हामी असफल हुनुमा कारण छन्

जीवनको उद्देश्य थाहा नहुनु, निष्क्रिय अवस्थामा बाँच्नु र पुरानो प्रतिमानमा अडिग रहनु नै असफलताको ल कारण हुन्


  • प्रकाशजंग थापा
  • २०७८ वैशाख ३

हामी सफलता प्राप्त गर्न चाहन्छौँ, असफलता होइन। हरपल सफलताको पछि लाग्छौँ। त्यसका लागि अधिक समय, ऊर्जा र पैसा लगानी गर्छौं। सफल हुने सपना हुँदाहुँदै पनि असफल हुन पुग्छौँ। चाहना एउटा प्राप्ति अर्कै। किन ?
हामी असफल हुनुमा धेरै कारणहरू हुन सक्छन्। जसअन्तर्गत हामी असफलताको निम्नानुसारको कारणहरू वर्णन गरौँ:
जीवनको उद्देश्य थाहा नहुनु
कुनै पनि व्यक्ति सफल हुने वा असफल हुने, सन्तुष्ट हुने वा असन्तुष्ट हुने भन्ने कुरा उसको जीवन उद्देश्यले निर्धारण गर्छ। उसलाई जीवनको उद्देश्य बारेमा प्रस्ट थाहा छ भने सफल हुन्छ, सन्तुष्ट हुन्छ। नत्र असफल हुन्छ, असन्तुष्ट हुन्छ। आखिर मानवीय जीवनको उद्देश्य के हो? हाम्रो जन्म केका लागि भएको हो? यत्तिका गतिविधि तथा कार्यहरु केका लागि? यति धेरै संघर्ष केका लागि? यति धेरै त्याग र पीडा केका लागि? यी सम्पूर्ण प्रश्नहरुको उत्तर अध्यात्मले मात्र दिन सक्छ, जुन यस प्रकार रहेका छन्:
• प्रबुद्ध हुन, जागरुक हुन, भगवान् हुन
• अरु मानिसहरुलाई प्रबुद्ध हुन सहयोग गर्न
• सचेतना बढाउन, अन्धकारदेखि उज्यालोतर्फ जान
• सचेत सर्जक हुन
• सबैभन्दा सुन्दर सिर्जना गर्न
• सम्पूर्ण सिर्जनाहरुको सर्जक आफैँ रहेको कुरा अनुभूत गर्न
• उदाहरणीय व्यक्ति बनेर सबैलाई प्रेरणा दिन
• हरेक क्षणको अनुभूति लिन, खुसी रहन
• शर्तहीन प्रेमले डरमाथि विजयी हुन
• पूर्ण प्रेम, पूर्ण भद्रताको मूर्त रुप लिन
विश्वको ९९ प्रतिशत मानिसहरुलाई यी कुराहरुबारे थाहै हुँदैन। भनाइको मतलब, उनीहरुलाई जीवन के हो, जीवनको उद्देश्य के हो, केका लागि जन्मेको आदि जस्ता कुराहरू थाहा हुँदैन। त्यसैले उनीहरु असफल छन्। विश्वको एक प्रतिशत मानिसहरुलाई मात्र जीवनको उद्देश्य थाहा छ। जसकारण उनीहरु अत्यधिक सफल छन्। कतिपयलाई कुनै एक कार्यमा आबद्ध भएर सबैभन्दा धनी, प्रख्यात, प्रभावशाली र शक्तिशाली हुनु सफलता लाग्न सक्छ। त्यसो होइन। यहाँ सबैभन्दा धनी, प्रख्यात, प्रभावशाली र शक्तिशाली हुनुका साथै प्रबुद्ध हुनु वा जागरुक हुनुलाई सफलता भनिएको हो। यसलाई अर्को कोणबाट पनि बुझ्ने कोसिस गरौँ। सबैभन्दा धनी, प्रख्यात, प्रभावशाली र शक्तिशाली नभए पनि प्रबुद्ध हुनुलाई सफलता भनिएको हो।
यही कुराहरु तपाईं हामीलाई थाहा छैन। जीवनको उद्देश्य थाहै नहुने तर धनी, प्रख्यात, प्रभावशाली र शक्तिशाली बन्ने उद्देश्य राख्छौँ। कुनै सोच विचार नगरी कुनै पनि कार्यमा संलग्न हुन पुग्छौँ। यो प्रकृतिको दृष्टिकोण, कार्यपद्धति अवलम्बन गरेर हात लाग्ने भनेको असफलता नै हो। ठूलो सफलताको अपेक्षा राख्नु हास्यास्पद कुरा हो। यसलाई यसरी बुझौँ। हामी डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, लेखक, वैज्ञानिक, दार्शनिक, नेता आदि बन्न सक्छौँ। तर हामीलाई जीवनको उद्देश्य थाहा नहुँदा सचेतना अथवा जागृतिको स्तर बढाउन सकिरहेका हुँदैनौं। जसकारण सचेत, जागरुक अथवा प्रबुद्ध डाक्टर, इन्जिनियर, पाइलट, शिक्षक, लेखक, वैज्ञानिक, दार्शनिक, नेता आदि बन्न सक्दैनौं। जीवनमा जे बने पनि सन्तुष्ट हुन सक्दैनौं। अन्ततः असफल हुन पुग्छौँ।
निष्क्रिय अवस्थामा बाँच्नु
अधिकांश हामीलाई सफलताको सूत्र अथवा रहस्य थाहा हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, कुन कार्य वा क्षेत्रमा के-कसरी सफल हुन सकिन्छ, के गर्दा वा के नगर्दा असफल भइन्छ, ती सबै कुराहरु थाहा हुन्छ। यद्यपि हामी अग्रसरता लिँदैनौं। सफलताको सूत्र प्रयोग गर्दैनौं। निष्क्रिय अवस्थामा बस्छौँ। सतहमा हेर्दा यो कुरा विश्वास नलाग्न सक्छ। यस्तो कसरी हुन सक्छ भन्ने जिज्ञासा मनमा उत्पन्न हुन सक्छ। सोही जिज्ञासा मेट्नका लागि केही उदाहरणहरू संक्षेपमा चर्चा गरौँ।
उदाहरण एक, लेखन कार्य। एउटा स्तरीय आलेख लेख्न एक हप्ता लाग्छ। त्यसैगरी एउटा स्तरीय पुस्तक लेख्न एकदेखि दुई वर्षसम्म लाग्छ। कतिपय अवस्थामा यो भन्दा बढी समयावधि लाग्न सक्छ। यो कुरा हामीलाई विभिन्न माध्यम तथा स्रोत व्यक्तिबाट थाहा हुन्छ। लेखन कार्यमा सफल हुन लगनशीलता, रचनात्मकता र धैर्यताको ठूलो भूमिका हुन्छ। यो पनि हामीलाई सोही माध्यम र स्रोत व्यक्तिबाट थाहा भएकै कुराहरु हुन्। र पनि हामी यी सम्पूर्ण कुराहरू लागू गर्न सक्दैनौं। जसकारण लेखन कार्यमा सक्रिय हुन सक्दैनौं। अन्ततः कुशल लेखकका रुपमा स्थापित हुन सक्दैनौं।
उदाहरण दुई, चिकित्सा विज्ञान। चिकित्सा विज्ञान अथवा चिकित्सा पेसामा प्रवेश गर्न अथवा डाक्टर बन्नका लागि सबैभन्दा पहिले कक्षा एघार र बाह्रमा विज्ञान संकाय लिएको हुनुपर्छ। एक वर्ष वा यो भन्दा बढी चिकित्सा प्रवेश तयारी गर्नुपर्छ। चिकित्सा प्रवेश परीक्षामा सीमित कोटाभित्र नाम निकाल्न सक्नुपर्छ। अन्यथा चिकित्सा विज्ञानमा भर्ना हुन सकिँदैन। सबैको पैसा तिरेर पढ्ने हैसियत हुँदैन। यसर्थ थप तयारी गर्नुको विकल्प हुँदैन। चिकित्सा प्रवेश तयारी कक्षा सञ्चालन गर्ने संस्थामा विगत पाँच वर्षदेखि तयारी गरेका विद्यार्थीहरु भेट्न सकिन्छ। चिकित्सा प्रवेश परीक्षामा नाम निकाले लगत्तै डाक्टर भइने होइन। यसको लागि पाँच वर्ष ‘एमबिबिएस’ गहन अध्ययन गर्नुपर्छ। इंटर्नशीप अर्थात् अनिवार्य निवासी सेवा पनि गर्नुपर्छ। चिकित्सा पेसामा विशेषज्ञता हासिल गर्न ‘एमडी’ अध्ययन गर्नुपर्छ। यसको लागि पनि प्रवेश परीक्षामा नाम निकाल्न सक्नुपर्छ। ‘एमडी’ पढाइ पूरा गर्न तीन देखि पाँच वर्ष लाग्छ। त्यसपछि फेरी इंटर्नशीप गर्नुपर्छ। यहाँसम्म आइपुग्दा हाम्रो जीवनको १० देखि १५ वर्ष बितिसकेको हुन्छ। चिकित्सा पेसामा सफल हुन सानो मिहिनेत र लगनशीलता लाग्दैन। यी सम्पूर्ण कुराहरू हामीलाई थाहा नहुने सम्भावना नै हुँदैन। र पनि हामी यी सम्पूर्ण कुराहरू अक्षरशः लागू गर्न सक्दैनौं। परिणामस्वरूप चिकित्सा पेसामा सफल व्यक्तिको रुपमा परिचित हुन सक्दैनौं।
त्यसैगरी यही किसिमको प्रक्रिया अथवा कार्यविधि व्यवसाय, कलाकारिता, पत्रकारिता आदि जस्ता क्षेत्रमा पनि देख्न सकिन्छ। जसकारण हामी असफल व्यवसायी, कलाकार अथवा पत्रकार बन्न पुग्छौँ। यसरी यी सम्पूर्ण उदाहरणहरू मार्फत हामीलाई सफलताको रहश्य थाहा हुँदा हुँदै पनि हामी कसरी असफल हुन पुग्छौँ भन्ने कुराको पुष्टि हुन्छ।
पुरानो प्रतिमानमा अडिग रहनु
हामी खुला विचारधाराका छैनौं। हाम्रो मस्तिष्कमा आदर्शको ताला (प्रतिमानको ताला) लागेको हुन्छ, जसलाई ‘प्याराडाइम लक’ पनि भनिन्छ। हामी पुरानै प्रतिमानलाई पूर्ण वास्तविकता ठान्छौँ। त्यसैलाई प्राथमिकतामा राख्छौँ। त्यसैलाई निरन्तरता दिन वा त्यसैमा अडिग रहन तत्पर रहन्छौँ। जुनसुकै हदसम्म जान तयार हुन्छौँ। कसैले नयाँ सोच राखे त्यसको खुला हृदयको साथ स्वागत गर्दैनौं। कडा भन्दा कडा प्रतिरोध गर्छौँ। यतिमात्र होइन, स्वयं हामी पनि नयाँ सोच राख्न सक्दैनौं। केही उदाहरणहरू बारेमा छोटो वर्णन गरौँ।
उदाहरण एक, इटालियन खगोलविद् ग्यालिलियोको खोज। १७ औं शताब्दीमा (जनवरी ७, १६१० देखि १५ भित्र) ग्यालिलियोले पहिलोपटक बृहस्पति ग्रहको चारवटा चन्द्रमा पत्ता लगाएका थिए। यसको लागि उनले घरेलु टेलिस्कोप प्रयोग गरेका थिए। उनले यो खोजलाई आफ्नो पुस्तक ‘दि स्टारी म्यासेन्जर’ मार्फत जनता सामु प्रस्तुत गरे। तर प्रतिक्रिया सकारात्मक आएन। उनको खोजलाई कसैले विश्वास गरेनन्। उनका समकालीन वैज्ञानिक साथीहरुले समेत कुनै महत्व दिएनन्। उनीहरुले खुद टेलिस्कोप अगाडि उभिएर ग्यालिलियोको खोज प्रमाणित गर्न सक्थे। यस क्रममा उनीहरुले बृहस्पति ग्रहको थप नयाँ चन्द्रमा पत्ता लगाउन पनि सक्थे। यो उनीहरुका लागि नयाँ खोज गर्ने ठूलो अवसर थियो। तर उनीहरुले त्यो अवसरको सदुपयोग गरेनन्। हाँसेरै उडाइदिए र ग्यालिलियोको स्तरमा पुग्न सकेनन्। यसको अर्थ, विज्ञान क्षेत्रमा महत्वपूर्ण योगदान दिने सफल वैज्ञानिकहरुको वर्गमा समाहित हुन सकेनन्। तपाईं हामी पनि ग्यालिलियोको समयको मानिसहरु तथा वैज्ञानिकहरुकै वर्गमा पर्छौँ, जसकारण असफल हुन पुगेका छौँ।
उदाहरण दुई, सैद्धान्तिक भौतिक विज्ञानी अल्बर्ट आइन्स्टाइनको खोज। ‘थ्योरी अफ रिलेटिभिटी’ अर्थात् ‘सापेक्षताको सिद्धान्त’ आइन्स्टाइनको खोज हो। यो सिद्धान्तलाई विज्ञान क्षेत्रको सबैभन्दा ठूलो खोजहरु मध्यको एक रुपमा लिइन्छ। सम्भवतः विश्वका ९५ प्रतिशत मानिसहरुले यो सिद्धान्त बुझेका छैनन्। एकपटक पत्रकारले आइन्स्टाइनलाई सिद्धान्तको विकास रहश्यबारे प्रश्न गरे, ‘विज्ञान क्षेत्रमा तपाईं जस्तै क्षमतावान् अरु वैज्ञानिकहरू पनि छन्। उनीहरु र तपाईंले गर्ने कार्यमा कुनै भिन्नता छैन। मुख्यतः त्यही वैज्ञानिक अनुसन्धान गर्नु हो, उही किसिमको प्रयोगशालामा अनुसन्धान सञ्चालन गर्नु न हो। त्यसैगरी उनीहरु पनि तपाईंले जस्तै गहिराइमा गएर सोध अनुसन्धान गर्छन्। र पनि आखिर किन उनीहरुले सापेक्षताको सिद्धान्त पत्ता लगाउन सकेनन्? किन तपाईंले मात्रै यो सिद्धान्त पत्ता लगाउन, विकास गर्न सक्नु भयो?’
पत्रकारको प्रश्नको उत्तर दिने क्रममा आइन्स्टाइन भने, ‘मैले बचपनदेखि विविध किसिमका पुस्तकहरु पढ्ने अवसर पाएँ। ती पुस्तकहरु विशेषतः विज्ञानको दर्शन, मेटा विज्ञान (विज्ञानको विज्ञान), ज्ञानविज्ञान (ज्ञानमिमांसा), अध्यात्म सम्बन्धित हुन्थे। तीनै पुस्तकहरुले मलाई विज्ञान भित्रका समस्याहरुबारे सचेत गरायो। फरक सोच विकास गर्न, पुरानो स्थापित प्रतिमान भत्काउन प्रेरित गरायो। युगौंदेखि समय र ठाउँ निरपेक्ष मानिन्थ्यो। मैले त्यो मान्यतालाई चुनौती दिएँ। समय र ठाउँ निरपेक्ष नभएर सापेक्ष हुन सक्छन् कि भन्नेमा सोच्न थालेँ। यही कुराले मलाई सापेक्षताको सिद्धान्त विकास गर्न ठूलो भूमिका खेल्यो। तर मेरा समकालीन साथीहरु प्राविधिक विज्ञानमा मात्र व्यस्त रहे। उनीहरुलाई नयाँ सोच विकास गर्ने, पुरानो प्रतिमान भत्काउने समय नै भएन। यही कारण उनीहरुले सापेक्षताको सिद्धान्त पत्ता लगाउन, विकास गर्न सकेनन्।’
आइन्स्टाइनले नयाँ सोच विकास गरेकै कारण, पुरानो प्रतिमानलाई विस्थापित गर्न सकेकै कारण विश्वको महान् वैज्ञानिक बन्न सफल भएका थिए। यदि आइन्स्टाइन हुँदैन थिए भने अहिलेको विश्व सय वर्ष पछाडि नै हुन्थ्यो। अब हाम्रो बारेमा कुरा गरौँ। प्रायः हामी आइन्स्टाइनले जस्तो फरक सोच राख्न सक्दैनौं। पुरानो प्रतिमानमा अडिग रहन मन पराउँछौं। त्यसलाई भत्काउने कोसिस नै गर्दैनौं। फलस्वरुप जीवनमा असफल हुन पुग्छौँ।-साहित्यपोष्ट

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप