाश एसोसियट्स कम्पनीले निर्माण कार्य गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत अर्थात् १९७ दशमलव १ मेगावाट बिजुली निःशुल्क प्राप्त हुनेछ ।
त्यस्तै, आयोजनाबाट विभिन्न शीर्षकमा ३ खर्ब ४८ अर्ब आर्थिक लाभ हुने अनुमान लगानी बोर्डको छ । आयोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी ३ खर्ब ४८ अर्ब प्राप्त गर्नेछ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारको स्वामित्वमा पाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप