सुनसरीमा जनगणना २०७८

सुनसरीका आदिवासी जनजातिलाई गणनामा के लेख्ने भन्नेबारे सचेत गराइयो


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख १९

धरानः १२ औ राष्ट्रिय जनगणना २०७८ सम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
इटहरीको बगान होटेलमा शनिबार सम्पन्न भएको कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति उत्थान प्रतिष्ठानको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद सुनसरीको ब्यवस्थापनमा भएको हो ।
कार्यक्रममा सुनसरी जिल्लामा रहेका १९ जातीय संस्थाका प्रतिनिधिहरु, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ आदिवासी युवा महासंघको प्रतिनिधिहरु सहभागी रहेका थिए । कार्यक्रमलाई सुनसरी जिल्ला तथ्याङ्क विभागका प्रमुख सुवास अधिकारी र नेफिन सुनसरीका सल्लाहकार गोपाल देवानले सहजीकरण गरेका थिए ।
सहजकर्ता अधिकारीले १२ औ शृङ्खला संघीयतामा पहिलो भएको बताए । उनले १५ दिन लगाएर गरिने जनगणना असार ८ गतेलाई राष्ट्रिय जनगणना दिवसको रुपमा रहेको बताए । उनले २०७८ को जनगणनामा करिब ७० लाख घर परिवार र करिब ३ करोड जनसंख्या रहेको अनुमान गरिएको बताए । जनगणनामाघर तथा परिवार लगत सूचीकरण प्रश्न २५ वटा र मुख्य प्रश्नावली ५५ वटा रहेको बताए ।
सहजकर्ता गोपाल देवानले आदिवासीको लागि राज्यमा पहुँच पुरयाउनको लागि सुनौलो अवसर रहेको बताए । उनले जनगणनाको प्रश्नावलीमा ७, ८, ९, १० र ११ को महल आदिवासीको लागि महत्वपूर्ण रहेको बताए । महल ७ मा जातजाति महल ८ मा पुर्खा भाषा ९ मा मात्री भाषा १० मा दोस्रो भाषा र महल ११ मा धर्मको महल रहेको बताए । पुर्खा भाषा र मात्री भाषा झुक्किने खालको महल भएकोले आदिवासीले पुर्खा भाषा र मातृभाषा एउटै लेख्न सचेतना गराए ।
त्यसैगरी थरको पछाडि पनि जाति लेख्न सचेत गराए । जनगणनामा आदिवासीको लागि महल अभाव रहेको बताए । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले वर्गीकरण गरेको लोपोन्मुख अल्पसंख्यक, सीमान्तकृत के हो त्यो राखिएको भए तथ्याङ्क सजिलो निस्कने बताए ।
महिलाहरु एउटै डालोमा राखिएकोले खस आर्य महिला मधेसी आदिवासी महिलाको पहिचानको अभाव भएको बताए । त्यसैगरी नेपाली भाषा नजान्ने आदिवासी जनजातिको बहुल बसोबास रहेको स्थानमा दोभासेको ब्यवस्था हुनुपर्ने उनको भनाइ छ । उनले आदिवासीको सूचीकरण भएको १२ वटा जाति समेत गायब भएको बताए ।
किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले जनगणना नै राज्यको मुख्य आधार भएकोले यसमा सबै सहभागी भएको खण्डमा कुनै संघसंस्थाले आगामी दिनमा आफ्नो समुदायको यति भनेर दाबी गर्न नपर्ने बताए । २०७८ साल जेठ २५ गतेदेखि गणक घरघरमा खटिने तयारी छ । नेपालमा पहिलोपटक विक्रम सम्वत १९६८ सालमा शुरु भएको थियो । कार्यक्रम नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कमल राजवंशीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप