धरानमा अन्ततः परीक्षा नहुने

लगभग एकरात मात्रै टिक्यो धरान उपमहानगरको निर्णय, विरोधपछि आजदेखि हुने परीक्षा अनिश्चित


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख १४

धरानः धरानमा आज (मङ्गलबार) सम्म पनि परीक्षा होला कि नहोला अन्यौलता कायमै थियो ।
यसअघि धरानका निजी तथा सार्वजनिक स्कुल नयाँ शैक्षिक सत्रदेखि मात्रै सञ्चालन गर्ने र वैशाख १४ गतेदेखि परीक्षा शुरु गरेर २४ गते सक्ने तयारी थालिएको थियो । तर कोरोनाको लहर शुरु हुन थालेपछि उपमहानगरपालिका एक कदम पछाडि हट्दै हतारहतार गरेर वैशाख १८ गतेसम्ममा भएपनि परीक्षा गरिसक्ने गरी सोमबार दिउँसो धरान उपमहानगरपालिकाले निर्णय गरेर लागेको थियो । तर विरोधका बावजुद त्यो निर्णय लगभग एकरात मात्रै टिकेको छ । कोरोना महामारीमा पनि परीक्षा गर्ने उपमहानगरपालिकाको निर्णय हचुवाको भरमा गरिएको र गैरजिम्मेवार रहेको भन्दै सर्वत्र आलोचना हुन थालेको थियो ।
सोमबार धरान उपमहानगरपालिकामा मेयर तिलक राईको अध्यक्षतामा बसेको बैठकले आजदेखि १८ गतेसम्म कक्षा–५ देखि माथिका कक्षाको परीक्षा लिने निर्णय भएको थियो । १८ गतेसम्ममा नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा सक्ने र अन्य विषयको आन्तरिक मूल्यांकनबाट गर्ने तयारीमा उपमहानगरपालिका थियो ।
यो निर्णय कार्यान्वयन गर्न गर्न गराउन भनी सूचना प्रकाशित भएपछि सामाजिक सञ्जाललगायत अन्यतिर विरोध शुरु भइसकेको थियो । विरोधपछि मंगलबार सूचना प्रकाशित गर्दै परीक्षा स्थगित भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालका अनुसार जनजीवन असहज बन्दै गएको र माथिको निर्देशनअनुसार परीक्षा स्थगित गरिएको बताए ।
‘विद्यार्थी, अभिभावकलगायत अन्य सबैलाई केही दुःख भएको छ, मैले बिहानै फोनमार्फत् स्कुलका सञ्चालकलाई मौखिकरुपमा जानकारी दिइसकें’, उनले थपे, ‘हामी केन्द्रकै निर्णयलाई मान्नेछौं, अर्को सूचना जारी नभएसम्म परीक्षा सञ्चालन नगर्नू ।’
उनका अनुसार कक्षा–८ लगायत अन्य सबै कक्षाहरुका वार्षिक परीक्षाहरु अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।
उनले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारी नेपालमा समेत संक्रमण बढ्दै गएकोले यस्तो निर्णय गरिएको उनको भनाइ छ । यसअघि धरानलगायत सहरका अन्य स्कुल बन्द गर्ने निर्णय भएको थियो भने सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार स्कुल बन्द गर्ने निर्णय भएको छ ।
निर्णयअनुसार विद्यालय तथा शिक्षण संस्थाहरुले भर्चुअल तथा वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । यसअघि सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले सोमबारदेखि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप