टिप्पणीः खासमा निषेधाज्ञा आवश्यक छैन

नआत्तिऔं ! निषेधाज्ञा उपचार होइन, यसले आर्थिक र सामाजिक पीडा पनि दिन्छ


  • शेखरनाथ जोगी
  • २०७८ वैशाख १६

धरानः धरानमा अहिले अधिकांशको मुखमा मास्क झुन्डिएको छ । अघिल्लो वर्षका कोरोना कहरको बेलाभन्दा यसवर्ष जनता धेरै सचेत छन् ।
अहिले कोरोनाको कहर बढ्दै गएको छ । २०७६ चैत ११ गतेदेखि कहालीलाग्दोरुपमा लामो लकडाउन (बन्दाबन्दी) गरिएको एक वर्षपछि पुनः लकडाउनको हल्ला चल्यो । तर यतिसम्म निर्णय समेत भइसकेको छ- कतै सातादिन, कतै १५ दिने निषेधाज्ञा । यसका लागि जनता आफैं सचेत बन्नुको विकल्प छैन ।
कोरोना संक्रमण बढ्दो गतिमा रहेपनि, अर्थतन्त्र जीवित पार्नकै निमित्त लकडाउनलाई नयाँ स्वरूप दिएर परिमार्जन गरिएको मात्रै हो । लकडाउन निकै गहुङ्गो साथै महङ्गो भएको सबैले महसुस गरेकै हुन् । नेपाल राष्ट्र बैङ्क भन्छ- कोरोनाले एक चौथाइले रोजगारी गुमाए, उद्योग, ३५ प्रतिशत मात्रै उद्योग–व्यवसाय आंशिकरूपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत पूर्णरूपमा बन्द भए । शिक्षा, होटल तथा रेस्टुराँ, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलाप, यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर नै असर गरेकै हो ।
लकडाउनले हामी सबैलाई सास्ती दियो । लकडाउनले मानसिक रोगी बढी जन्मायो, धेरैले आत्महत्या पनि गरे । खासमा नढाँटी भन्नुपर्दा भारतमा कोरोनाको संक्रमण दर र मृत्युदर बढिरहेको हो । नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्नुका साथै यहाँ पनि संक्रमित थपिएका हुन् । तर थोरैमा मात्रै संक्रमण थपिरहँदा हामी किन सचेत नबन्ने ?

अघिल्लो वर्ष यो महामारी शुरु हुँदा हामी सबै अनभिज्ञ झैं थियौं, मास्क लगाउन पनि अनकनाउँथ्यौं, यसो गर्दा बच्छौं, उसो गर्दा बच्छौं भन्ने विधि अहिले सबैलाई थाहा छ । सरकारले पनि कतिबेला लकडाउन गर्ने हो र लकडाउन हुँदा के भयो भन्नेबारेमा निष्कर्ष निकाल्दै आर्थिक अवस्थामा पनि गुज्रिएकै हो ।
अब कोरोना संक्रमणको रोकथामका निमित्त लकडाउनको विकल्पबारे पनि सोंचौं । लकडाउन मात्र कोरोनाको उपचार होइन भन्ने यथार्थ बुझौं । अब यस्तो नहोस् भनेर बेलैमा सरकार र नेपाली जनताले होस पुरयाउनु जरुरी छ ।
कोरोना नियन्त्रणका निमित्त सरकार र जनता दुवैको सहकार्य महत्वपूर्ण भूमिका रहन्छ । लकडाउनभन्दा प्रभावकारी जनचेतना नै हो । जनचेतना उच्च भएको खण्डमा लकडाउन पूर्ण खोल्दा पनि संक्रमण यो गतिमा बढ्दैन । तर जनता सचेत भइदिएनन्, जनता प्रोटोगल पालना गरेनन् भने संक्रमण रोकथाम सम्भव छैन ।
कोरोनाबाट नागरिकलाई जोगाउन नेपाल सरकार लागेकै हो र लागेकै छ । यो रोगबाट बच्न जनता पनि अनुभवी भइसकेका छन् । कसरी हात धुने, कसरी मास्क लगाउने, के खाने, के नखाने, घर बाहिर भिडभाडमा नजाने र भौतिक दूरी बनाएर बस्ने मात्र नभई यो रोगबाट बच्न आइसोलेसन र क्वारेन्टाइनमा बस्नुपर्छ भन्नेबारे ज्ञान प्राप्त भएको छ । यसअनुसार जनता अघि बढ्न आवश्यक भइसकेको छ ।
यो रोगबाट बच्न सरकार र जनताको संयुक्त प्रयास आवश्यक हुन्छ । एक्लै संक्रमण नियन्त्रण सम्भव छैन भन्ने बुझे पुग्छ । गत वर्ष पनि सरकार र जनताको संयुक्त प्रयासबाट यसको नियन्त्रण सम्भव भएको हो ।

नेपालमा अहिलेसम्मको अवस्थामा कोभिड १९ बाट आत्तिइहाल्नुपर्ने अवस्था छैन । धरानको मामिलामा हेर्ने हो भने थोरै मात्रै संक्रमित भएका पक्कै हो । केवल सरकार र जनताको सचेतना आवश्यक छ । यसका लागि सरकारले गर्दैआएका प्रयास सकारात्मक छन् । सीमा क्षेत्रमा स्वास्थ्य जाँच गर्ने, कोभिडको लक्षण देखिएकालाई आइसोलेसन र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्ने, ठूला भेला गर्न नदिने र गत वर्षको अनुभवको आधारमा सबैलाई अनिवार्य मास्क लगाउनेसमेतका स्वास्थ्य मापदण्ड पालना गर्ने, गराउने मात्र गरेमा अहिलेको अवस्था सजिलै नियन्त्रण हुनसक्छ । खोपले पनि यसलाई नियन्त्रण गर्न सहयोग गर्छ नै ।
गृह मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना गर्न सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधाज्ञा जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै निषेधाज्ञा अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले आज सूचना जारी गरी कोभिड-१९ को दोस्रो लहरको सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ । यस्तै, सुनसरीमा पनि निषेधाज्ञा शुरु भइसकेको छ । यो मात्रै समाधान होइन भन्ने सबैले बुझिदिए पुग्छ ।
तर जति नै कडा रूपमा प्रस्तुत भएतापनि यदि जनता सचेत छैनन् भने संक्रमण रोकथाम सम्भव छैन । हिजो पूर्ण लकडाउन रहेकै समयमा जसरी लुकीछिपी मान्छे एक ठाउँबाट अर्को ठाउँ पुगे, संक्रमण त्यहींबाट फैलन सुरु भएको थियो । यो कुरा सबैले बुझौं ।
धेरै देश कोरोना संक्रमणमुक्त भयो भन्दा हामी कहिल्यै मुक्त हुन सकेनौं । देशव्यापी निषेधाज्ञा नभई अहिले ठाउँअनुसार निषेधाज्ञा जारी गरिएको छ । यसले पहिलाको जस्तै लकडाउन अर्थातर निषेधाज्ञा हुँदैन भन्ने बुझे हुन्छ । एकजनाबाट फैलिएको यो महामारी जोसुकैलाई लाग्न सक्छ भन्नेमा कसैले हेलचेक्रयाइँ गर्नु हुँदैन । लकडाउन कोरोना संक्रमणको विकल्प पनि होइन ।

सामाजिक दूरी, मास्क र स्यानिटाइजर भनाइमा मात्र सीमित हुँदै गएको देखिन्छ । फलानो मेरो साथी हो, उसलाई कोरोना लागेको हुँदैन भन्ने सोच हाबी भइरहेकाले जोखिम बढ्दै गएको देखिन्छ । मास्क नलगाउने, सामाजिक दूरीको नियम पालना नगर्नेहरूलाई कारबाही गर्न सके निषेधाज्ञा आवश्यक थिएन । निषेधाज्ञा एउटा माध्यम मात्र हो, यसलाई प्रयोग गरेर परीक्षणको दायरा फराकिलो बनाउन, क्वारेन्टाइन र आइसोलेसन वार्ड निर्माण गर्न, भेन्टिलेटरको व्यवस्थापन गर्न केन्द्रीकृत हुनुपर्छ । यस्तै, खोपलाई पनि व्यवस्थित गर्दै चाँडो खोपको व्यवस्था गर्दै जानु आजको आवश्यकता हो ।
बन्दाबन्दी लागू गरेर भाइरसको विस्तारलाई सुस्त पार्न त सकिन्छ, तर यसले आर्थिक र सामाजिक दुष्प्रभाव पनि सिर्जना गर्छ । बन्दाबन्दीले रोगको विस्तारलाई सुस्त त बनाउँछ, तर साथै यसले मानिसलाई आर्थिक र सामाजिक पीडा पनि दिन्छ भन्ने कुरा सबैले हेक्का राखौं । अझ भन्ने हो भने निषेधाज्ञाले कालोबजारी, महंगी बढ्छ, भोकमरी बढ्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप