धरानमा ज्येष्ठ नागरिक र बालबालिकाका लागि बन्यो १४ लाखको भवन

समाजसेवीले लगाए ४ लाख बढी


  • तिर्थ कार्की
  • २०७८ वैशाख १९

धरानः धरान उपमहानगरपालिका वडा नं.१३ को कार्यालय परिसरमा आइतबार ज्येष्ठ नागरिक तथा वडा बाल सञ्जालको भवन एक कार्यक्रमका बीच उद्घाटन भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित भवनको रिवन काटेर उद्घाटन गरे। उद्घाटनपछि मेयर राईले स्थानिय सरकार समग्रमा जनताको सुझाव र मनोभावनाअनुसार काम गर्न चाहेको बताए ।
राम्रो कामको सबैले प्रशंसा गर्न र नराम्रो काममा विशेष खबरदारी गर्न आग्रह गर्दै मेयर राईले जनप्रतिनिधिहरुको बीचमा स्वार्थ बाझिनु नहुने धारणा व्यक्त गरे ।
भवन निर्माणका लागि धरान उपमहानगरपालिका सामाजिक विकास समितिबाट प्राप्त ४ लाख ८० हजार, बालमैत्री वडा घोषणा गरेबापतको प्राप्त पुरस्कार ५ लाख र वडाबासी विभिन्न सहयोगी (समाजसेवी) दाताहरुबाट प्राप्त ४ लाख २० हजार रुपैयाँ गरी जम्मा १४ लाख रुपैयाँ लागतमा भवन निर्माण भएको वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।
नवनिर्मित भवनमा ज्येष्ठ नागरिक, बालबालिकालाई योगाका साथै विभिन्न कार्यक्रम गर्ने र विशेषगरी ज्येष्ठ नागरिक र बालबालिकालाई एकै थलोमा राखेर ज्येष्ठ नागरिकबाट बालबालिकालाई पुराना संस्कार, संस्कृति, रीतिरिवाजजस्ता कुराहरुको पुस्ता हस्तान्तरणको अभियान चलाइने वडा अध्यक्ष काफ्लेले बताए ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने सहयोगी दाताहरुलाई प्रशंसापत्र र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा पूर्व वडाध्यक्षद्वय हरिहर प्यारा श्रेष्ठ र हर्कबहादुर कटवाल, ज्येष्ठ नागरिक केन्द्रका अध्यक्ष धनबहादुर त्रिखत्री, अमर टोल सुधार समितिका अध्यक्ष कृष्ण लावती, अमर सेवा समाजका कार्यालय सचिव गोपाल श्रेष्ठ, वडा बाल सञ्जालका अध्यक्ष विनोद काफ्लेको उपस्थिती रहेको थियो ।
त्यस्तै, १३ नं.वडा कार्य समितिका सदस्यहरु कमला श्रेष्ठ, पदमा सुब्बा, उर्मिला परियार र सन्तोष राईको समेत उपस्थिती रहेको थियो । कोभिड–१९ को फैलिँदो संक्रमणलाई मध्यनजर गर्दै अनिवार्य मास्क, सेनिटाइजर र भौतिक दुरी कायम गरेर कार्यक्रम गरिएको वडा अध्यक्ष काफ्लेले जानकारी दिए । कार्यक्रमको सञ्चालन बालबालिका फोकल पर्सन रितु राईले गरेकी थिइन् ।
तस्वीरहरुः तिर्थ

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप