जनगणना-२०७८ः कुलुङले के लेख्ने ?

‘कुलुङ’ मात्रै होइन, कुलुङ राई लेखौं, लेखाऔं भन्न सक्छन् तर अब केही जोरजुलुम चल्दैन


  • निनाम कुलुङ ‘मंगले’
  • २०७८ वैशाख २०

विगत लामो समयदेखि नेपाल सरकारले हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । यसरी नेपालमा जनगणना गरेर आप्mनो देशको जनसंख्याको लगत लिने काम सुरु भएको आगामी जेठ–असारमा १२ औं पटक हुँदैछ । किनभने आगामी जेठ २५ देखि असार ७ गते, विसं २०७८ सम्म १२ औं राष्ट्रिय जनगणना हुँदैछ ।
हुन त कुलुङ जातिका सम्बन्धमा भन्नुपर्दा विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामै कुलुङ जातिको जनसंख्याको अलग्गै तथ्यांक आएको छ । विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ आएको छ भने कुलुङ मातृभाषा वक्ता संख्या ३३ हजार १७० आएको छ । सोही आधारमा नै केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आगामी १२ औं राष्ट्रिय जनगणनामा पनि कुलुङ जातिका लागि अलग्गै जातिगत र भाषागत कोड उपलब्ध गराएको छ । केन्द्रीय तथ्यांक विभागले १२ औं जनगणनाका लागि कुलुङ जातिलाई उपलब्ध गराएको ‘जातिगत कोड–६२’ रहेको छ भने, कुलुङ ‘मातृभाषागत कोड–२९’ रहेको छ ।
स्मरण रहोस्, हामीलाई कसैले (वास्तविकता नबुझेर कुलुङ (कुलुङबीचमै पनि) ‘कुलुङ’ मात्रै होइन, कुलुङ ‘राई लेखौं, लेखाऊँ भन्न सक्छन् । तर, ‘कुलुङ’ मात्रै नलेखेर, कुलुङ ‘राई’ लेख्दा ‘कुलुङ’ जातिको जनसंख्या फेरि पनि ‘राई’ जातिमा गाभिन जान्छ भने, विसं २०६८ को जनगणनामा जस्तै कुलुङको जनसंख्या कम आउँछ । त्यसैले हामीले विसं २०६८ मा जस्तो कुलुङ ‘राई’ लेखेर हाम्रो असली कुलुङ जातीय स्वपहिचान मास्ने र हाम्रो वास्तविक जनसंख्या घटाउने काम यो पटक नगरौं ।
विसं २०६८ मा पनि हाम्रा सोझासीधा कुलुङहरुलाई ‘कुलुङ’ मात्रै होइन, कुलुङ ‘राई’ लेखौं, लेखाऊँ भनी सम्झाइबुझाइ गरेर कुलुङ जातिको वास्तविक जनसंख्या राष्ट्रिय जनगणनाको तथ्यांकमा आउन दिइएन । जसले गर्दा राज्यले तय गर्ने हरेक नीति निर्माण, विकास निर्माण प्रक्रियामा सहभागिता, समावेशीकरण, शिक्षा, स्वास्थ्य आदिमा कुलुङ जाति छुट्ने गरेको छ ।
हामी कुलुङ जातिका लागि मुख्य बाधक रहेको र, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाको तथ्यांक आउने बेलामा कुलुङ जातिको अलग्गै तथ्यांक प्रकाशित नगर्न केन्द्रीय तथ्यांक विभागलाई समेत बाधा र दबाब दिने पनि गरिएको छ । तर, अब उनीहरुको पनि केही जोरजुलुम नचल्ने भो भन्ने त कुलुङ जातिले पाएको जातिगत ‘कोड–६२’ र भाषागत ‘कोड–२९’ ले प्रमाणित गरेको छ । यसले धेरथोर त्यस्तै हो, १२ औं राष्ट्रिय जनगणनामा पनि कुलुङ जातिको जनसंख्या र भाषागत तथ्यांक आउने पक्का भयो । त्यसैले कुलुङ जातिको वास्तविक जनसंख्या र भाषा वक्ता संख्या देखाउनका लागि पनि आगामी जनगणनामा कुलुङ लेख्न, लेखाउन लागि परौं । अर्को भनेको हामी कुलुङ जातिका अगुवाहरुले विगत ‘२१–२२ वर्षदेखि गर्दै आएको संघर्षको मीठो फल पनि हुनेछ ‘(विसं २०७८ मा हुने जनगणनामा आउने कुलुङ जातिको जनसंख्या र भाषा वक्ता संख्या ।’
अझ अर्को महत्वपूर्ण कुरो बाँकी नै छ । त्यो हो ‘कुुलुङ जाति आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा २ (क) अनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत हुनु ।’ हुन पनि हामी कुलुङ जातिले जति ठूलो स्वरमा ‘कुलुङ राई’ होइन, कुलुङ जाति पनि नेपालका अन्य जात वा जातिसरह अलग्गै र स्वतन्त्र जातीय स्वपहिचान भएको जाति हो ।’ भनी लेखे तापनि, बोले तापनि आदिवासी जनजाति सूचीमा सूचीकृत नभएसम्म कसैले कुलुङ अलग्गै जाति हो भनेर भन्दैनन् । हुन त माथि नै एक प्रसंगमा भनियो कि, कुलुङ जातिको अलग्गै जनसंख्याको तथ्यांक आउनबाट राई यायोक्खा नामक एनजिओका हर्ताकर्ताहरु लगायत अरु कसैको पनि अब केही जोरजुलुम चल्दैन । किनभने, केन्द्रीय तथ्यांक विभागबाट कुलुङ जातिले अलग्गै जातिको रुपमा जातिगत ‘कोड ६२’ र भाषागत ‘कोड २९’ पाइसकेको छ ।
खासमा हिजोसम्म कुलुङ ‘राई’ भनी चिनिएका कुलुङहरु आज किन कुलुङहरु ‘राई’ होइन भन्दैछन् ? स्वाभाविक रुपमा प्रश्न उठ्छ नै । जस्तो नेपालको हालसम्मको जातीय बनोटको आधारमा उदाहरण प्रस्तुत गर्नुपर्दा मगर नेपालको एउटा जाति मानिन्छ । अनि जसरी मगरभित्र थापा, राना, आले, रखाल, मास्की, पुन, तिलिजा आदि थरहरु हुन्छन्, त्यसरी नै कुलुङ भनेको पनि मगर भने जस्तै जाति हो भने कुलुङको पनि मगरभित्र विभिन्न थरहरु भए जस्तै थर, उपथरहरु छन् । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, वार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, ङोपोचो लगायत २ सय ६० वटाभन्दा बढी कुलुङ जातिभित्र थर, उपथरहरु रहेको छ ।
कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तर-पूर्वी क्षेत्र हो । जुन क्षेत्रलाई ‘महाकुलुङ’ अर्थात् ‘ग्रेटर कुलुङ’ भनेर चिनिन्छ । त्यस्तै हिजोसम्म ‘राई’ भनी चिनिएका कुलुङहरु अहिले आएर किन कुलुङ जातिका रुपमा चिनिन चाहन्छन् त भन्दा वास्तवमा ‘राई’ भनेको ‘राय’ शब्दको अप्रभंसित रुप हो भने ‘राय’ भन्नाले कर्णालीतिर ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो । तर, नेपाल एकीकरण अघिसम्म एकै रहेको वा विभाजन भए, नभएको यकिन नभएको किरात भूमि र किरातहरुलाई नेपाल एकीकरणपछि विभाजन गरेर वल्लो किरातका प्रभावशाली र जान्ने, बुझ्ने सुनुवार जातिका अगुवाहरुलाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत खम्बुका सन्तानका प्रभावशाली र जान्नेबुझ्न अगुवाहरुलाई ‘राई’ पल्लो किरात, लिम्बुवानका लिम्बु र लाप्चा जातिका अगुवा, प्रभावशाली र जान्ने बुभ्mनेहरुलाई ‘सुब्बा’, त्यस्तै तराईका थारु जतिका प्रभावशाली, अगुवा जो जान्ने, जान्नेबुझ्नहरु थिए, उनीहरुलाई ‘चौधरी, चौधराई’ पद वा पगरी दिएर उनीहरुलाई ‘छोटे राजा’सरह मान्ने गरियो । स्मरणीय छ, यसरी ‘मुखिया’, ‘राई’, ‘सुब्बा’, ‘चौधरी, चौधराई’ आदि पद वा पगरी पाएका व्यक्तिहरुलाई केन्द्रीय सरकारले ‘पञ्चखत’ बाहेकको सबै कानुनी काम कारवाहीहरु स्थानीयस्तरमै गर्ने अधिकारहरु दिएको थियो ।
यसरी हेर्दा ‘राई’ मात्रै नभएर ‘सुब्बा’, ‘मुखिया’, ‘चौधरी, चौधराई’ आदि पनि पद वा पगरी नै हो भन्ने प्रस्ट छ । त्यसैले ‘राई’ पद वा पगरी पाएका खम्बुका सन्तानहरुमध्ये कुलुङ जातिले विगतमा आप्mना पितापुर्खाले पाएको ‘राई’ पद वा पगरीलाई फालेर, त्यागेर आप्mनो वास्तविक र असली जातीय स्वपहिचानले चिनिनका लागि ‘राई’ नलेखेर, नभनेर ‘कुलुङ’ मात्रै लेख्ने, भन्ने निर्णय गरेको हो ।
थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९
[email protected]

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप