आजको स्तम्भः विचार, फिचर, मेरो भन्नुछ

ताज्जुब लाग्छ ! के यही हो समृद्धि ?


  • आजको स्तम्भ
  • २०७८ वैशाख ८

नेपाल पनि समृद्धिबारे धेरै चर्चा हुने मुलुकभित्र पर्न थालेको छ । तर, यो समृद्धिको सपना कतिसम्म बलियो छ, यसका आयामहरु के के हुन्, समृद्धिको सूत्र के हो ? भन्नेबारेमा सबै अलमलिएको नै देखियो ।
नेपालको इतिहासमा यो ज्युँदोजाग्दा सपना हो । तर, यसको अभिकर्ता को को हुन्, भविष्यमा कसले यसलाई हाँक्ने छन्, त्यो भविष्य अर्थात् लक्ष्य नभेटुन्जेल कसरी अघि बढ्ने हो ? तिनमा प्राथमिकता के के रहने हुन् ? एउटा माहोल बनाउन मात्र यसको भजन गर्ने हो कि यसको निरन्तर ‘लिगेसी’ पनि स्थापना गर्ने हो ? आदि खोजनीय विषय नै हुन् ।
इतिहासले दिएको दुई तिहाइ निकट शक्तिशाली सरकारले यो कोणबाट दीर्घदर्शी भएर सोचेन, समृद्ध नेपाल, सुखी नेपाली कुहिरोको काग साबित होला कि भन्ने लागिरेको छ । भावी राजनीतिक लाइन के हुने कसको हुने भन्ने जुँगाको लडाइँमा को हाबी हुने भन्ने माथापच्चीले गर्दा अभूतपूर्व रुपमा उठेको यो सपना आजकै दिनदेखि दिनदिनै कमजोर र भुत्तै हुँदै जान पनि सक्छ ।
भोलिका दिनमा ‘लिगेसी’ बोक्ने पुस्ता त कुरै छाडौं, आजको यो सपनाको दस्ताबेज पनि खोजी गर्दा सिलसिलेबार डकुमेन्ट नपाउने गरी छेऊ लाग्न बेर छैन । किनकि, नेपालीहरुको त्यही सपनालाई धुलिसात गर्न भनी रातदिन सक्रिय रहनेहरुले यस्ता कुरालाई योजनाबद्धरुपले नै पन्छाउने गर्दै आएका छन् ।
अर्थात् एकखाले राष्ट्रवादी नै हुँ भन्ने चिन्तकहरुमा नेपालीहरुको त्यो भाग्य र भविष्यमाथि छद्म रुपमा रहँदै आएको ‘ब्ल्याक होल’ ले कुनै दिन फेरि अस्थिरता पैदा गर्ने, बगिरहेको पानी धमिलो पार्ने र मौकामा माछा मार्न जाल हान्ने त छैैन ? कतै सारा भविष्य स्वात्तै निलिदिने गरी सुरसाको हाउडो बाउने परिपञ्चमा त कोही छैन ? एकखाले भय पनि त्यति नै व्याप्त छ ।
हुन पनि कुनै पनि मुलुक बनाउन, कसैले पराजित गर्नै नसक्ने सपनाले ती देशका नेता र जनतालाई ‘लिड’ गरेको हुनुपर्छ भन्ने मान्यता इतिहासद्वारा स्थापित सत्य हो ।
जबकि, यो त २१ औं शताब्दी हो, सामन्तवादी नभई लोकतान्त्रिक प्रणालीमा आबद्ध दुनियाँ हो । राजनीतिक दलहरु पनि विचारद्वारा परिचालित छन् भनिन्छ । र, उनीहरुमा पनि प्राण भर्ने त्यस्तै तत्वको आवश्यकता जहिले पनि पर्ने गर्छ । तर, ताज्जुब लाग्ने कुरा के छ भने, समृद्धिको अत्यधिक तिर्सना भएको नेपालले अहिलेसम्म पनि समृद्धिको सूत्र यही नै हो भनी किटान गर्न सकेको छैन, न त समृद्धिबारे जरोकिलो किटान गरी यसका आयामहरुमाथि इमान्दार विश्लेषण गरेको कुनै दस्तावेज नै पाइन्छ ।
सत्तारुढ दल जुन कार्यभार, जुन कार्य र दिशा निर्देश भएर उठेको थियो–त्यो हुनै सकेन । त्यो दलको हविगत सबै जनताले हेरिरहेका छन् । सत्तारुढ दल विचारशुन्यझैं छ । अहिले समृद्धिको सुँगा रटान हटिसकेको छ ।
समृद्धिको मुख्य आधार नै तीव्र आर्थिक वृद्धि हो । मानवीय विकास, दिगो विकासमा ध्यान दिने हो भनेपनि समृद्धि पलाएको महसुस हुन्थ्यो तर त्यति पनि हुन सकेको छैन ।
त्यस्तै, समृद्धि भनेको हरेक नागरिकले आफूले खुसीसाथ बाँचेको अनुभूति गर्नु हो । त्यो गर्नको लागि हामीसँग इकोनोमिक पावर हुनुपर्छ । त्यो इकोनोमिक पावर ल्याउनका लागि नेपालको मुख्य आधार भनेको हाम्रा खोलानाला हुन् । यसतर्फ कसैले ध्यान दिन सकेको छैन । प्रकृतिले हामीलाई उपलब्ध गराएको यो जलस्रोतको अपार सम्भावनालाई पक्रनु नै समृद्धिको आधार हो । तर खोइ ?

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप