धरानको बीपीमा संक्रमित महिलाको जटिल शल्यक्रिया

महिलाले कोभिड अस्पतालमै बच्चा जन्माइन्, होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २९

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको जटिल शल्यक्रिया गरिएको छ ।
सर्लाहीकी ५० वर्षीया महिलाको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
बिरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै उच्च ज्वरो र वान्ता जस्तो लक्षण देखापरेको थियो । उनलाई थप उपचारका लागि राउत डाग्नोष्टिक सेन्टर जनकपुरले प्रतिष्ठानमा रेफर गरेको थयो । प्रतिष्ठानमा उनको थप जाँच गर्दा आन्द्रामा छिद्र देखा परेको र पेटमा पनि संक्रमण फैलिएको पत्ता लागेको थियो ।
अपरेशनको तयारी गर्ने क्रममा उनको जिन एक्सपर्ट परीक्षणमा कोरोना संक्रमणको पुष्टि भए पनि जेनेरल सर्जरी विभागका डा. भवानी खनालको नेतृत्वमा कोभिड अस्पतालमा आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । डा.पोखरेलसँगै सर्जरी विभागका डा. देवेन्द्र कार्की, डा. प्रन्जलचन्द्र पौडेल, डा. निरोज रामदाम, डा. राहुल श्रेष्ठ तथा एनेस्थेसिया विभागकी डा. जेनी बज्राचार्य, डा. रुजन बन शल्यक्रियामा सहभागी थिए । यस्तै, नर्स आर्य लम्साल, संध्या खनाल, मनिला मगर, हेल्पर नरेन्द्र कार्कीको टिमले सो शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।
प्रतिष्ठानकै कोभिड अस्पतालमा एक कोरोना संक्रमित महिलाको पनि प्रसुति सफलतापुर्वक सम्पन्न भएको छ । कानेपोखरी, मोरङकी ३४ वर्षीया गर्भवतीलाई बैशाख २७ गते (सोमबार) प्रतिष्ठानको प्रसुति विभागको आकस्मिक कक्षमा ल्याइएको थियो । ४१ औं हप्ताकी गर्भवती उनलाई अत्याधिक ढाड दुख्ने, छटपटी हुनेसँगै १०१ डिग्रीसम्म ज्वरो आएपछि प्रतिष्ठान ल्याइएको थियो । उनको सोहीदिन पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपनि उनलाई भोलिपल्ट बेलुका ७ बजेर ४५ मिनेटमा गाइने विभागकी डा. दीपा शाहको नेतृत्वमा डा. भवानी मैजु साथै बालरोग विभागका डा. विकास सापकोटा, नर्स जुना तामाङ, लता राजवंशी, हेल्पर अनिश लगायतका टिमले सफलतापुर्वक प्रसुती गराएको सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । बच्चा तथा आमाको स्वास्थ्य स्थिति सामान्य भए पश्चात् होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको डा.पोखरेलले जानकारी दिए ।
कोरोनाको दोस्रो लहर शुरु भएयता पूर्णरुपमा बेहोस पारी कोभिड अस्पतालमा भएको अपरेशन थिएटर शल्यक्रिया भएको यो दोस्रो हो । केहीदिनअघि कल्यापुर, सिरहाका ४० वर्षीय पुरुषको आकस्मिक शल्यक्रिया गरिएको थियो । बिरामीलाई पेट फुलेर ज्यादै दुख्नुका साथै ज्वरो, खोकी, वान्ता, स्वासप्रश्वासको समस्या देखापरी कर्जाना, सिरहाको फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारको निम्ति जाँदा त्यहाँ नै पोजेटिभ रिपोर्ट आएको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप