आजको स्तम्भः रमाइलो शनिबार (शिक्षा र बालबालिका विशेष)

कमाउने शिक्षा चाहियो सरकार ?

सैद्धान्तिक शिक्षाले भएन, फ्रि शिक्षा अनि रोजगार कहिले ?


  • मिश्रा राई
  • २०७८ वैशाख ४

वास्तवमा युवा त्यो हो, जसले देश विकासको लागि जिम्मेवारी महसुस गरेको हुनुपर्छ । त्यसैले युवा राष्ट्र र राष्ट्रियताका लागि पनि युवा दरिलो आधार स्तम्भ बन्दै आएका छन् । युवा नयाँ प्रविधिको जन्मदाता पनि हो भन्दा फरक नपर्ला । त्यसैले युवा सफलताको परिसूचक हो ।
देशको विकासका लागि राष्ट्रियता र युवा परिपूरक हुन् । आज इतिहास नियालेर हेरयौं भने ती वीर युवा जसले राष्ट्रियताकै लागि बलिदानी दिन तयार भए । जसले छातीमा गोली समेत थापेका थिए । राष्ट्रियताकै कारण ती युवाले रगत र पसिना दिँदै जहानियाँ राणाशासनको विरुद्ध लाग्दै प्रजातन्त्रको पुनस्थापना गर्न भूमिका खेले । यस्तै, लोकतन्त्रका लागि साथै नयाँ नेपाल निर्माणमा पनि युवाले धेरै बलिदान दिएका छन् । तर भन्दा विडम्वना आजको नयाँ नेपालमा सरकारी ओहोदाभित्र लुकेर बसेका छन् ती बाघ भनाउँदाहरु।
हामी वीर गोर्खालीको उपमा वा राष्ट्रियता बोकेर विदेशीको चौकीदारी गर्न बाध्य छौं । धेरै पैसा कमाउने ध्येय र लक्ष्यका साथ हामी र हाम्रा युवापुस्ता मरुभूमिमा तातो हावा खाँदै विदेशमा पसिना चुहाउन बाध्य छौं । त्यसैले साँच्चिकै राष्ट्र र राष्ट्रियताका लागि सोंच्ने हो भने यसरी कहिलेसम्म देशका युवा मरुभूमिमा पुग्न बाध्य भइरहनुपर्ने । के युवापुस्ता जहिल्यै विदेशकै मुख ताकिरहनुपर्ने ? यो सोंचनीय विषय हो । जापान र कोरियाको बिटो सम्झिएर आफ्नो पाखोबारी बाँझो राखिरहनुपर्ने ? यसलाई राष्ट्रियतासँग जोडेर हेर्ने हो भने मन दुख्छ।
नेपालका युवा एक हुन आवश्यक भइसकेको छ । विदेशमा मात्रै कुदिरहने, ताकिरहने प्रवृत्तिको अन्त्य नभएसम्म देश विकास सम्भव छैन । अब बन्द गरिनुपर्छ फ्रि भिषा, फ्रि टिकटका सूचना अनि विज्ञापन छाप्न । अब यस्तो सूचना वा विज्ञापन छापियोस् कि फ्रि शिक्षा अनि रोजगार भनेर । यस्तो सूचनाले पक्कै पनि युवापुस्तामा राष्ट्रियताको भाव जाग्नेछ र सबै युवापुस्ता स्वदेश फर्किनेछन् अनि मात्रै देशको विकास सम्भव छ । पहाडमा फलफूल फलाउने युवाले तराईमा सुनका बालासरी धानका बाला झुलाउनेछन् अनि पो हुनेछ देशको विकास, अनि पो जोगिनेछ हाम्रो राष्ट्रियता अनि पो बन्नेछ देश समृद्ध । हुनेछन् सुखी नेपाली ।
पहिलो कारण त उनीहरुले पाएको शैक्षिक प्रमाणपत्र र उनीहरुले अपेक्षा गरेको काम अनि कमाइ नेपालमा नभएरै हो । यस्तै, यहाँ जतासुकै शोषण छ, नेता, उच्च पदमा पुगेका व्यक्तिको भनसुनमात्र चल्छ, योग्यताअनुसारको काम अनि कामअनुसार दाम छैन । विदेश पुगेपछि मात्रै प्रगति, उन्नति होला भन्ने आशामा विदेशिएका पक्कै हुन् । साँच्चै भन्ने हो भने कर्थकदाचित यहाँ रोजगार मिलिहालेपनि यहाँ प्रतिभा प्रष्फुटन हुने अवसर मिल्दैन र निराशामा डुब्नुभन्दा विदेश नै भासिनु जाति भनेर विदेशिन्छन् । सरकारबाट प्रतिभा र श्रमको सही मूल्याङ्कन भइदिए नेपाली युवाहरु विदेश पलायन हुनुपर्ने थिएन ।

दोस्रो कारण यहाँ प्राविधिक तथा व्यवसायिकभन्दा पनि सैद्धान्तिक शिक्षामै वर्षौदेखि जोड दिइरहेका छांैं । हाम्रो अवस्थाको जिम्मेवार अहिलेको शिक्षा नै भएको मेरो बुझाइ रहेको छ । प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि पनि परेको छ । प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न पर्दैन । त्यसैले, आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै हो । मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण पनि यहीं भेटिन पनि थालेका छन् तर त्यस्तालाई राज्यबाट सहयोग हुन नसकेको दुःखद् कुरा पनि सुनिँदै आएको छ । नेपाली युवा जनशक्ति खाडी मुलुकहरूमा तल्लो स्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन् । यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्नसमेत विदेशीकै वर्चस्व देखिएको छ ।
अब प्रविधिसँग जोडेर सँगसँगै लाने शिक्षा दिन जरुरी छ । फेरि अर्कोतिर हाम्रो अर्को के समस्या छ भने कृषि प्रधान देश नेपाल भनिन्छ तर त्योअनुसारको शिक्षा पनि नेपालमा छैन । नेपालले समृद्धिको सुँगारटान गरेर समृद्ध हुने भए उहिल्यै भइसक्थ्यो लाग्छ । आजसम्म धेरै नेपाली विपन्न अवस्थामा गुज्रिनुपर्ने थिएन । त्यसैले अब शिक्षा पद्दतिमै आमूल परिवर्तन जरुरी भइसकेको छ ।
नेपाल र नेपालीको आवश्यकताअनुसारको शिक्षा दिनुपर्दछ । यहाँ व्यवहारमै प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षाको थालनी गरी गाउँवस्ती, शहर–बजार जहाँसुकै भएपनि समानरुपमा शिक्षा पाउने अवसरको सिर्जना, शिक्षित जनशक्तिलाई उद्यम तथा रोजगारको लागि आवश्यक व्यवस्था, यहाँ कमाउने र यहाँ नै काम गर्दा रमाउने वातावरणको निर्माण, योग्यता र क्षमताअनुसारको काम, दाम पाउने वातावरण सिर्जना गरियोस् । शिक्षालाई व्यवहारिक ज्ञानशुन्य कागजी प्रमाणपत्र मात्र ग्रहण गर्ने र विदेश पलायन हुने माध्यमको रुपमा लिने वर्तमान खराब संस्कार तोड्दै व्यवहारमै परिवर्तन ल्याउन संवेदनशील बन्नैपर्छ सरकार । (मिश्रा राई धरानस्थित कलेजमा अध्यनरत् छिन्)

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप