कोशीको छालमा भविष्य खोज्नेहरु


  • सुम्निमा राई
  • २०७७ चैत ३१

चतराः सुनसरी बराहक्षेत्र–९ का देवनारायण मण्डल अढाई दशकदेखि कोशी नदीमा डुंगा खियाउँदै आएका छन् । डुंगा चलाउनु पुर्खौली पेशा भएकाले निरन्तरता दिँदै आएको मण्डलले बताए । ‘मेरो बाजेदेखि बुवाले समेत डुंगा चलाउनुभयो,’ उनले भने, ‘पुर्खाको सिप मास्न भएन । त्यसैले हामी दाजुभाई डुंगा चलाउँछौ ।’ यस पेशालाई उनका भाइले समेत अंगालेका छन् । सिसौला घाट र राजावास घाटमा यी दाजुभाई डुंगा चलाउने गर्छन् ।
कृषि र डुंगा उनीहरुको जीवन निर्वाह गर्ने माध्यम हो । बुवाले डुंगा चलाउने भएकाले उनलाई यस पेशा सिक्न त्यति गाह्रो भएन । बुबालाई सानैदेखि डुंगा चलाउन सघाउने गर्थे । सानैदेखि पला चलाउन खुबै रहर गर्ने उनले आजसम्म पुर्खौली पेशालाई माया मार्न सकेका छैनन् । बिहान ८ देखि साझ पाँच बजेसम्म निधारमा पसिना चुहाएर यात्रुलाई वारी र पारी गन्तव्यमा पुरयाउनु उनको दैनिकी हो । प्रायःजसो उनी राजावास घाटमा डुंगा चलाउने गर्छन् । यहाँबाट करिब एक घण्टाको डुंगा यात्रापछि श्रीलंका टापु पुग्न सकिन्छ ।
टापुसम्म पुग्न प्रतिव्यक्ति ५० रुपैयाँ लिने गरेका छन् । दुईदशक अघि सुरुका दिनमा डुंगा चलाउँदा एकजना यात्रु बराबर टापु पुग्न १० रुपैयाँ लिने गर्थेे । सानो र ठूलो गरी उनको पाँच वटा डुंगा रहेको छ । यात्रुको क्षमता हेरेर डुंगा प्रयोग गर्ने गरेको उनले बताए । उनको सबैभन्दा ठूलो डुंगा करिब दुई लाख बराबरको छ । एक सय यात्रु अटाउने डुंगाको क्षमता रहेको छ । दैनिक पाँच सय देखि पाँच हजार रुपैयाँसम्म कमाई हुने गरेको उनले बताए । उनले भने, ‘डुंगा चलाउन एक्लैले सकिँदैन । मलायहरु (सहयोगी) चाहिन्छ । सबै खर्च कटाएर ठिकै आम्दानी भएको छ ।’
राजावास घाटमा यात्रु ओसार्ने दुई वटा मात्र डुंगा रहेका छन् । त्यसमा एक वटा डुंगा देवनारायणको हो । असार र भदौ महिनामा डुंगा बन्द हुने गर्छ । सोही समयमा उनी खेतीपाती गर्ने गर्छन् । डुंगा चलाउने मानिस सधै होसियार हुनुपर्ने उनको सुझाव छ । ‘डुंगाको बाटो (रुट) थाहा हुनुपर्छ,’ उनले भने, ‘नदीको छाल आउँदा डुंगा पल्टन सक्छ । डुंगा पल्टिहालेमा यात्रुलाई कसरी बचाउन सकिन्छ ज्ञान हुन जरुरी छ ।’
यतिका वर्षसम्म डुंगा चलाएका उनको आजसम्म डुंगा दुर्घटना भने भएको छैन । दुई छोरा, चार छोरा, श्रीमती र आमाको हेरचाह कृषि र डुंगाबाट आएको आम्दानीबाट खर्च गर्ने गरेका छन् । सन्तानलाई सामुदायिक विद्यालयमा पढाउन र औषधी उपचार खर्च पुगेको उनी बताउँछन् । कोशीका छालहरुसँग खेल्ने बानी भएकाले होला, आजका दिनसम्म उनको मन कुनै छालले उथलपुथल गराउन सकेको छैन । उनीसँगैका साथीहरु कोही विदेशिए । कोही भविष्य खोज्दै शहर पुगे ।
उनलाई भने अझै डुंगा खियाउने रहरले छाडेको छैन । ‘यतिका वर्षसम्म डुंगा चलाए । अझै उमेरले साथ दिएसम्म डुंगा चलाउँछु ।’ उनले भने । सधैं हातको भरमा मात्र डुंगा चलाउने उनी विगत पाच वर्षदेखि भने पम्पसेट मेसिन मार्फत डुंगा चलाउने गरेका छन् । मेसिनमार्फत् डुंगा चलाउदा निकै सहज हुने उनको भनाई छ ।
पहिलोपल्ट डुंगा चढ्नेहरु निकै डराउने गरेको रमाइलो अनुभव सुनाए । यात्रुलाई समयमा पुरयाउ नपाए गाली समेत सहनुपर्ने उनी बताउँछन् । डुंगा प्रयोग गरेबापत राजावास घाटको तीनदेखि पाँच लाख र सिसौला घाटको सात लाखसम्म नगरपालिकालाई कर बुझाउने गरेका छन् । दिनभरी पानीमा यात्रा गर्नुपर्ने भएकाले निकै थकान लाग्ने गरेको उनले बताए । आजसम्म कति जना यात्रुलाई तारे उनीसँग कुनै लेखाजोखा छैन ।
उनले नदी तारेका सयौ मानिसहरु कुन कुन स्थानमा पुगे होला । तर उनी भने आजपनि त्यही किनारमा उभिएर यात्रु तारिरहेका छन् । डुंगा खियाउँदा उनले कहिल्यै पनि आफ्नो मन खियाएनन् । उल्टै डुंगामा हुन सक्ने जोखिमलाई पन्छयाउँदै आफ्नो जीवन अघि बढाउँदै छन् । यस घाट छाडेर कतै जाने रहर समेत नपालेका उनले यही नदीमा आफ्नो उर्जाशील समय बिताए । उही पुरानो काठे डुंगा चलाउन पाउँदा उनी आफ्नो पुर्खाको चिनो सम्हाल्न पाएको अनुभुती गर्छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप