धरान बसपार्कमा पनि बाक्लिए यात्रु

दोहोरियो अघिल्लो वर्षको दृश्य, कुनै बस पनि खाली हिँडेनन्, धरानको बाटो हुँदै गाउँ फर्किने बढे


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख १५

धरानः कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि सरकारले काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा गर्ने भएपछि सर्वसाधारणहरु गाउँ फर्किएका छन् ।
विशेषतः स्कुले विद्यार्थी, अभिभावक, मजदुर, वृद्धवृद्धालगायत अन्य मानिसहरु पनि गाउँ फर्किन थालेका छन् । काठमाडौंबाट छुटेकाहरु धरानको बाटो हुँदै फर्किएका हुन् । झिटीगुटा बोकेर धरान बसपार्कदेखि धनकुटा, भोजपुर, तेह्रथुमलगायतका पहाडी जिल्ला पुग्ने बढेको धरानस्थित बुकिङ काउन्टरका कर्मचारी सुलभ तामाङले जानकारी दिए ।
काठमाडौं, पोखरा, पूर्वका विभिन्न सहरमा कार्यरत शिक्षक, कर्मचारी, विदेशबाट घर फिर्नेले शुक्रबारदेखि चाप बढेको पहाडी काउन्टरका श्याम कटुवालले बताए । ‘केहीदिनअघिसम्म बस खाली खाली नै जाने गरेको थियो तर केहीदिनदेखि चाप बढेको छ, बिहान चार बजेदेखि कुनैपनि बस खाली गएकै छैनन् ।’ उनले भने ।
त्यस्तै रोजगारीका क्रममा काठमाडौं, पूर्व, पश्चिमका विभिन्न स्थानमा बस्ने अभिभावकहरूले पनि कोरोना त्रासले आफ्नो छोराछोरीलाई गाउँ पठाउन थालेका छन् । ‘अचानक स्कुल, कलेज बन्द भएपछि शहरमा बसेर काम छैन भनेर गाउँ फर्किएका हौं’, भानुचोकमा भेटिएका संखुवासभाका जगत दाहालले भने ।
प्रशासनले १६ वैशाखबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । तर यो कम्तिमा थप एक साता लम्बिने मन्त्रिपरिषदको निर्णयबाट प्रष्ट भएको छ । निषेधाज्ञा लम्बिँदै जाँदा यहाँको बसाइ कष्टकर हुने भन्दै पढ्न र काम गर्न आएका व्यक्तिहरु उपत्यकाबाट बाहिरिएका हुन् ।
स्थानीय प्रशासनले पनि विगतमा जस्तो निषेधाज्ञा लगाइएको समयमा मानिसहरु नहिँडुन् भन्ने उद्देश्यले प्रशासनले दुई दिन घर फर्किन समय दिएको बताएको छ ।
भानुचोकमा यात्रु तान्ने प्रवृत्ति भने रोकिएको देखिएन ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप