मोटरसाइकलको कर घटाउन माग

५० हजार पनि नपर्ने मोटरसाइकललाई २ लाखभन्दा बढी रुपैयाँ तिर्न बाध्य


  • हाम्रो कोशी आवाज.com
  • २०७८ वैशाख १७

धरानः व्यवसायीले कोरोना भाइरसको दोस्रो चरणको महामारीका कारण सार्वजनिक यातायातमा यात्रा गर्नु निकै जोखिम भएको बताउँदै मोटरसाइकलमा लगाइएको कर घटाउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै व्यवसायी राजबहादुर साहले भने, ‘सार्वजनिक यातायातको यात्रा सुसाइड गर्नु सरह भयो, तर चर्को करका कारण सबैले मोटरसाइकल चढ्न सक्ने अवस्था पनि रहेन, त्यसैले मोटरसाइकलमा लगाइएको कर आधा कम गर्नुपर्छ,’ उनले भने ।
कोरोना महामारीको जोखिम अझै ३–४ वर्षसम्म यस्तै रहने देखिएको भन्दै उनले कोरोनाबाट जोगाउनका लागि यातायातलाई सेवालाई प्रभावकारी बनाउन सरकारले ध्यान दिनुपर्ने बताए ।
‘५० हजार रुपैयाँ पनि नपर्ने मोटरसाइकललाई चर्को मूल्यका कारण २ लाखभन्दा बढी रुपैयाँ तिर्न बाध्य भएका छौं,’ उनले भने, ‘सार्वजनिक यातायातको तुलनामा मोटरसाइकल बढी प्रभावकारी भएकाले मोटरसाइकललाई सर्वसुलभ बनाउनु पर्छ ।’
साहले उद्योग सञ्चालन गर्ने हो भने उद्योगका कर्मचारीलाई भ्याक्सिन लगाउनै पर्ने उनले बताए । उनले कर्मचारीसँगै भ्याक्सिन हरेक परिवार र समुदायसम्म पनि पुरयाउन सरकारसँग माग समेत गरे ।
त्यसका साथै उद्योग सञ्चालनका लागि उद्योगभित्र हाउजिङको व्यवस्था गर्नुपर्ने अवस्था आएको बताए । ‘पक्कै पनि यसका लागि खर्च ठूलो हुनेछ, तर कर्मचारीलाई उद्योगमा काम गराइ राख्नका लागि कर्मचारीलाई खान र बस्नको व्यवस्थाका साथै अक्सिजनको समेत व्यवस्था हुनुपर्ने आवश्यक देखिएको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै निर्वाण चौधरीले कर्मचारीको स्वास्थ्य मुख्य विषय भएकाले त्यसमा ध्यान दिनुपर्ने बताए । उनले भारतबाट पाठ सिकेर नेपालमा पनि सोही अनुसारको काम गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै नबिल बैंकका सीइओ अनिल केशरी शाहले निषेधाज्ञाको समयमा पनि बैंकिङ सेवा पूर्णरुपमा सञ्चालन भइरहेको बताए । उनले थोरै संख्याका कर्मचारीबाट पनि पूर्णरुपमा बैंकिङ सेवा दिइरहेको बताए ।
त्यसैगरी चलचित्र व्यवसायी नकिम उद्दिनले चलचित्रमा यो वा त्यो रुपमा कैयन मानिसहरु जोडिएको भन्दै सरकारसँग टिकटमा विभिन्न प्रकारका ३३ प्रतिशत कर घटाउन माग गरे ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप