धरानमा सर्दुकै पानी बढाउँदै बोर्ड

सर्दुको पानी एकातिर सफा, अर्कोतिर धमिलो, बोर्डले अब सफा पानी खुवाउँछः निर्देशक


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख २१

धरानः वर्षायाममा सर्दुको पानी एकातिर सफा र अर्कोतिर धमिलो आउने गरेको पाइएको छ ।
धमिलो पानी आउने भएपछि सर्दुमा सफा पानी आउने ठाउँतिर टयाङ्की निर्माण गरिने भएको छ । धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोख्रेलका अनुसार वर्षायाममा धमिलो पानी आउने हुनाले सफा पानी आउने भागतिर टयाङ्की निर्माण गरेर उत्पादन बढाउन लागिएको बताए ।
सर्दुमा धेरै बाढी आएको बेलामा खानेपानी फिल्टर गर्न समेत नसकिने उनले जानकारी दिए । ‘सर्दुको मुहानमा एकातिरबाट सफा पानी आउँछ, अर्कातिरबाट बर्खायाममा अलि बढी फोहोर पानी आउँछ । पानी पर्न थालेपछि धमिलो आउँछ, अझ भन्ने हो भने धेरै फोहोर पनि पानी आउँछ, उनले भने, ‘यस्तो पानी आउन थालेपछि फिल्टर प्लान्टहरुले पनि काम गर्दैन, त्यसपछि धरानमा खानेपानीको समस्या बढ्छ, त्यसको लागि ट्याङ्की निर्माण गरेर लागेका हौं ।’
खासमा धमिलो पानी आउँदा ७ सय टिएसएसभन्दा बढी फिल्टर गर्न नसकिने निर्देशक पोख्रेल बताउँछन् । ‘यसो भएपछि नै धरानमा केही हदसम्म खानेपानीको समस्या हुन्छ ।’
यस्तै, सर्दुको मुहानको मर्मत कार्य पनि थालिएको छ । सर्दुखोलामा खानेपानीको उत्पादन बढाउन मुहानको मर्मत कार्य थालिएको बोर्डका निर्देशक पोख्रेल बताउँछन् ।
खानेपानीको उत्पादन बढाउन तथा वितरणमा सहजीकरण गर्नुका साथै सफा खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी व्यवस्थापन बोर्डले मर्मत कार्य शुरु गरेको हो ।
सो क्षेत्रमा पाइपलाइन सबै पुरयाइसकिएको छ । अहिले तुरुन्तै गरियो भने पनि सर्दुको पानीको मात्रा बढाउन सकिने निर्देशक पोख्रेलको दावी छ । ‘अहिले हामी पानी उत्पादनलाई कसरी बढाउने भनेर लागिरहेका छौं’, उनले भने, ‘अहिले मुहान मर्मत, सफा पानी आउनेतिर टयाङ्की निर्माण थालिएको छ, हप्तादिनभित्रमा काम सकिन्छ, यसले पानीको उत्पादन पनि बढ्ने, बर्खामा फोहोर पानी आउने समस्याबाट धेरै हदसम्म पार पाइन्छ ।’
सर्दुको मुहान क्षेत्रमै बसेर कामदारहरुले अहिले बिहानदेखि नै काम गरिरहेका छन् । पाइपलाइनको कामसँगै खोलाको छेऊछेऊमा ग्याबिनहरु राखेर मेशिनरी वालहरु पनि बनाइने भएको छ ।
आइतबार बोर्डका अध्यक्ष तथा मेयर तिलक राईले सो क्षेत्रको स्थलगत अनुगमन गरेका थिए । निर्देशक पोख्रेलले हाल ३० प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनले एक हप्ताभित्रमा काम सकिने दावी गरे । पाइपलाइन ल्याएर इन्टेकमा झार्नको लागि अहिले काम सुरु गरिसकेको उनले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप