धरानमा खुरुखुरु पानी आउन थालेको हो ?

‘धरानमा मेयर, उपमेयर नै रातिराति पनि कुद्न थालेपछि पानी केही हदसम्म आउन थाल्यो’ केही उपभोक्ता भन्छन्- अझै टयाङ्करको पानी खाँदैछौं


  • हाम्रो कोशी आवाज
  • २०७७ चैत २७

धरानः धरानमा शुक्रबारदेखि भने केही वडाहरुमा खानेपानी आउन थालेको पाइएको छ ।
धरान ११, १६, १७ र १८ नं. वडामा खानेपानी आउन थालेको उपभोक्ता बताउँछन् । खानेपानीलाई सहज बनाउनका लागि प्रयत्न गरिरहेको धरान खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेलका अनुसार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी समेत राति राति पानीका लागि दगुरिरहेका छन् । ‘मेयर, उपमेयर नै रातिराति पनि कुद्न थालेपछि धरानमा पानी केही हदसम्म आउन थालेको हो’, उनले भने, ‘दिउँसो पनि मेयर राई घरघरमै पुगेर अनुगमन थाल्नुभएको छ ।’
‘मेयर राईको नेतृत्वमा खानेपानीलाई सहज बनाउन दिनरात खटिरहनुभएको कारण पनि अब पानीमा खासै समस्या नहोला भन्ने हाम्रो ठम्याइ छ’, उनले भने । उनका अनुसार शुक्रबार बिहान ११, १६, १७ र १८ नं. वडाका उपभोक्ताहरुको घरघरमा पुगेर अवलोकन गरेका थिए ।
अवलोकनका क्रममा वडा नं. १७ रत्नचौककी लक्ष्मी राईले विगत एक महिनादेखि खानेपानीको समस्या भएको बताउँदै शुक्रबारदेखि केही राहत महसुस गरेको बताइन् । वडाकी उषा सुनुवारले पनि हिजोभन्दा आज धेरै पानी आएको बताइन् ।
दिन बिराएर भएपनि १ देखि २ घण्टासम्म पानी वितरण गर्न सक्यो भने खानेपानीको समस्या नहुने उनको भनाई छ । उनले समयमै पानी वितरण गर्ने कर्मचारीलाई व्यवस्थापन गर्न जरुरी रहेको बताइन् ।
यता वडा नं. १८ का स्थानीय हर्कराज राईले पनि अरुदिन भन्दा आज पानी धेरै आएको बताए । सोही वडाका आशबहादुर पाहिमले धरानमा हरेक वर्ष सुख्खायाम सुरु भएसँगै खानेपानीको समस्या हुने गरेको बताए । पुराना प्लम्बरहरुका कारण पानी विरतणमा समस्या भएको उनले बताइन् । उनले पुराना प्लम्बरहरुको लापरवाही भएको बताउँदै पैसा नलिइकन प्लम्बरहरुले कामै गर्न नमान्ने गरेको गुनासो पोखिन् ।
यस्तै धरान–१६ का पूर्ण राईले राति ४ बजेदेखि बिहान ९ बजे सम्म पानी आएको बताइन् । उनले खानेपानी सहज बनाउनका लागि सम्बन्धित पक्षले ध्यान दिन जरुरी रहेको बताइन् । साथै उनले खानेपानी समस्या समाधान गर्न धराने जनता पनि स्थानीय सरकारसँग जोडिन आवश्यक रहेको बताइन् ।
धरानका देव सुब्बा इजमले भने पानी नआएर अझै ट्याङ्करकै पानी किनेर खानुपर्ने बाध्यता रहेको बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप