आजको स्तम्भः रमाइलो शनिबार

धरानदेखि भेडेटार-नाम्जे पुग्दा…

अर्गानिक खानाको मज्जा, धरानदेखि पुगेका युवतीले आफैं हुर्रा नाचेर देखाए ((३९ तस्वीर र भिडिओसहित))


  • हाम्रो कोशी आवाज
  • २०७८ वैशाख ४

धरानः मिस प्रदेश एकका सुन्दरीहरुले पूर्वको प्रसिद्ध पर्यटकीयस्थल भेडेटार र नाम्जेको अवलोकन गरेका छन् ।
मिस प्रदेशका ११ फाइनलिष्टहरुले नाम्जे, भेडेटारको विभिन्न क्षेत्रहरुको अवलोकन र भ्रमण गरेका हुन् । उनीहरुले साँगुरीगढी गाउँपालिकास्थितको नाम्जेमा रहेको सामुदायिक होमस्टे, पर्यटकीयस्थल (आत्मा बस्ने घर) हरुको अवलोकन गरेका थिए ।
होमस्टे व्यवसायी र त्यहाँका संस्कार–संस्कृतिबारे उनीहरुले जानकारी लिएका थिए । पर्यटकीय गन्तव्यको रुपमा विश्वको १२ औं स्थानमा सूचीकृत रहेको नाम्जे विशेषगरी मगर जातिहरुको बाहुल्यता रहेको छ । उनीहरुको होमस्टेसँगै आत्मा बस्ने घरबारे जानकारी लिएको कोरियोग्राफर मेरिना तुम्सा लिम्बूले जानकारी दिइन् ।
कार्यक्रम संयोजक भतीराज राइका अनुसार पूर्वाञ्चल बागिना कलाकेन्द्रको आयोजनामा भइरहेको मिस प्रदेशको सहभागीहरुलाई प्रत्येक दिन विभिन्न क्षेत्रका व्यक्तित्वहरुसंँग बन्द प्रशिक्षण दिँदै आएको थियो ।
अहिले नाम्जे पछिल्लो समयमा आएर पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकल जातीय बसोबास रहेको नाम्जेमा होमस्टे प्रभावकारी बन्दै गएपछि पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको स्थानीय जगतबहादुर राना मगरले जानकारी दिए ।
पर्यटकलाई यो क्षेत्रसम्म होमस्टेले तानिरहेको उनले जानकारी दिए । ‘शुक्रबार र शनिबार त थामीनसक्नु भीड हुन्छ, अन्य बेला पनि कहिल्यै खाली बसेका छैनौं’, उनले भने ।
सन् २०११ मा सिएनएनको प्राकृतिक तथा सांस्कृतिकरूपमा सुन्दर संसारका १२ गन्तव्यको सूचीमा परेदेखि आन्तरिकभन्दा पनि बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ, नाम्जे ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नाम्जे प्राकृतिक रूपमा त आकर्षक छ नै, मनमोहक पनि छ । भेडेटार बजारबाट चार किलोमिटर दक्षिण–पूर्वमा रहेको यसलाई होमस्टेले अझ रमणीय बनाएको छ । समुद्री सतहबाट एक हजार पाँच सय ८५ मिटर उचाइमा रहेको नाम्जे भेडेटार पुग्ने पर्यटकको गन्तव्य पनि बन्ने गरेको छ ।
भेडेटार, नमस्ते झरना, नाम्जे घुम्न आउने पर्यटकलाई सस्तो र सुलभ खानपिन र बसोवासको सुविधा होमस्टेले उपलब्ध गराउँदै आएको छ । यससँगै मौलिक हुर्रा नाचले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गरिन्छ ।
नाम्जे होमस्टे पुग्ने पाहुनालाई स्थानीय परिकार मात्रै खुवाउने गरिएको छ । बंगुरको सेकुवासँग तोङ्बा यहाँको आकर्षण हो भने अर्गानिक लोकल कखुराको मासु भात, गुन्द्रक, ढेडो र खाजाका रूपमा उसिनेको आलु, स्कुसको जरा र त्यसकै मुन्टाको तरकारी खुवाइन्छ । त्यस्तै, मकैको भात र पाहुनाको इच्छाअनुसार पेय पदार्थ पनि व्यवस्था गरिएको छ । खानपिन र बसोबास त्यति महङ्गो पनि छैन ।
नाम्जेबाट सूर्याेदय बौद्धबिहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडावरिपरि रहेका टावर, नाम्जे डाँडाबाट तराईका समथल भूभागको अवलोकन गर्न सकिन्छ । त्यस्तै, भेडेटारको चाल्र्सप्वाइन्ट, पाथीभरा मन्दिर, ओख्रेको भ्यू–टावर, नमस्ते झरना, डाँडाबजारको ध्वँजेडाँडा, चौबिसको रानीताल, मोरङको जेफाले टावर थप रमणीयस्थल हुन् ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप