संक्रमितमा अक्सिजन कम हुन थालेपछि धमाधम बिर्तामोडको बीएण्डसीमा ‘हवाई लिफ्ट’


  • रासस
  • २०७८ वैशाख ३०

बिर्तामोडः कोभिड सङ्क्रमित भएर होम आइसोलेशनमा बस्नुभएको छ ? छ भने स्वास्थ्य अवस्थामा गम्भीर ध्यान दिनुहोला । विशेष गरी समय समयमा अक्सिमिटरको सहायताले अक्सिजनको अवस्था जाँच गरिरहनुका साथै चिकित्सकका सम्पर्कमा रही आवश्यक परामर्श लिन नभुल्नुहोला ।
अहिले ‘हवाई बेड लिफ्ट’ भई थप उपचारका लागि झापा बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालमा पुरयाइएका धेरैजसो बिरामी होम आइसोलेशनमा नै बसेका छन् । काठमाण्डौलगायत प्रमुख सहरका सरकारी तथा निजी अस्पतालमा भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसीययू) तथा अक्सिजनको चरम अभाव भएपछि जटिल सङ्क्रमित धमाधम बीएण्डसीमा ‘हवाई लिफ्ट’ भइराखेका हुन् ।
दश दिन होम आइसोलेशनमा रहेका काठमाण्डौ सातदोबाटोकी ५७ वर्षीया महिला बिहीवार (आज) बिहान ‘हवाई लिफ्ट’ गरी बीएण्डसीमा भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिश गिरीले निकालेको विज्ञप्तिमा अहिलेसम्म अस्पतालमा ‘हवाई लिफ्ट’ भएका अधिकांश बिरामी अन्यत्र भेन्टिलेटरसहित आईसीयू तथा अक्सिजन नपाएका तथा होम आइसोलेशनमा बस्दा जटिल हुन थालेपछि थप उपचारका लागि आएका उल्लेख छ ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘बिरामीका आफन्तले रुँदै भेन्टिलेटर र अक्सिजन छ भनेर सोध्नुहुन्छ । छ भन्ने जवाफ दिएपछि छिटोभन्दा छिटो बिरामी ल्याउँछौँ शथ्या राखिदिनुस् भन्नुहुन्छ । महामारीमा बिरामीको ज्यान बचाउन अस्पतालको स्रोत, साधनले भ्याएसम्म अहोरात्र खटिरहेका छौं । अस्पतालमा अहिलेसम्म भेन्टिलेटरसहित आईसीयू तथा अक्सिजनको अभाव छैन ।’

बुधवार मात्र होम आइसोलेशनमा नै रहेका नेपालगञ्जका ६१ वर्षीय र ओखलढुङ्गाका ५५ वर्षीय पुरुषलाई ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना गरिएको थियो । उनीहरूलाई पनि होम आइसोलेशनमा रहँदा श्वासप्रश्वासमा जटिल हुँदै गएपछि बिएण्डसी अस्पताल लगिएको बताइएको छ । अस्पतालले कोभिडका बिरामीलाई उपचार गर्न अहिले दुई सय शय्या सञ्चालनमा ल्याएको छ । आवश्यकता परेमा शथ्या थपिने र छिट्टै अक्सिजन प्लान्ट सञ्चालनमा आउने जनाइएको छ ।
मौज्दात रहेका ६५ भेन्टिलेटरसहित आईसीयूमध्ये गम्भीर सङ्क्रमितका लागि ५० शय्या छुट्याइएको र ६० चिकित्सकसहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ । अस्पतालले २५ शय्या मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो । अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कुल नौ सय शथ्या छ ।

विशेषगरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थाेका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘कोभिडका बिरामीको चाप अस्पतालमा बढेसँगै शय्या थप गरिएको छ । भेन्टिलेटर थप गर्दैछौँ । दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ ।’

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप