डाक्टरको सल्लाहः यसो गरे अक्सिजनेसन सहजै हुने र भेन्टिलेटरमा जानु नपर्ने रहेछ !

९४ भन्दा कम भए घोप्टो परेर पल्टिनुपर्छः चिकित्सक, घोप्टो सुत्दा ८७ प्रतिशत अक्सिजनको स्तर भएकाको ९१-९२ प्रतिशत पुग्छ


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख ३०

धरानः अहिलेको मुख्य समस्या भनेकै अक्सिजन हो । कोरोनाका बिरामीलाई जीवनरक्षाका लागि जरूरी भएको अक्सिजनको अभाव प्रमुख समस्याका रूपमा अगाडि आएको छ । अक्सिजन बेलैमा नपाएर कोरोना पीडितहरूको ज्यान गएको गुनासो जताततै सुनिन्छ ।
कोरोनाका सामान्य बिरामीका लागि भने प्राकृतिक रूपमा शरीर अक्सिजन सहज बनाउने उपाए चिकित्सक र जनस्वास्थ्यविद्ले सिकाएका छन् । यस्तो प्राकृतिकरूपमा लिइने अक्सिजनले निकै राहत पुरयाउने चिकित्सकहरु बताउँछन् ।
कोभिड संक्रमण भएका बिरामीमा रेस्परेट्री डिस्ट्रेस अथवा श्वासलिन कठिनाई भए उत्तानो पल्टिनुको सट्टा घोप्टो (पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुने रहेछ । कयौंलाई त यत्तिले मात्र पनि राम्रो अक्सिजनेशन हुने र भेन्टिलेटरमा जानु नपर्ने पनि हुनसक्छ ।
घाँटी, पेट (पेटभन्दा अलिक तल नाइटोभन्दा मुनि ) र गोडामा तकिया राखेर घोप्टो (पेट तलपर्ने) आसनमा सुत्दा हल्का हुने गर्दछ । अक्सिजन वृद्धिका लागि गरिने ब्रेथिङ एक्सरसाइज, योगाभ्यास र अपनाउने आसनका विधिहरुसम्बन्धी जानकारीलाई व्यापक बनाउन सकेपनि श्वासप्रश्वासमा सामान्य कठिनाइबाट राहत पुग्ने र अस्पताल पुग्नुनपर्ने अवस्था पनि आउन सक्छ ।

श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेका अनुसार फोक्सोको सबभन्दा गह्रौं भाग हाम्रो पछिल्तिर हुन्छ । त्यसैले उत्तानो पारेर राख्दा बिरामीलाई पर्याप्त अक्सिजन तान्न कठिन हुन्छ भने घोप्टो पार्दा अक्सिजनको प्रवाह बढ्न गई फोक्सोका विभिन्न भाग सक्रिय हुन पाउँछ ।
यस्तै गिलासको पानीको सहायताले पनि अक्सिजनको मात्रा बढाउन सकिन्छ । डा. पाण्डेका अनुसार यसका लागि सुरुमा गिलासमा पानी राख्नुपर्छ र मुखमा बाहिरको हावा भर्नुपर्छ ।
त्यसपछि गिलासको पानीमा विस्तारै मुखको हावा छोड्ने गर्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ । डा. अमितमान जोशीले वैज्ञानिक रूपमै पुष्टि भइसकेका श्वासप्रश्वास विधि घरमा आइसोलेसनमा बसेका सबैले अपनाउनुपर्ने बताउँछन् ।
उनी भन्छन्, ‘शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्छ । यसका लागि अनुलोम विलोम पनि एउटा उपाय हुन्छ ।’ अनुलोम विलोममा पलेंटी कसेर मेरुदण्ड सीधा पारेर बसेपछि नाकका दुई प्वालमध्ये एकबाट हावा लिएर दोस्रोबाट छोड्नुपर्ने सुझाव उनको छ ।

प्लास्टिक झोलाको माध्यमबाट पनि श्वासप्रश्वासमा सजिलो हुन्छ । उनी भन्छन्, ‘प्लास्टिकको झोला फुक्ने र श्वास लिने गर्दा पनि राम्रो हुन्छ ।’ कोरोना सङ्क्रमण भएपछि शरीरमा पानीको मात्रा कम हुन नहुने जानकारी दिँदै उनले पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताए ।
डा. जोशीका अनुसार झोलिलो खानेकुरा धेरै खाने, टुसा उम्रिएको चनाको झोल बनाएर खाने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो हुन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि अक्सिजन आपूर्तिका लागि घोप्टो परेर सुत्न सल्लाह दिएको छ ।
घोप्टो परेर सुत्दा फोक्सो पूरा खुल्छ, यसले कोभिडका बिरामीमा सकारात्मक परिणाम देखिने उनको भनाइ छ । यो विधि अपनाएपछि बिरामीको निको हुने दरसमेत बढेको पाइएको छ ।
डा.अनुप बाँस्तोलाले भने, ‘घोप्टो सुत्दा ८७ प्रतिशत अक्सिजनको स्तर भएकाको ९१–९२ प्रतिशत पुग्छ, ९० प्रतिशत भएकाको ९३–९४ प्रतिशत पु¥याउँछ ।’
अस्पतालमा बेड नपाएको वा होम आइसोलेसनमा रहेको अवस्थामा आफ्नो सुत्ने तरिकामा केही परिवर्तन गरेर अक्सिजनको सामान्य कमीलाई धेरै हदसम्म बढाउन सकिने विज्ञहरूले बताएका छन् । ‘कोभिड संक्रमितलाई सास लिन समस्या भए वा अक्सिजनको स्तर ९४ भन्दा कम भए घोप्टो परेर पल्टिनु (प्रोनिङ) फाइदाजनक हुन्छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले भने, ‘धेरैजसो कोभिडका बिरामीको फोक्सोमा पर्याप्त मात्रामा अक्सिजन पुग्दैन, यसैले समस्या हुन्छ ।’
घरमा भएका कोभिडका बिरामी घोप्टो परेर सुत्नु राम्रो हुने औंल्याउँदै डा.बाँस्तोला कोभिडको बिरामीलाई श्वास फर्न गाह्रो भए यो विधि अपनाउनु उचित हुने सल्लाह दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप