स्थलगतः ढुङ्गावालीको कथा

अब उठ्ने पालो धरानकी रोदा राईको

चम्किएकी धरानकी ‘ढुंगावाली’ रोदा, खोलामा ढुंगा खोजेर गायिक बन्ने सपना, जसलाई अहिले ढुङ्गा खोज्दा देउता मिलेझैं भयो, भन्छिन्- भाइरल मात्रै होइन गायिका नै बन्छु (१५ तस्वीर र भिडिओ)


  • शेखरनाथ जोगी
  • २०७८ वैशाख २५

धरानः धरान-५ ठिङ्गाबारीकी रोदा राई गीत गाउन खप्पिस छिन् । सानैदेखि गीत गुनगुनाउने उनी अहिले चर्चाको शिखरमा छिन् । उनको घर अँधेरीखोलाको बगरछेऊमै छ । त्यो घर पनि नम्बरी होइन । ठिङ्गाबारीमा रहेको अँधेरीखोलाको बगरमा ढुंगा टिपेर गुजारा गर्ने उनको परिवारसहित ढुङ्गा खोज्दै गर्दा भेटिएपछि उनी एकाएक चर्चामा आएकी थिइन् । कारण थियो– उनको जादुमय स्वर । प्लस टु सिध्याएकी उनको स्वर जादुमय छ ।
सफल गायिका बन्ने लक्ष्य लिएकी उनी घरको आर्थिक अवस्थाले गर्दा नै उनले आफ्नो जादुमय स्वर पस्किन सकेकी थिइन् भने सङ्गीत सिक्ने अवसर पनि पाएकी थिइनन् । तर जुन ढुङ्गा टिप्दै गरेको अवस्थामा भेटिएकै भन्दै सामाजिक सञ्जालमा एकाएक चर्चामा आउन थालेपछि उनले अहिले गीत गाउने र सङ्गीत सिक्ने अवसर समेत पाएकी छिन् ।
आर्थिक अवस्था नाजुक भएकाले बिहानैदेखि खोलाभित्रको ढुङ्गा निकालेर भेला पारी बिक्री गरेर आमाबुबालाई सघाउँदै आएकी उनी अहिले सङ्गीत सिक्ने अवसर पाएकोमा औधी खुशी छिन् । ‘घरको आर्थिक अवस्था एकदमै नाजुक रहेको छ, छोरीले कलिलै उमेरमा धेरै जिम्मेवारी बहन गर्नुपर्ने अवस्था थियो, त्यही भएर पनि उनले चिनिने, गीत गाउने र सङ्गीत सिक्ने अवसर पाएकी थिइनन्’, बाबु हरिलाल राईले भने, ‘चर्चामा आएपछि अहिले केही सहज भएको छ, उनले सङ्गीत सिक्ने अवसर समेत पाएकी छिन्, धेरै खुशी छौं ।’
उनले गाएको गीत सुनेर सबै चकित हुन्छन् । उनको स्वर मेलिना राईको जस्तै छ । बुबा हरिलाल भन्छन्, ‘छोरीको स्वरमा विछट्टै जादु छ भन्ने कुरा मलाई पहिलादेखि नै थाहा थियो, सानोमा पनि उनी गीत गुनगुनाउने गर्थिन्, तर आर्थिक हैसियतका कारण आफ्नो प्रतिभा देखाउन भने पाएकी थिइनन्, चर्चित गायिका मेलिना राईजस्तै बन्ने सपना पूरा हुन्छ भन्नेमा अहिले आशावादी छौं ।’
उनी १० वर्षको उमेरदेखि नै उनी गीत गाउने गरेको बुबा हरिलाले जानकारी दिए । ‘स्कुलमै हुने कार्यक्रम, हाट बजारमा हुने कार्यक्रममा गाउँथिन्, थोरबहुमत पुरस्कार पनि थापिसकेकी छिन्’, उनले सानोको अतित सम्झँदै थपे, ‘खासमा सानैमा उनको प्रतिमा चिनेकै हो, गीत सङ्गीतको पनि शिक्षा लिन सकिन्छ भन्ने थियो तर त्यो पूरा हुनै सकेन ।’
तीन वर्षअघि नै प्लस टु सकेकी उनले हाल अध्ययनलाई थाँती राखेकी छिन् । खर्च अभावमै पढाउन नसकेको आमा दुर्गामाया मगर (राई) बताउँछिन् । ‘खर्च अभावमै उनको पढाइ रोकिएको हो’, उनले भनिन्, ‘अहिले गीत–सङ्गीत सिक्दै पढ्छु पनि भनिरहेकी छिन्, त्यसका लागि पनि खर्चकै अभाव छ ।’
कसरी एकाएक चर्चामा आइन् त रोदा ?
ठिङ्गाबारीमा रहेको सो खोलाको भित्तामा राम्रो दृश्य छ । गत फागुनतिर त्यही राम्रो दृश्य भएको स्थानमा फिल्म सुटिङ भइरहेको थियो । त्यही फिल्म सुटिङको बेलामा उनी र उनको परिवार नै बगरमा ढुङ्गा खोज्दै थिए । त्यतिबेला फिल्म सुटिङमा आएका मानिसले यो फिल्ममा जुनसुकैले भाग लिन पाउने र कोही गीत गाउने भएपनि हुन्थ्यो भन्न थाले । त्यतिबेलै बगरमै उनले गीत पनि गाएर सुनाइन् ।
सबैले आहा कस्तो मिठो स्वर भन्न थाले । अनि उनी छनौटमा पनि परिहालिन् । त्यतिबेला गायक तथा सङ्गीतकार आरसी थुलुङले उनको भिडियो, घरलगायत परिवारका सबै कुराकानीसहितको भिडियो तयार पारे । उनले गाएको गीत पनि घरमै रेकर्ड भएको थियो । त्यो भिडियो पोष्ट भएपछि सबैलाई खुल्दुली भएको थियो ।
‘भिडियो सुटिङ गर्न आइपुग्नु र भिडियो तयार गरेर प्रचारप्रसा गर्नु नै उनको लागि अवसर बन्यो’, बुबा हरिलाल भन्छन्, ‘त्यो भिडियो सार्वजनिक भएपछि धेरै सोसल मिडिया, युटयुब, अनलाइन पत्रिकालगायतका मिडियाकर्मीहरु घरमै आउन थाले र उनी छाउन थालिन् ।’
यो गीत गुनगुनाएपछि उनी बढीजसो चर्चामा आएकी हुन् ।
बनेको छ पहराले यो छाती मेरो
बगेको छहरा रगतमा मेरो
पखेरोमा जन्मे, टाँकुरामा हुर्के
म झुक्दै नझुक्ने नेपालकी छोरी
उनको जीवनकथा गीतभन्दा केही फरक छ अर्थात् भनौं ठीक उल्टो छ । पाँचथरको टाँकुरामा जन्मिएकी उनी धरानको पखेरामा हुर्किइन् । उनलाई अहिले ढुङ्गा खोज्दा देउता मिलेझैं भएको छ । भन्छिन्, ‘अहिले मलाई ढुङ्गा खोज्दा देउता मिलेझैं भएको छ, म इटहरीमा सङ्गीत सिक्न थालेकी छु, एउटा गीत पनि गाइसकेको छु ।’ उनले भविष्यमा मेलिना राईजस्तै गीत गाएर चर्चामा आउने र गीत-सङ्गीतकै माध्यमबाट देश चिनाउने लक्ष्य लिएको सुनाइन् ।
अहिले उनले पूर्वाञ्चल म्युजिक स्टुडियो इटहरीमा ‘चङ्गा उडेझैं’ बोलको गीतमा स्वर भरेकी छिन् । यो समाचार तयार पार्दासम्म उनको गीत र भिडियो हेर्ने १५ हजार नाघेको छ ।
उनी मेलिना राईजस्तै चर्चित गायिका बन्ने लक्ष्य छ । ‘भ्वाइस अफ र नेपाल आइडलमा पनि भिड्ने लक्ष्य छ’, उनले थपिन्, ‘भविष्यमा चर्चित गायिका मेलिनाजस्तै बन्छु भनेर लागिपरेकी छु । मेलिना, अञ्जु पन्तलगायतका कलाकार ‘बिग फ्यान’ हुन् । अब उठ्ने पालो- धरानकी रोदाको, हाम्रो तर्फबाट हार्दिक शुभकामना ।
भिडिओ प्रस्तुतिः तिर्थ कार्की

लुकेको प्रतिभा बाहिर निकाल्ने राई ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप