श्रमिकको पारिश्रमिक बढ्यो, मासिक १५ हजार

बैंकका कर्मचारीको पनि बढ्यो


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख २१

धरानः आगामी साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ ।
राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेको उल्लेख गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व श्रमिक दिवसको अवसरमा मे १ तारिखमा सम्बोधन गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गरेका थिए ।
निर्धारित नयाँ पारिश्रमिक दरअनुसार अब श्रमिकले ९ हजार ३८५ रुपैयाँ आधारभूत र ५ हजार ५१५ रुपैयाँ महंगीभत्ता गरी कूल १५ हजार रुपैयाँ मासिक न्यूनतम पारिश्रमिक पाउनेछन् । त्यस्तै दैनिक ज्यालादारीको हकमा ३६१ रुपैयाँ आधारभूत र २१६ रुपैयाँ महंगीभत्ता गरी ५७७ रुपैयाँ पारिश्रमिक तोकिएको छ । प्रतिघण्टा काम गरेको श्रमिकले ७७ रुपैयाँ पाउनेछन् ।
साउन १ गतेदेखि लागू हुने गरी निर्धारण भएको पारिश्रमिक चिया बगान बाहेकका श्रमिकका लागि लागू हुने राजपत्रमा उल्लेख छ ।

यस्तै, कोरोना कहरबीच पनि बैंकका कर्मचारीले पाउने बोनस १३.११ प्रतिशतले बढेको छ ।
सञ्चालनमा रहेको २७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको नाफाबाट कर्मचारीका लागि ८ अर्ब ७ करोड २७ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याइसकेका छन् । चालु आवको गत आवको सोही अवधिको तुलनामा यो रकम ९३ करोड ५७ लाख रुपैयाँले बढी हो ।
चालु आवको चैत मसान्तसम्मको आर्जन गरेको नाफाबाट बैंकहरुले कर्मचारीका लागि न्यूनतम ५ करोड ६८ लाख रुपैयाँदेखि ५८ करोड २२ लाख रुपैयाँसम्म बोनसका लागि छुट्याएका छन् ।
जसमा सबैभन्दा बढी नबिल बैंकले ५८ करोड २२ लाख रुपैयाँ र सबैभन्दा थोरै सेञ्चुरी बैंकले ५ करोड ६८ लाख रुपैयाँ छुट्याएको हो ।
यसैगरी, आर्जित नाफाबाट कर्मचारीलाई दिने बोनसमा गत वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा वृद्धि गर्नेमा सबैभन्दा अग्रपंक्तिमा कुमारी बैंक छ । बैंकले कर्मचारी बोनसमा ७३.४३ प्रतिशतले वृद्धि गरी २९ करोड ९ लाख रुपैयाँ पुर्याएको हो ।
साथै, सो अवधिमा नेपाल बंंगलादेश बैंकले ६२.५८ प्रतिशतले थप गरी २५ करोड ८४ लाख रुपैयाँ र सिद्धार्थ बैंकले ५३.६७ प्रतिशतले थप गरी ३३ करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।
यसैगरी, गत वर्षको चैत मसान्तको तुलनामा चालु आवको चैत मसान्तमा कर्मचारीलाई छुट्याउने बोनसमा ३ वटा बैंकले ५० प्रतिशतभन्दा बढी, १० वटा बैंकले २० देखि ५० प्रतिशतसम्म बोनस रकम वृद्धि गरेका छन् । साथै, ५ वटा बैंकले १० देखि १५ प्रतिशतसम्म र ३ वटा बैंकले ५ प्रतिशतभन्दा कमले कर्मचारी बोनस रकम वृद्धि गरेका छन् । साथै ६ वटा बैंकको भने बोनस घटेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप