ताप्लेजुङमा बन्दै ‘दक्षिण एसियाकै नमूना’ वन्यजन्तु अध्ययन केन्द्र

शेर्पाको स्याब्रु र लिम्बूको च्याब्रुङ नृत्य पनि संरक्षण गरिने


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख २९

ताप्लेजुङः ताप्लेजुङमा वन तथा वन्यजन्तु अध्ययन केन्द्र बन्ने भएको छ ।
अहिले ८० प्रतिशत काम सकिएको छ । सो केन्द्रलाई ‘दक्षिण एसियाकै नमूना’ का रुपमा मानिनेछ । नेपालीमात्र नभएर विदेशीका लागि पनि वन तथा वन्यजन्तुका बारेमा अध्ययन गर्न यो भवन दक्षिण एसियाकै नमूना हुने विश्वास लिएको छ ।
जैविक विविधता, वन तथा वन्यजन्तु अध्ययन केन्द्र स्थापना गर्ने उद्देश्यले एकीकृत संरक्षण स्रोत केन्द्रको भवन निर्माण भइरहेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
भवनको काम यही जेठ २२ गतेसम्ममा सम्पन्न हुने सम्झौता भएको छ । एक करोड ५० लाख रुपैयाँको ठेक्कामा निर्माण सुरु गरिएको भए पनि अहिलेसम्म एक करोड ७५ लाख रुपैयाँ सकिएको ठेकेदार कम्पनीका अमृत भट्टराईले बताएका छन् ।
देउराली भित्री सामुदायिक वन उपभोक्ता समिति सचिव पासाङरीता शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । लेकाली जीवनशैली, भाषा, संस्कार र संस्कृति, रहनसहन, खेतीपाती, खानपान, शेर्पा समुदायको स्याब्रु नृत्य र लिम्बू समुदायको च्याब्रुङ नृत्यलगायतका विविधताको संरक्षणका लागि यो केन्द्र योग्य साबित हुने विश्वास लिइएको छ ।
काठमाडौस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ ।
गोवर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल, चुना, माटो, परालको टुक्रालाई मुछेर स्रोत केन्द्रको निर्माणमा प्रयोग गरिएको छ । स्थानीय स्तरमा भएको जैविक विविधता संरक्षणलगायत वातावरणमैत्री सेवाको प्रवद्र्धन तथा सदुपयोग गर्न, पर्यापर्यटन व्यवसाय सञ्चालन गरी वन उपभोक्ता समूहको आयआर्जनका स्रोत स्थापित गर्न तथा महत्वपूर्ण जडिबुटी, रेडपाण्डा र संरक्षित जंगली जनावर, पक्षी र दुर्लभ प्रजातिको प्रदर्शनी थलो बनाउन केन्द्र प्रभावकारी विश्वास लिइएको छ ।
विसं २०७६ मङ्सिर देखि भवनको निर्माण कार्य सुरु भएको हो । गत असार मसान्तमा सम्पन्न हुनुपर्नेमा कोरोना महामारीका कारण लामो समयको लकडाउनले तोकिएको समयमा पूरा गर्न सकिएको थिएन ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप