भोलिदेखि धरानेले तरकारी खानै नपाउने ?

किसानले होम डेलिभरी गरे तरकारी नरोक्ने निर्णय, हप्तादिनपछि खोलिने, टमाटरको मूल्य १२ रुपैयाँसम्म, आज भाउ बढेको टमाटर क्रेट नै उठाए


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख ३१

धरानः जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणलाई शुन्यमा झार्ने भन्दै भोलि (शनिबार) देखि लकडाउनलाई कडा बनाउने जनाएको छ ।
सुनसरीमा कोरोना संक्रमणको दर नियन्त्रण हुनुभन्दा बढ्दै गएपछि प्रशासनले जेठ १५ गतेसम्म लकडाउन बढाउँदै शुक्रबारदेखि राति १२ बजेदेखि पूर्ण लकडाउन गर्दै कडाइ गर्ने जनाएको छ ।
लकडाउन उल्लङ्घन गरेर हिँड्ने र पसल खोल्नेलाई समेत कारवाही गर्ने चेतावनी दिएको प्रशासनले तरकारी पसल पनि खोल्न नदिने जनाएको छ ।
शुक्रबार बिहान १० बजेसम्म मात्रै खाद्यान्न, तरकारी, फलफूल तथा दूधजन्य पसलहरु खोल्न अनुमति दिएको प्रशासनले भोलिदेखि झनै कडाइ गर्ने जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भोलि औषधि किन्न जाने र अस्पताल जानेबाहेकलाई हिँडडुल गर्न नदिने बताउँछन् । ‘खासमा यो जनताकै लागि हो’, उनले भने, ‘त्यही भएर पनि कडाइ गर्नेछौं ।’
धरानेले फलफूल र तरकारी खानै पाउँदैनन् त ?
धरान उपमहानगरपालिकाका मेयर तिलक राई, धरानस्थित कृषि बजारका प्रतिनिधिबीच शुक्रबार एक छलफल चल्यो । छलफलमा एक हप्तालाई प्रशासनको सूचनालाई मान्दै ‘टोटल्ली’ तरकारी बन्द गर्ने निर्णय भएको धरान–१३ स्थित कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
‘चेन ब्रेक गरौं भनेर नै हामी लाग्यौं’, उनले भने, ‘हप्तादिनसम्म तरकारी बन्द रहन्छ र धरानबासीले कस्तो प्रतिक्रिया जनाउँछन्, सो अनुसार अघि बढ्ने भन्ने निर्णय भएको छ ।’
धरानमा तरकारीको हाहाकार, महङ्गी, कालोबजारी, हरियो सागसब्जी खानै नपाउने अवस्था आए तरकारी बिक्री गर्न सकिने उनले जानकारी दिए ।
‘हामीसँग पर्याप्त तरकारी छ, अझै २० दिन पुग्ने सुख्खा तरकारी (आलु, प्याज, लसुन, अदुवालगायत अन्य) स्टोक छ’, उनले थपे, ‘फलफूल पनि पर्याप्त छ ।’
किसानले सिधै होम डेलिभरी गरे नरोक्ने
धरानमा किसानले सिधै घरघरमा तरकारी ल्याइदिए अवरोध नगर्ने निर्णय भएको उनले जानकारी दिए । ‘किसानले होम डेलिभरीकारुपमा ल्याए भने रोकटोक नगर्ने बरु सहयोग गर्ने, र आपूर्तिलाई सहज गर्ने निर्णय भएको छ’, उनले भने ।
अहिले वर्खाको सिजन छ । किसानले उत्पादन गर्दै आएको तरकारी कुहिएर, सडेर जानुपर्ने अवस्था छ । ‘कसरी सम्बोधन गर्ने भन्ने कुरा महत्वपूर्ण हो’, व्यवस्थापक भट्टराई भन्छन्, ‘क्षतिपुर्ति अर्थात् बजारीकरण गर्ने हिसाबले पोलिसी ल्याउनुपर्छ, नत्र किसान मरिरहन्छन्, उपभोक्ता खान नपाएर तड्पिरहन्छन् ।’
टमाटरको मूल्य घटबढ
धरानमा टमाटरको मूल्य घटबढ भएको छ । धरानमा प्रतिकिलो ३० रुपैयाँमा कारोबार हुँदै आएको गोलभेंडाको मूल्य घटेर प्रतिकेजी होलसेलमा १२ रुपैयाँसम्म पनि आइपुगेको छ ।
‘लकडाउनमा डिमाण्ड छैन, होटेल, रेस्टुरेन्ट बन्द छन्, जति उपभोक्ताले खानुपर्ने हो पर्याप्त खान नपाइरहेको अवस्था छ’, व्यवस्थापक भट्टराई भन्छन्, ‘त्यसैले पनि केहीदिन टमाटर सस्तियो पनि ।’
उनका अनुसार धरानेले १२ रुपैयाँमा पनि तरकारी पाएको बताए । ‘विगत दुई हप्ताअघि होलसेलको मूल्य १२ रुपैयाँ थियो’, उनले भने, ‘तर हिजोआज खुद्रामा २५ रुपैयाँसम्म पुग्यो ।’
स्टक गरेर नरहने हुनाले पनि यसको भाउ झरेको उनले बताए । उनले भोलिदेखि बन्द भनेपछि भाउ केही बढेको बताए । ‘आजसम्म होलसेलमा १८ रुपैयाँ थियो भने खुद्रामा २५ रुपैयाँ पुगेको छ तर पनि उपभोक्ताले ‘क्रेट’ का ‘क्रेट’ टमाटर उठाएका छन् ।’ दुई हप्ताअघि टमाटरको मूल्य एभरेजमा ३० रुपैयाँसम्म थियो ।
लकडाउनअघि दैनिक ६० देखि ६५ टनभन्दा बढी कारोबार हुने टमाटर लकडाउनपछि २० टन मात्र बिक्री भएको उनले सुनाए । अहिले सुनसरी, धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायतबाट आउने टमाटर बिक्री नहुँदा बारीमै कुहिन थालेको किसानले गुनासो गर्न थालेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप