७५% हाम्रा विचार नकारात्मक

नकारात्मक सोंचले रोगसँग लडने प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छन्


  • हाम्रो कोशी आवाज.com
  • २०७८ जेठ १

धेरै वर्ष पहिले हिमाली क्षेत्रको एउटा गुफामा एकजना सिद्ध पुरुष बस्थे । उनलाई भेट्न र ज्ञान सिक्नको लागि धेरै टाढा–टाढाबाट मानिसहरु आइरहन्थे । नजिकैको गाउँबाट भेडा चराउन एउटा गोठालो त्यहीँ गुफा नजिकै आउने रहेछन् । मानिसहरुको आवतजावत र त्यो गुफा वरीपरी भीड लागिरहेको हेर्दै दिन बिताउन गाेठालोलाई सजिलो लाग्ने रहेछ । मानिसहरु ती सिद्ध पुरुषसँग के सिक्न आउने रहेछन् ? जान्ने उत्सुकता गोठालोलाई लागेछ र एकदिन अरु मानिसहरु नभएको बेला पारेर सन्तकहाँ गएछन् र अनुरोध गरेछन्, ‘मलाई पनि केही सिक्न मन लाग्यो । के मैले सिक्न सक्छु ?’
ती सिद्ध पुरुषले गोठालोलाई भनेछन्, ‘हुन्छ सिक्न सक्छौ । तिमीले २ वटा झोला तयार पारेर लिएर आउ ।’ गोठालोले २ वटा झोला लिएर आएछन् । सन्तले भने, ‘तिमी जुन ठाउँमा बसेर धेरै समय बिताउँछौ । त्यहाँ सेतो र कालो रंगका स-साना ढुङ्गाहरु जम्मा पार । एउटा झोला आफ्नो दाहिनेतर्फ र अर्को बायाँतर्फ राख । अब तिमीले तिम्रो मनमा हेर, मनमा कस्तो विचारहरु आउने रहेछन् हेर । राम्रो विचार आए एउटा सेतो ढुङ्गा दाहिने तिरको झोलामा राख । नराम्रो विचार आए बायाँ तिरको झोलामा कालो ढुङ्गा राख । २/३ दिन यो प्राक्टिस गरेपछि भेट।’
गोठालोले पनि सन्तले भने जस्तै गर्न लागेछ । आफ्नोबारे, आफ्ना गाउँका मान्छेहरु बारे, भेडाहरु बारे नराम्रो वा खराब विचारहरु मात्र बढी आउने रहेछन् । तीन दिनपछि सन्तकहाँ आएर गोठालोले आफ्नो अनुभव बताएछन् । ‘सुरु–सुरुमा यस्तै हुन्छ, तिमी आफ्नो मनमा हेर्ने र ढुङ्गा झोलामा राख्ने काम निरन्तर गरिराख । केही समयपछि फेरि भेट,’ सन्तले भने । गोठालोले जति गर्दै गए नराम्रा विचारहरु घट्दै गएको र राम्रा विचारहरु बढ्दै गएको अनुभव गर्न थाले ।
हाे, हाम्रो शरीर बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौँ र लिन्छौँ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन् भने टाउकोभित्र मष्तिस्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन् शरीर एउटा शक्ति मात्र हो र यो इनर्जीमा कम्पन भइराखेको छ । शरीर नै शक्ति हो भने हाम्रा विचारहरु, भावनाहरु सबै शक्ति भए ।
हाम्रो शरिरलाई विभिन्न रोगहरुबाट बचाउन शरीरभित्रै, प्रतिरोधात्मक क्षमता छ अर्थात् रोगहरुसँग लड्ने निकै शक्तिशाली फौज छ वा आर्मी छ । रोगसँग लड्ने यो प्रतिरोधात्मक क्षमता यति बलियो छ कि हरेक किसिमका रोगका किटाणुहरुलाई मार्न सक्छ । निस्कृय पार्न सक्छ । जब हाम्रो यो प्रतिरोधात्मक क्षमता वा कमजोर हुन्छ, शरीरमा रोगले आक्रमण गर्न थाल्दछन् र जति प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यति रोगले जकड्दै जान्छ ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता जति बलियो छ त्यति हामी निरोगी हुन्छौँ । प्रश्न आउँछ, कसरी यो क्षमतालाई कमजोर हुन नदिने वा बलियो बनाई राख्ने ? जस्तै चुरोट, सुर्ती, खैनी आदि सेवन नगर्ने, फलफूलहरु, हरियो सागपात, गेडागुडी आदि खानामा समावेश गर्ने, बढि चिल्लो खानेकुराहरु र चिनीको प्रयोग सकेसम्म कम गर्ने गर्दा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुँदैन । तर यतिले मात्र पुग्दैन । नियमित शारीरिक व्यायाम गर्ने, आफ्नो तौल बढ्न नदिने अर्थात् नमोटाउने र प्रदुषित वातावरणबाट बच्‍नुपर्छ । सरसफाईमा ध्यान दिने, सात घण्टा नियमित सुत्‍ने, जंकफुड नखाने र मानसिक तनाव छ भने त्यसको व्यवस्थापन गर्नु पर्छ ।
८५ प्रतिशत जति रोगहरु हृदय रोग र क्यान्सर लगायत नकारात्मक भावनाहरु र सोचहरुबाट प्रभावित हुन्छन् । यी नकारात्मक भावनाहरु र सोंचहरुले रोगसँग लडने प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छन् ।
भनिन्छ ७५ प्रतिशत हाम्रा विचारहरु नकारात्मक हुन्छन् र तिनैको प्रभावमा हामी हुन्छौँ । विचार पनि यति छिटो-छिटो आउने र जाने गर्छन् कि हामीलाई थाहा पाउन नै मुस्किल हुन्छ । मन एकत्रित गरेर विचार हेर्न लाग्यो भने केही समयपछि आफ्नो विचार पहिल्याउन सक्ने भइन्छ । जब विचारहरुलाई चिनिन्छ, नकारात्मक विचार आयो भने किन आयो, के सन्दर्भमा आयो थाहा पनि पाइन्छ । यदी नराम्रा विचारहरु आएर दुःख दिने रहेछन् भन्ने थाहा पाइयो भने ति स्वत घटन थाल्छन र राम्रा विचारहरु बढ्दै जान्छन् अर्थात् सहयोगी भाव, प्रेम भावहरु बढदै जान्छन् ।
नकारात्मक भावनाहरुमा रिस, लोभ, घृणा, ईष्या र डरहरु मुख्य मानिन्छन्, त्यसो त अरु धेरै नकारात्मक भावनाहरु पनि छन् । त्यसैले शरीर, मन र वचनले कसैको हानी नगर्नु, कसैको चित्त नदुखाउनु भनेको होला । नकारात्मक भावबाट मुक्त हुनको लागी आफुले कसैको मन दुखाएको भए आफैलाई माफ गर्ने र अरुले आफ्नो मन दुखाएको भए अरुलाई माफ गर्ने अभ्यास गर्नुपर्छ । प्राय: अरुलाई माफ गर्न मानिसहरु तयार हुँदैनन, आफूभित्रको अहँले गर्दा वदलाको भावना लिइरहन्छन् । जुन नकारात्मक भाव हो । यस्तो गर्नु आफ्नै खाल्डो खन्नु हो, किनकि रोगसँग लड्ने क्षमता आफ्नै घट्छ र रोगको सिकार भइन्छ । कुनै सर्त विना आफ्नो मन दुखाउने, आफुलाई दुःख दिनेहरुलाई आफ्नो मन मनै माफी दिनु उत्तम हो ।
न दुखाउने व्यक्तिहरु कहाँ गएर वा भेटेर ‘मैले माफी दिए’ भन्नु पर्दैन । आफ्नो मनको भावमा परिवर्तन गर्ने हो, रिसको भाव, इर्ष्याको भाव र बदलाको भावको भारी बिसाउने हो । आफू ती भावबाट मुक्त हुनु हो । तर केही व्यक्तिहरु अरु प्रति रिस, घृणा र बदलाको भावना बाेकेका कारण चिन्ता रोग, डिप्रेसनमा पुग्छन् ।
त्यस्तै मानिसहरू धेरै कुराहरुलाई लिएर डराइरहेका हुन्छन् । चिन्ता लिइरहेका हुन्छन् । जस्तै परिवारका सदस्यहरुलाई केही हुन्छ कि ? आफूलाई रोग लाग्छ कि ? दिमागले काम गर्दैन कि ? आदि आदि । आफ्नो परिवारसँग समय बिताउदा बच्चाहरुसँग खेल्दा, योगा वा ध्यान गर्दा यी नकारात्मक सोचहरु घट्छन् ।
नकारात्मक भावनाहरुले मानसिक तनाव बढ्छ । लगातारको मानसिक तनावले रोगहरुसँग लड्ने प्रतिरोधात्मक क्षमता ह्रास हुन्छ र कुनै रोगले आक्रमण गर्छ । रोग लागेपछि यसले मानसिक तनाव अझ बढाउँछ र रोग घटनुका सट्टा बढ्छ । त्यसैले जो व्यक्तिहरु आक्रमक खालका छन्। रिसाहा प्रवृत्तिका छन् । जहिले पनि दौडधुप मात्र गर्छन् र आराम गर्न चाहँदैनन, निन्द्रा पुग्दैन, खानपिनमा ध्यान दिदैनन् । परिवारसँग समय बिताउँदैनन्, उनीहरुलाई बढी स्वास्थ्य समस्याहरु हुन्छन् र कतिलाई हृदयघात हुने खतरा समेत हुन्छ । नकारात्मक सोचहरुले मानसिक तनाव बढाउँछन् । लगातारको मानसिक तनाव महिनौंसम्म रहिरहेमा शरीरको रोगसँग लड्ने क्षमता घट्छ र विभिन्न रोगहरुले सताउन थाल्छन् । नकारात्मक सोचहरु बढी आउनु भनेको चिन्ता बढ्नु हो र जति चिन्ता बढ्यो त्यति डर लाग्ने र आत्तिने हुन् ।
त्यसैले रिसलाई, निराशापनलाई, डरलाई र मानसिक तनावलाई बेवास्ता नगर्नुस् र आफ्नो जीवन शैलीलाई सुधार्नुस् । स्वस्थ्य रहन चाहनुहुन्छ र आनन्दको जीवन जीउन चाहनुहुन्छ भने यो नै मन्त्र हो ।

नकारात्मक सोचका लक्षण
मन खिन्न हुने, उदास हुने, नरमाइलो लाग्ने, रमाइलो कुरामा खासै रुचि नहुने, आफूले जीवनमा केही गर्न सक्दिनँ भन्ने सोच्ने, जीवन व्यर्थ लाग्ने व्यक्तिलाई डिप्रेसन निम्तिने गर्छ। अरुले के भन्लान्, मेरो कुरा काट्दै छन् कि भनेर शंका गर्ने, मलाई मार्ने षड्यन्त्र रचेका छन् कि भन्ने शंका गर्ने नकारात्मक सोचाइ हुन्। यस्ता सोचाइले मान्छेलाई हिंस्रक बनाउँछ।
मन आत्तिने, अग्लो ठाउँमा जान डराउने, लिफ्ट चड्न डराउने, लिफ्ट चढ्दा श्वास थुनिएको जस्तो हुने, बन्द कोठामा बस्न डराउने नकारात्मक सोचका परिणाम हुन्। पटकपटक हातखुट्टा धुने, नुहाउने, कोठा सफा गरेकोग¥यै गर्ने पनि नकारात्मक सोच कारणले हुने समस्या हुन्। यस्ता समस्यालाई समयमै नियन्त्रण गरिएन भने ओसिडी निम्त्याउने गर्छ।
कसरी आउँछ नकारात्मक सोच
नकारात्मक सोच आउनुको मुख्य कारण मानिस कस्तो वातावरणमा हुर्केको छ, त्यसमा भर पर्छ। मानसिक विकास हुने क्रममा बच्चाको मनमा नकारात्मक सोचमात्र परेको छ भने त्यो मानिसलाई जीवनभरि नै नकारात्मक सोचले दुःख दिन्छ।
– बच्चा हुर्काउने बेलामा यो गर्नु हुन्छ, त्यो गर्नु हुँदैन भनेर रोकतोक गर्दा पनि बच्चामा नकारात्मक सोचको विकास हुन्छ।
– बाबुआमामा नकारात्मक सोचाइ छ भने पनि बच्चामा यस्तो समस्या देखिन्छ।
– बच्चालाई तर्साएर राख्दा बच्चामा नकारात्मक सोचको विकास हुन्छ।
– यसले केही गर्न सक्दैन भनेर अगाडि बढ्न नदिँदा पनि बच्चाको आत्मविश्वास कम हँुँदैजान्छ र नकारात्मक सोचको विकास हुन्छ।
– शारीरीक विकास हुने क्रममा पनि दिमागमा हुने रसायन तत्वको गडबढीले नकारात्मक सोच आउने गर्छ।
– नकारात्मक सोचले गर्दा आत्मविश्वास हराउँदै जाने, आफूलाई कमजोर सोच्ने, केही गर्न सक्दिनँ जस्तो लाग्ने, बोल्न डराउने, निराश हुने जस्ता लक्षण देखिन्छन्।
नकारात्मक सोच कसरी हटाउने
नकारात्मक भावनाको विकास हुनुमा अरूलाई दोष दिनुभन्दा पनि आफ्नो मनलाई नियन्त्रण गर्न सक्नुपर्छ। नकारात्मक सोचाइ र विचारलाई सकारात्मकमा परिवर्तन गर्न सकियो भने जीवनमा सफलता हासिल गर्न सकिन्छ। सकारात्मक सोचले केही गर्ने ऊर्जा प्रदान गर्छ भने नकारात्मक सोचले जीवनमा निराशा प्रदान गर्नुका साथै असफलता निम्त्याउँछ र जीवनमा आउने ऊर्जालाई नष्ट गरिदिन्छ।
नकारात्मक सोच आउन नदिन बच्चा हुर्काउँदादेखि नै विशेष ध्यान दिनुपर्छ। बच्चा बोल्न सक्दैन भने उसलाई बोल्न प्रेरित गर्नुपर्छ। बच्चा चकचक ग¥यो भनेर तर्साउन नकारात्मक कुरा भनेर डर, त्रास देखाउनु हुँदैन।
बारम्बार नकारात्मक सोचाइ आउँछ भने योग, ध्यान गर्ने, शान्त वातावरणमा आँखा बन्द गरेर बस्ने गर्नाले विस्तारै नकारात्मक सोचाइ हट्दै जान्छ।
जे कुरामा डर लाग्छ, त्यो कुरालाई सामना गर्नुपर्छ, त्यसो गर्दा पनि नकारात्मक सोच विस्तारै हट्दै जान्छ।
आफूलाई जुन कुराले चिन्तित बनाएको छ, त्यो कुरा साथीभाइसँग भन्नाले मन हलुका हुन्छ र विस्तारै नकारात्मक सोच हट्दै जान्छ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप