गाउँको ठिटो हङकङमा पुगेर कार चलाउँदा…

त्यो ‘निशुन क्लब’ अर्थात् भट्टी पसलको सम्झना ताजै छ


  • भीम राई
  • २०७७ चैत ३१

जंगलका राजा सिंहको अनुहारजस्ता आकृति देखिने चट्टानका पर्वत छिचोलेर बनाइएको सुरुङ मार्ग ‘लाइन रक टनल’ पार गरेपछि कोलाहलमय काउलुन सहर हङकङ हारबरसम्म लम्पसार परेको छ । २४ सै घण्टा उस्तैगरी चम्किरहने काउलुन सहरमा दिन र रात छुट्याउन हरेक मानिसहरुलाई हम्मेहम्मे पर्ने गर्दछ । तिनै अलौकिक सहरको घना बस्ती चिम सा चुईमा अवस्थित क्यान्टोन रोड एक्कासीस्टार फेरीमा पुगेर मृत्युवरण गर्दछ । क्षण क्षणमा ब्यस्त भइरहने क्यान्टोन रोडले दाहिने किनारमा स्टार हाउसदेखि स्टार फेरीसम्म भीमकाय हारबर सिटी निर्माण गरिदिएका छन् । तिनै हारबर सिटीभित्र करिब ७ सय दोकानहरु ५० रेस्टुँराहरु ३ वटा होटलहरु र २ वटा ठूलाठूला सिनेमा हलहरुका सुकोमल अनुहार देख्न सकिन्छ ।
तीनताका ९० को दशक थियो । दुश्मनको छाती गोलीले उडाइदिन्छु भन्दै बेलायती गोर्खा सेनामा भर्ती भएतापनि म तिनै सेनाका सैनिक ट्रक चालकसम्म भई टोपलेका थिएँ । तर कसोकसो चन्द्रमा दाहिने भएको बेला सैनिक ट्रकको स्टेरिङ्ग बटार्न नपरेको दिन कार हाक्न पाउँदा मेरा हृदय सबेरै फूल्ने सुन्दर गुलाफका फूलझै फुलेर फक्रने गर्दथे । जुलाई महिनाको एकदिन मैले कार चलाउने अवसर पाउँदा हर्षले गदगद भएको थिएँ । र, कारमा एकजना बेलायती सैनिक अधिकृतलाई लिएर काउलुन सहरमा अवस्थित हारबर सिटीमा पुगेको थिएँ ।
म पूर्वी नेपालको ग्रामीण भेकदेखि आएको एकजना अल्लारे ठेट्ना थिएँ । र, त्यसबेला मेरो जिन्दगी पनि एकदम अजीवकै थियो । केही वर्षअगाडि हङकङ आएर त्यहाँ भेटिएका आधुनिक सहरहरुलाई राम्ररी पढदै थिएँ । किनभने सहरमा देखिएका हरेक चिजहरु मलाई एकदम नौलो र अनौठो लाग्ने गर्दथ्यो । अझ त्यसदिन हारबर सिटीमा पुगेर विशाल कंक्रिटद्वारा निर्मित बडेमाका महलहरु देखेर म चकित परिरहेको थिएँ । त्यहाँ भएका सुन्दर महलहरुको दृश्य आँखा थाकिञ्जेल हेरेपछि टाउकोलाई सर्लक्कै घुमाएर सडक किनारमा लगेर पछारेको थिएँ । त्यसपछि सडक किनारमा सगर्व खडा भएर उभिरहेका हारबर सिटीको पेटिबाट हिँडिरहेका असंख्य चाइनिजमूलका मानिसहरुको रमिता हेरेर आनन्दित भइरहेको थिएँ ।
त्यसबेला क्यान्टोन रोड अति ब्यस्त थियो । बिनाआवाज सडकमा अविरल गुडिरहेका मोटरहरु आ–आफ्नो उद्देश्य पूरा गर्न आतुर देखिन्थे । जुन र जुलाई महिनाहरु हङकङमा अत्याधिक गर्मीका महिनाहरु हुन । त्यसदिनको मौसम पनि गर्मीदेखि अछुतो हुन सकेका थिएन । तैपनि कसोकसो स्टार फेरीदेखि सरर बहँदै आएको हावाको मन्दमन्द गतिले मेरो अनुहारसँग लुकामारी खेल्दा म थोरै आनन्दित भइरहेको थिएँ । तर जेसुकै होस् भनेर मौसमप्रति चासो राख्न छाडेको थिएँ । त्यसपछि मुन्टो निहुँरयाएर हाते घडीलाई एक झलक हेरें । घडीको मुख्य काँटा कोल्टो परेर त्यसदिनको १३ बजिसकेको थियो ।
हुनत म त्यसबेला एकदम तरल, कमजोर र निहत्था थिएँ । बेलायती सेनामा बिताउँदै गरेका मेरा ती दिनहरु ससाना शावक चराका बच्चा जस्तै थिएँ । ‘मानिस स्वतन्त्र जन्मन्छ र जन्मेपछि चारैतर्फ बन्धनमा पर्दछ,’ भन्ने अर्धपागल रुसोको विचारझैं म सुस्तरी बन्धनमा पर्न थालेको महसुस गरिरहेको थिएँ । दिउँसोको खाना खाने समयले बिदा लिएपछि मलाई असाध्यै भोक लागिरहेको थियो । तर के गर्ने ? कर्तब्यपथमा थिएँ । त्यसैले क्यान्टोन रोडको एउटा कुनामा उभिएर आफ्नो सैनिक जीवनको दिनचर्यालाई मज्जाले स्मरण गर्न थालेको थिएँ ।
मैले बेलायती गोर्खा सैनिकको आधारभूत रिक्रुट तालिम मलाया लाइन्स, सेकङमा लिएका थिएँ । आधारभूत तालिम सकेपश्चात् नजिकै रहेको सैनिक छाउनी बोर्नियो लाइन्समा सरेको थिएँ । त्यसपछिको मेरो कर्मक्षेत्र त्यहीँ बोर्नियो लाइन्स भएको थियो । तालिम केन्द्र मलाया लाइन्सदेखि बोर्नियो लाइन्स लगभग एक–दुई किलोमिटरको दुरीमा पर्दथ्यो । तैपनि सैनिकको सेतो कोच चढेर त्यहाँ पुग्दा मलाई अर्को लोकमा पुगेको जस्तो अनुभूति भएको थियो । त्यसरी बसाइँ सरेपछि केही महिना नयाँ छाउनीको २ नम्बर भवनमा बसेर मटर चालकको तालिम गरेको थिएँ ।
म पूर्णरुपमा सैनिकको ट्रक चालक भइसकेपछि केही उत्साहित पनि भएको थिएँ । किनभने कुरा चालकको मात्र थिएन । त्यो भन्दा अगाडि मलाई कुनैपनि कुराको सीप, ज्ञान र अनुभव केही थिएन । अन्ततः चालकको सीप जानिसकेपछि एकजुनी बाँचुञ्जेलसम्म पुग्नेछ भन्ने मनमनै लागिरहेको थियो । र, त्यही सीपलाई अहिलेसम्म जीवन जिउने क्रममा पटकपटक प्रयोगमा ल्याइरहेको छु ।
हामी बसेको भवनको ठीक सामुन्ने अर्को ३ नम्बर भवन थियो । प्रत्येक वर्ष नयाँ सिपाहीहरु आउने त्यस भवनमा हामी बोर्नियो लाइन्स पुगेको तीन महिनापछि सरेको थियौं । हामी त्यहाँ सरेपछि विवाह बन्धनमा नबाँधिएका वा विवाह बन्धनमा बाँधिएतापनि आफ्ना प्राणप्रिय नेपालमा छाड्न बाध्य भएका निराशलाग्दो सिपाहीहरु सँगसँगै बस्न थालेका थियौं । हुन त कुनै पनि पदार्थ कहिले पनि नामेट हुन सक्दैनन् केवल रुप मात्र बदली रहन्छ,’ एङगेल्सले भनेझै तत्कालीन समयमा म रिक्रुटे जीवनदेखि रुप बदलेर जिटीआरको दुईवटा स्क्वाड्रनहरु मध्ये ३१ स्क्वाड्रनमा चालकको रुपधारण गरिसकेको थिएँ ।

बेलायती सैनिक छाउनी बोर्नियो लाइन्सको तीदुईवटा विशाल भवनहरु यातायात पल्टन, गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट ‘जिटीआर’ को अधिनमा थियो । जिटीआर बाहेकका अन्य मानिसहरुले ती भवनहरुलाई ‘होमगार्ड’ हरुको बासस्थान भनेर साङ्केतिक भाषामा चिन्ने वा जान्ने गरेका थिएँ । हुनपनि त्यसबेलाको समय एउटा ढुङ्गेयुगको समय जस्तै थियो, आजभोलिको समयजस्तो पटक्कै थिएन । त्यसैले यातायात रेजिमेन्टमा काम गर्ने धेरैजसो सदस्यहरुले आफ्नो १५ वर्षे सैनिक जीवनको समय त्यहीँ ब्यतित गरेर सेवादेखि निवृत हुने गरेका थिएँ ।
ती दुईवटा भवनहरुमध्ये २ नम्बर भवनका कोठाहरु चाहिँ ‘ब्रिग्रेड अफ गोर्खाजका’ चालक तालिम गर्न आउनेहरु बस्दथे । म भर्ती भएपछिको बोर्नियो लाइन्स मेरो दोस्रो गन्तब्य थियो र तिनै स्थानमा बसेर मैले पनि तालिम लिएको थिएँ । चालक तालिमको समयमा लगभग ३५ वर्षअगाडि बिताएका त्यसकोठाको यादहरु मेरा मस्तिष्कमा अहिलेसम्म ताजै अभिलेख भएर बसेका छन् । त्यस भवनको सबैभन्दा आकर्षण पक्षचाहिँ मुनिको तलालाई मानिन्थ्यो । किनभने त्यहाँ एउटा सानो तर जीवित भट्टी पसल थियो । र, हरेक बेलुकी थुप्रै मानिसहरुसँग रमाइलो भेटघाट हुने त्यो भट्टी पसलको प्यारो नाम ‘निशुन क्लब’ भनेर राखिएको थियो ।
‘निशुन शब्द त्यस्तो शब्द हो, जसले हाम्रो पल्टनको एउटा सगौरव इतिहास बोकेको छ,’ सेताम्मे जुङ्गा पाकेका गुरुजीहरुदेखि मैले त्यसबेला सुनेको शब्दहरु हुन । उहाँहरुको भनाइअनुसार गोर्खा ट्रान्सपोर्ट रजिमेन्ट सन् १९५८ मा मलायामा खडा भएको थियो । त्यसबेला ट्रान्सपोर्ट रेजिमेन्ट खडा गर्नको लागि अन्य गोर्खा इन्फेन्ट्री बट्टालियनहरुबाट अधिकृत तथा जवानहरु ‘भोलन्टियर’ आएका थिएँ । त्यसको अर्को वर्ष १ जुलाई १९५९ मा निशुन, सिङ्गापुरमा ३१ स्क्वाड्रन खडा भएको थियो । तीनै स्क्वाड्रन खडा भएको स्थान निशुनको सम्झनास्वरुप त्यस भट्टी पसलको नामाङ्कन ‘निशुन क्लब’ राखिएको थियो ।
मेरा भौतिक शरीर त्यसबेला हङकङमा भएतापनि सिङ्गापुरबाट आयातित त्यो शब्द मलाई किन किन एकदम प्रिय लागिरहेको थियो । मौसमको परिवर्तन सँगसँगै समय समयमा त्यस क्लबले विभिन्न थरीको रङ्ग बदल्ने गर्दथ्यो । किनभने त्यहाँ प्रिय र अप्रिय दुवै प्रवृत्तिका घटनाहरु घटने गर्दथ्यो । त्यहाँ वर्षभरी हुने विभिन्न खेलकुद र चाडपर्वको बेला बृहत भोजको पनि ब्यवस्था हुन्थ्यो ।
यदाकदा भोजको बेला प्रदर्शन हुने नाचगानले ठूल्ठूला होहल्ला र विकृति पनि ल्याउने गर्दथ्यो । होहल्लाको बाबजुद एक आपसमा पेय पदार्थले मोलमाल र भाइबन्धुको छलफल कुनाकुनामा लामै समयसम्म चल्ने गर्दथ्यो । आक्कलझुक्कल फलाना र ढिस्का मात्र आफ्नो मान्छे हुन र बाँकी सबै शिकार हुन भन्दै गरेको गुह्य कुरो सुनेर कसैकसैले बखेडा पनि झिक्ने गर्दथे । अनि त्यस्ता बखेडा र ल्याङल्याङको विजारोपणले विकसित रुप लिँदा झगडासम्म हुने गर्दथ्यो ।
सबैको लागि अति प्यारो तिनै क्लबको बाहिरी पर्खालमा एउटा जिउँदो सूचना पार्टी रहेको थियो । आफ्ना मानिसहरुको पदोन्नती भएको सूचना बेला वा कुबेलामा त्यहाँ टाँसिने गर्दथ्यो । त्यस्तो बेमौसमी समयमा गरिएको पदोन्नतीले बढुवा नभएका मानिसहरुको हृदयलाई निक्कै ठूलो असर पुरयाउँदथ्यो । त्यसरी सूचना टाँसिएको बेलुकी भयावह मध्यरात पार गरेर विकराल अवस्थामा पुगेको बेला क्लब बाहिर सामुन्द्रिक आँधीबेहरी टाइफुन ८ ले ल्याउने आवाजझै एक्कासी ठूल्ठूलो आवाजहरु ल्याउँदथ्यो ।
त्यस्तो मेचक अध्याँरो पापी रातले सबैभन्दा ठूलो अन्याय त क्लबको वरीपरी रहेका फूलका गमलाहरुलाई पर्न जान्थ्यो । हामी त्यसबेला पल्टन घरको सबैभन्दा स–सानो भाल्टाङ भुल्टुङ बच्चाहरु जस्तै थियौं । र, सैनिक घरभित्र हुने त्यस्तो जघण्य राजनैतिक अपराधका बारेमा हामीलाई केही अत्तोपत्तो हुँदैनथ्यो । तर हरेक बिहान क्लबको वरीपरी सफा गर्ने उत्तरदायित्व केवल हामीलाई मात्र रहेको थियो । मानौं त्यो कर्म हाम्रो कर्तब्यभित्र पर्दथ्यो ।
सबैभन्दा खेदको कुरो चाहिँ के हुन्थ्यो भने अँध्यारो रातमा सारा गमलाहरु टुटेफुटेका हुन्थे । त्यसरी अनायसै फक्रनका लागि शरद ऋतु पर्खेर बसेका कोमल फूलका गमलाहरु त्यसबेला किन टुटछन् वा फुट्छन् होला भनेर नम्बरीहरुसँग एकअर्कामा शङ्कास्पद सवाल गर्दथ्यौं । तैपनि निशुन क्लबमा यदाकदा हुने तीनै आपराधिक घटनाहरु मेरा लागि एउटा अविस्मरणिय क्षण भएर अहिलेसम्म म सँगसँगै बाँचिरहेकै छन् ।
साँच्चै संसारमा घटना त्यसै नघटने रहेछन् । अलिक पछि बुझ्दै जाँदा, ‘आफ्ना जति राम्रा मान्छे, र पदोन्नती जति आफ्नोलेमात्र पाउनुपर्छ,’ भन्ने युक्ति त्यसबेला पल्टन घरमा क्यान्सर रोगझै फैलिएका रहेछन् । शाब्दिक अर्थमा भन्नुपर्दा क्रुर राक्षसहरुको पन्जामा रहेको निशुन क्लब एउटा ऐतिहासिक पापिष्ट स्थान रहेछ । किनभने त्यहाँ उत्पन्न हुने कुनैपनि प्रकारको भाइरसले हरेक सिपाहीको सैनिक जीवनको उज्ज्वल भविश्य निर्धारण गर्ने गर्दथ्यो । त्यति खराब स्थान भएतापनि एकजना अभागी सिपाहीले त्यहाँ बारम्यानको काम गर्नुपर्ने हुन्थ्यो । मैले किन यहाँ अभागी शब्दको प्रयोग गरेभनेर मेरा पाठकहरुलाई संक्षेपमा दर्शाउन चाहन्छु ।
‘खै किन हो किन ?’ मलाई पल्टन घरमा बारम्यान र बाख्रा गोठाला गर्न पटक्कै छुद्दे जागेर आउँदैन थियो । रातभरी मादक पदार्थ सेवन गरेका गुरुजीहरुले छाड्ने गरेको राक्षसी भाषासँगको समय कटाउन मलाई जीवनमा सगरमाथा विजय प्राप्त गर्नु जस्तै कठिन लाग्दथ्यो । अनि बाख्रा गोठालोको कथा चाहिँ अलिक छुट्टै थियो । किनभने भर्ती हुनुअगावै अनगिन्ती डाँडापाखा र वन जङ्गलमा बाख्रा चराइसकेको अनुभव म सँग जीवितै रहेको थियो ।
पुनः पल्टन घरमा भर्ती भएर एक हातमा एउटा लट्ठीर अर्को हातमा एक बोतल पानीको साथमा रङ्ग खुइलिने मात्रै होइन तन्केर छाती बङलङ्गै देखिने सरकारी रातो टिसर्ट, घरिघरी इन्जार चुँडिने निलो बेलायती जाङ्गे र जङ्गली रङ्गको छत्रे टोपी लगाएर सेकङ विमानस्थलको वरीपरी, ‘आ… लाखे लाखे तलाई,’ भन्दै बाख्राहरुलाई ढुङ्गा हान्दै हिँड्दाको नरमाइलो क्षणलाई सम्झिँदा जिन्दगी एकदम विरक्त लाग्ने गर्दथ्यो ।
अ, फेरी कुरो तिनै क्लबमा काम गर्ने एकजना गुरुजीको गरौं । तर अहिले नै उनको नाम उल्लेख नगरी हालौं । उनले हरेक बिहान कुक हाउसदेखि एउटा ठूलो भाडोमा (टिअर्न) चिया लिएर भट्टी पसलको अगाडी सजाइदिने गर्दथे । आफ्नो परिवारलाई साथैमा राख्न पाउने अधिकार पाएका हाकिमहरु उठ्नेबित्तिकै घरबाट चिया नपिई सिधै सरकारी चिया पिउनको लागि प्रत्येक बिहान त्यहाँ उपस्थित हुने गर्दथे । ‘खै कुन्नी के हो ?’ आफ्नो श्रीमतीको कोमल हातले बनाएको चिया नपिई काममा आउँदा के कति पैसा बचाउन सकिन्थ्यो होला, त्यो चाहिँ मलाई यकिन हुन सकेको थिएन ।
तर हाकिमहरुको निशुनमा उपस्थित हुन अगावै चिनिया पत्रिका ब्यापारी चिकाउले झिसमिसेमा खबर कागज ल्याएर छाडिदिएका हुन्थे । यसो क्लब बाहिर सफा गर्दैगर्दा छड्के दृष्टिगोचर गर्ने हो भने तत्कालीन समयका गोर्खाली हाकिमहरुले दिमाग वृद्धि गर्ने विषयहरु कला, साहित्य, भाषा, धर्म, राजनीति, इतिहास, भूगोल र यात्रा सम्बन्धीका समाचार कहिल्यै अध्ययन गरेका देखिँदैनथ्यो । त्यसको सट्टामा त्यसबेलाका प्रख्यात घोडीहरु रिभर भर्डनदेखि रिभर साइरनसम्म र जक्कीहरु बार्ट लेस्सरदेखि लेस्टर पिक्केटसम्म कण्ठस्त बनाउने गर्दथे । किनभने हङकङको हरेक बुधबार बेलुकी ह्याप्पी भ्याल्लीर शनिबार दिउँसो सातिनमा कुनकुन घोडाहरु क–कस्ले दगुराउँदैछन् र कुन घोडाले कति वजन बोक्दैछन् भनेको मात्रै अध्ययन गर्दथे ।
चिया परेड सकिएपछि हाकिमहरु आ–आफ्नो कार्यालयतिर रमाना गर्नुहुन्थ्यो । निशुन क्लबलाई कर्मक्षेत्र बनाउनुभएका बिचरा गुरुजी रातभरी उधारो बेचेको पेय पदार्थको पैसा उठाउन खाता र पेन्सिल बोकेर ग्राहकहरुको खोजीमा मटर पार्कतिर जानु हुन्थ्यो । त्यसपछि निशुन सुनसान मरूभूमीमा परिणत भएर एउटा उजाड स्थल बन्ने गर्दथ्यो । क्लबको सिधै अगाडि बाँच्ने इच्छा शक्ति अति कम भएका एकजोडी दुर्वल बूढो बयसका रुखहरु थिएँ । प्रथम अफिम युद्धदेखि निरन्तर बाँचिरहेका तिनै बयसका रुखमा एकजोडी ढुकुरले हरेक वर्ष गुँड लगाउने गर्दथ्यो । तिनै जोडी ढुकुरहरुले खाना खोज्ने क्रममा दिनभरी निशुन क्लबलाई पहरा दिइरहने गर्दथे ।
निरही ढुकुरहरु आफ्नो गुँडमा बास बस्न पसेपछि बेलुकीको ठीक ७ बजे ठूलो घण्टीको साथमा पुनः भट्टी पसल खोलिने गर्दथ्यो । सुस्तरी सुस्तरी भट्टीले आफ्नो गति लिँदै गर्दा बरफभित्र मज्जाले आराम गरिरहेको काल्र्सवर्ग, टाइगर्स र सानमिगेल बियरहरु धमाधम बिक्री हुन थाल्दथ्यो । बियरको साथसाथै जलसेनाहरुले खाने ‘नेभी रम’ पनि समय समयमा त्यहाँ बिक्री बितरण हुने गर्दथ्यो । पल्टन घरभित्र नेभी रमले निक्कै लामो कीर्ति बोकेको एउटा इतिहास थियो । किनभने बेलायती सेनाहरुले सन् १६५५ देखि हरेक बेलुकी एक–एक गिलास (टट) रम सित्तैमा पाउँने गरेका थिएँ । तर कालान्तारमा गएर सन् १९७० को दशकमा त्यो सुबिधाले सदा सर्वदाका लागि बिदा लिएर गइसकेको थियो ।
भट्टी पसलभित्र बियर र रमबाहेक चिसो कोकाकोला, फ्यान्टा, क्रिमसोडा र केही बदामका गेडागुडी पनि बेच्ने चलन थियो । क्लबको बायाँ दिशामा मझौला प्रकारको कोठा थियो । त्यसकोठामा एउटा ठूलो टेलिभिजन र केही आरामदायी कुर्सीहरु पनि राखिएका थिएँ । तर जोकोहीले ती कुर्सीहरुमा बस्नको लागि आफ्नो कुखुरे छाती खोलेर आँट गर्न सक्दैनथे । धेरै लामो सेवा गरेर निवृत हुन लागेका र लामालामा जुङ्गा पालेका बरिष्ठ गुरुजीहरुले मात्र कुर्सीमा मज्जाले आसन गर्ने गर्दथे ।

हरेक बेलुकी टेलिभिजनमा आउने समाचार हेर्नको लागि हामीले पनि त्यो सुविधा प्राप्त गरेका थियौं । अति भद्र एवम् शालिन भएर त्यस कोठामा पुग्दा आरामदायी कुर्सीमा आसन ग्रहण गरिहाल्ने आँट चाहिँ गरिहालेका थिएनौं किनभने जता फर्केपनि सिनियर गुरुजीहरुको डरलाग्दो अनुहारहरु मात्र देखा परिरहेका हुन्थे । त्यसैले परजीवी किर्नाझैं कोठाको भित्तामा लपेसिएर सास नफेरी उभिरहने गर्दथ्यौं । अङ्ग्रेजी भाषामा प्रशारण हुने समाचारलाई मैले केही बुझ्दिन थिएँ । तर उर्लदो बैशमा चढ्दै गरेको एउटा जवान ठिटा भएकोले टेलिभिजनका चिनियाँ समाचार वाचिका मे वङको सुन्दर अनुहार हेरेर प्रफुल्लित हुने गर्दथे ।
अ, क्लबको दाहिनेतिर अर्को एउटा कोठा पनि थियो । जहाँ एउटा स्नुकर टेबल पनि राखिएको थियो । समुन्द्रमा ठूलो माछाले सानो माछालाई खप्लक्कै खाने प्राकृतिक नियम भएझै त्यहाँपनि ठूलोले सानोलाई सर्लक्कै खाने नियम लागू हुन्थ्यो । ती नियमहरु सम्झिँदा अहिले पनि मेरो आङ सिरिङ्गै हुने गर्दछ । त्यसैले कुनै कुनैबेला यस्तोसम्म लाग्थ्यो । सायद पल्टन घरमा, ‘मानव सेवा नै धर्म हो’ भन्ने कुरो एकदम बिरलै मात्र पाइन्छन् होला ? तैपनि अतितका ती पानाहरु एकचोटी सरर पल्टाउने हो भने त्यसबेला बितेका समयहरु मेरा लागि अलिअलित रोमाञ्चकारी नै थिएँ ।
मेरो मुख्य काम सैनिक चालक भएपनि हरेक दिनको गतिविधीहरु फरकफरक हुने गर्दथ्यो । यद्यपि दिनभरी जस्तोसुकै काम गरेको भएतापनि बेलुकीको ठीक ६ बजे भोजनघर (कुक हाउसमा) खाना खोलिन्थ्यो । कारखानामा प्रयोग हुने कुनै मेसिनझैं खाना निश्चित समयमा खोल्ने र निश्चित समयमा बन्द हुने गर्दथ्यो । यदि कुनै कारणबश खाना छुट्न गयो भने भोलीको दिनसम्म कुर्नुपर्दथ्यो । अथवा सुकेर बासी भएका चाउचाउ वा केही अन्य उपाय अपनाएर रात काट्नु पर्दथ्यो ।
बोर्नियो लाइन्सको भोजनघर हामी बस्ने भवनदेखि ढुङ्गा फाल्दा पुग्ने दुरीमा थियो । छाउनीदेखि बाहिर अन्त कतै जान नसकेता पनि आँखा चिम्लेर भएपनि भोजनघर सजिलै पुग्न सकिन्थ्यो । त्यहाँ हरेक बिहान बेलायती खाजा उपलब्ध हुने गर्दथ्यो । दिउँसो र बेलुकीको खाना चाहिँ दाल, भात, सब्जी र विभिन्न प्रकारको मासुहरु पाक्दथ्यो । भोजनघरमा पाइने मासुहरुमध्ये जिरे खुर्सानी मिसिएको दुम्बाको मासु निक्कै प्रख्यात थियो । मैले पल्टन घरलाई सधैंको लागि छाडेदेखि अहिलेसम्म त्यस्तो स्वाद अहँ कतै पाउन सकेको छैन ।
बेलुकीको खानापछिको समय मेरो लागि अलिक कठिन समय रहेको थियो । किनभने म हतारहतार अधिकृतहरुको ब्यक्तिगत घरमा चपरासीको (अर्डली) काम गर्नु जानु पर्दथ्यो । हामी जहाँ बसेका थियौं । त्यस भवनको नजिकै उहाँहरु आ–आफ्ना परिवारहरु सँगसँगै सरकारी आवासगृहमा (फेमिली लाइन्स) बसोबास गर्नुहुन्थ्यो । म तिनै गोर्खा अधिकृतहरुको आधिकारिक निवास स्थानमा बिरालोको चाल मार्दै चपरासीको काम गर्न पुग्दथे ।
त्यहाँ पुगेर मालिकले दिनभरी लगाउनु भएको कपडाहरुलाई इस्तिरी लगाइदिने गर्दथे । त्यसबेला जङ्गी पोशाक मात्रै नभएर सर्लक्कै आफ्नो अनुहार देखिने गरेर हाइल्याण्डर बुटपनि चम्काइदिन्थे । तर खेदको कुरो के थियो भने कुनैबेला बुट टल्काउनको लागि घण्टौं घण्टा समय खर्च हुने गर्दथ्यो । हुन त पल्टनघरमा हुने ती सबै नियमित कामहरु मेरा लागि सामान्य नै भइसकेका थिएँ ।
समय समयमा भान्जाभान्जीले दिनभरी खेलेर पसिनै पसिना बनाएका एकभारी स्कूले कपडा ल्याएर, ‘मामा’ भन्दै मेरो अगाडि थपक्कै थुपारिदिँदा मेरो हृदयकताकता जलेर खरानी हुने गर्दथे । त्यसबेला कहीँ नभएको जेब्राघोडाले जस्तो जोरलात्ती उँचालेर उनीहरुको पानीपेटमा हिर्काइदिउँकी जस्तो भान पर्दथ्यो । तर, खै मैले भोगेका तीनै ऐतिहासिक अन्यायहरु सैनिक जीवनका कर्तब्यभित्र पर्छन् कि पर्दैनन् होला भनेर अहिलेसम्म छुट्याउन सकिरहेको छैन । सायद मरोणोप्रान्त छुट्याउन पनि सक्दिन होला ? त्यसैले बहुत धर्म सङ्कटमा परिरहेकै छु ।
छातीमा दायाँ हात राखेर भन्ने हो भने मलाई चपरासीको काम गर्न निक्कै कष्टकर जिन्दगीझैं लागेको थियो । तै पनि मैले त्यसबेला उज्वल भविश्यको आशा गर्दै खुरुखुरु नुनको सोझो गरिरहेको थिएँ । चपरासीको काम सकेपछि ठीक ११ बजे आफ्नो कोठामा पुगेर सुत्नै पर्ने सैनिक नियम थियो । खै त्यस कोठालाई आफ्नो कोठा भनौं कि के भनौं ? किनभने एउटा कोठामा लमतन्न परेर सत्र भिरङ्गी अठार धातुका ८ जना सिपाहीहरु सुत्ने गरेका थियौं ।
मलाई अहिलेसम्म राम्रै सम्झना छ । हरेक रातको ठीक ११ बजे सिपाहीहरु आ–आफ्ना पलङमा सुतेको छ वा छैन भनेर छड्के जाँच गर्नको लागि गुरुजीहरु कोठाकोठामा आउने गर्नुहुन्थ्यो । उहाँहरुले समयमा नसुतेको सिपाहीहरुको नाम र चार अङ्क सैनिक नम्बर ड्युटी सार्जन्ट सामु पुरयाउनुहुन्थ्यो । त्यसरी अनुपस्थित सिपाहीहरुको नाम टिप्नको लागि चम्किलो मुद्रामा ड्युटी सार्जन्ट खाता र पेन्सिल लिएर निशुन क्लबमा तयार भएर बसिरहनुहुन्थ्यो ।
आफ्नो पलङ उदाङ्गो छाडेर ‘निशुन क्लबको’ सट्टा ‘फुसिक्याट क्लब’ पुग्ने सिपाहीले भोली बिहानै दुई नम्बर जङ्गी पोशाक सिउरेर सुरिलो पोजिसनमा सार्जन्ट मेजरलाई भेटनु पर्दथ्यो । फुसिक्याट क्लबमा के कस्ता गतिबिधि हुन्थ्यो भनेर जानकारी दिन मैले यहाँ त्यति उपयुक्त्त ठानिन । तर ब्रिग्रेडका हरेक सदस्यहरु आ–आफै जानिफकार नै हुनुहुन्छ ।
जे होस, त्यसपछि सार्जन्ट मेजरको आदेशमा टोपी र पेटी खोलेर ‘लेफ्ट राइट’ गर्दै अफिसर कमाण्डिङको (ओसी) टेबल समक्ष पुग्नुपर्दथ्यो । त्यस समयमा ओसी साहेब बेलायती अधिकृतहरु मात्र हुने गर्दथे । अहिलेको जस्तो छ्यासछ्यास्ती गोर्खालीहरु हुने थिएनन् । तिनै ओसी साहेबले, ‘समयमा नसुत्ने तिमी सार्है नराम्रो मान्छे रहेछौ । ब्रिग्रेड अफ गोर्खाज स्टान्डिङ इन्स्ट्रक्सनको (बिजिएसआई) धारा २७ को उपधारा २ बमोजिम म तिम्रो ७ दिनको तलब काटिदिन्छु । र, अब उप्रान्त तिम्रो पदोन्नती नहुने रिपोर्ट पनि लेखिदिन्छु, भन्दथे ।
तिनै विचित्रको स्मरणसहित म एकाध क्यान्टन रोड किनारमा उभिरहेको थिएँ । बिहान सबेरै भोजन गरेको ससेज, रोटी र उसिनेको अण्डाले समयमा नै बिदा गरिसकेको थियो । यदि त्यसबेला सैनिक क्याम्पमा हुँदो हुँ त भोजनघरमा पुगेर पहिलो गाँस घाँटीमुनी पठाइसकेको हुन्थे । तर दुर्भाग्यवश शक्तिहीन सिपाही भएर हारबर सिटीको ठिक सामुन्ने उभिरहेको थिएँ । र, त्यहाँ देखिएको झिलिमिली दृश्यले थोरै भोक र प्यास मेटने प्रयत्न गरिरहेको थिएँ ।
त्यसदिनको मध्याह्नको मौसम ज्यादै राम्रो थियो । म सिधै माथिको नाङ्गो आकाश सर्वाङ्ग निलो देखिन्थ्यो । शुन्य आकाशमा बादलका टुक्राहरुकतै देखापरेका थिएनन् । हङकङ पिकदेखि लजाउँदै लजाउँदै आएको सूर्य दुईटाङ्गो कोल्टे परिसकेको मेरो छायाँ देखेर चाल पाएको थिएँ । त्यसबेलासम्म बेलायती सैनिक अधिकृतको नाकमुख देखापरेका थिएनन् । म भित्रभित्रै भोकले रन्थनिएको भएतापनि घरिघरी सडक किनारमा देखापरेका जोडी ढुकुरहरु जस्ता देखिने चाइनिज युवायुवतीहरुको खेल हेरेर प्रफुल्ल हुने गर्दथे ।
अनि मनमनै सोच्दथे, ‘सबै मानिसहरुको अहोभाग्य कहाँ एकै प्रकारका हुनेरहेछ र ? म त त्यसै दुःखी छु ।’
बुइपा, खोटाङ, हालः अक्सफोर्ड, बेलायत

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप