धरानका स्कुलमा अब आफ्नै पाठ्यक्रम

धरान उपमहानगरले पनि आफ्नै किसिमको पुस्तक तयार गरेर आगामी ‘सेसन’ देखि पढाउने


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत ३०

धरानः धरान उपमहानगरपालिका पनि आफ्नै पाठ्यक्रम बनाउन जुटेको छ । अब आगामी शैक्षिक सत्र (सेसन) देखि उपमहानगरपालिकाले निर्माण गरेको पुस्तक पढ्नुपर्ने हुन्छ । उपमहानगरपालिकाले आफैले तयार गरेर १०० पूर्णाङ्कको एउटा पुस्तक निकाल्नेछ । सो पुस्तक निजी र सरकारी दुवै स्कुलका विद्यार्थीले पढ्न पाउनेछन् ।
राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ कक्षासम्मको लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ । देशभरका अन्य केही स्थानीय तहले आफ्नै पाठ्यक्रम लागू गरिसकेको अवस्था छ । धरानमा ढिलैगरी भएपनि उपमहानगरपालिका तयारीमा जुटेको हो ।
उपमहानगपालिकाद्वारा गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलको पहिलो बैठक बसी नै सकेको छ । बैठक बसेर धरान उपमहानगरपालिकाद्वारा आधारभूत तहका लागि स्थानीय पाठ्यक्रम निर्माण गर्न प्रा. राजेन्द्र शर्माको संयोजकत्वमा ‘पाठ्यक्रम निर्माण कार्यदल’ गठन भइसकेको छ । यो कार्यदल यसअघि नै बनेको हो । कार्यदलको सदस्यमा यमनाथ बराल, डा. योगेन्द्र पालुङ्वा, भीम भुजेल, सुजन राई, बासुदेव ढुङ्गेल छन् भने सदस्य सचिवमा ध्रुव खड्का रहेका छन् ।
सोमबार कार्यदलको पहिलो बैठक बसेको थियो । ‘पहिलो बैठक सम्पन्न भयो, स्थानीय पाठ्यपुस्तक निर्माण गरेर पढाउनुपर्ने भन्ने छ, त्यही भएर बैठक बसेर कार्यदल बनेको हो’, शिक्षा महाशाखा (धरान उपमहानगरपालिका) का रत्नबहादुर कट्वालले भने, ‘आगामी सेसनदेखि यस्तो पाठ्यक्रम लागू गर्ने भनेर तयारीमा जुटिरहेका छौं, अब निरन्तर बैठक बसेर निचोडमा पुग्छौं ।’ अहिले छलफल नै चलिरहेको उनले जानकारी दिए । ‘कसरी राख्ने, कुन विषय राख्ने भन्नेबारेमा छलफल नै चलिरहेको छ’, उनले भने, ‘नियमित छलफलले नै निचोडमा पुग्ने हो ।’
उनका अनुसार विद्यालयस्तरको पाठ्यक्रममा धरान कस्तो हो ?, धरान ‘शैक्षिक हब’ का कुरा, स्थानीय संस्कृति, भाषा, जातजाति, जनजीवन, इतिहास, भूगोल, रहनसहन, धार्मिक विषय आदि विषय समेटेर शिक्षालाई अझ जीवनसँग जोड्ने प्रयोजनका साथ लागिरहेका छौं । उनले भने, ‘स्थानीय पाठ्यक्रम निर्माणकै क्रममा स्थानीय तहले आफ्नो विशेषतासहितको अध्ययन र अनुसन्धान गर्दा धेरै छायाँमा परेका र छोपिएका विषयवस्तुलाई सतहमा ल्याई संरक्षण गर्नेछ ।’

उनले बालबालिकाको क्षमता हेरेर र धरानको समग्र जनजीवनबारे अवगत गराउने पाठ्यक्रम निर्माण गरिने बताए । ‘साना बालबालिकाको पढ्ने स्तर, क्षमता हेरेर नै पाठ्यक्रम बनाउँछौं ताकि पाठ्यक्रमले धरानको समग्र क्षेत्र, सरोकारवालालाई समेटेर सन्तुष्ट बनाओस्,’ उनले थपे, ‘स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्राय र धरान उपमहानगरपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यक्रम निर्माण गरिएको हो ।’
आधारभूत तहका विद्यार्थीलाई आफू जन्मे, बसेको परिवेशबारे जानकारी मात्र नदिई स्थानीय तहका सांस्कृतिक ऐतिहासिक, धार्मिक र आर्थिक विशेषतासमेतको जर्गेना गर्नुपर्छ भनेर जोड दिइरहेको डा. योगेन्द्र पालुङ्वाले जानकारी दिए ।
उनका अनुसार धरानलाई चिनाउने, शिक्षा, स्वास्थ्य, संस्कार, संस्कृति, जातजाति, इतिहास, पर्यटन, भूगोल आदि विषय समेटेर धरानलाई सम्बोधन गर्ने किसिमको पाठ्यक्रम बन्नेछ । ‘यो एउटा चुनौती पनि हो’, उनले भने, ‘सरोकारवालालगायत सबैको कुरा सुन्नुपर्ने हुन्छ, तर पनि धरानलाई सम्बोधन हुने किसिमको पाठ्यक्रम निर्माण भइसक्दा दुविधा नहोला भन्ने हो ।’
कक्षा–१ देखि ८ सम्मका विद्यार्थीका लागि पाठ्यक्रम बनाइने भनिएपनि यस वर्ष १ देखि कक्षा–२ सम्मका विद्यार्थीका लागि मात्रै पाठ्यक्रम निर्माण हुनसक्छ । डा. पालुङ्वाका अनुसार यस वर्ष सबै कक्षाको पाठ्यक्रम निर्माण नभएपनि यो वर्ष एक दुई कक्षासम्मको पाठ्यक्रम बन्नेछ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप